शनिबार, साउन ९ २०८३
ताजा अपडेट

बूनपाको वार्षिक विकास योजनामा नेपाली कांग्रेसले मेयर खरेललाई बुझायो ध्यानाकर्षण पत्र


  • मंगलबार, असार ९ २०७७
25K
SHARES

९ असार, काठमाडौँ ।
बूढानीलकण्ठ नगरपालिका (बूनपा) को वार्षिक योजनमा नेपाली कांग्रेस (नेका) बूढानीलकण्ठले मेयर उद्धब खरेललाई सुझाब तथा ध्यानाकर्षण पत्र बुझाएको छ ।


नगरपालिकाको कार्यालय हात्तिगौडामा पुगि नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नम्वर ४ प्रदेश (ख) का सभापती विनोद चालिसेको नेतृत्व टिमले मंगलबार (आज) मेयर खरेललाई सुझाब तथा ध्यानाकर्षण पत्र बुझाएको हो ।


२५ बुदामा समेटिएको सुझाब तथा ध्यानाकर्षण पत्रको पुर्णपाठ बारे जानकारी दिँदै नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नम्वर ४ प्रदेश (ख) का सभापती विनोद चालिसेले भने–आर.डी.टि. परिक्षण बन्द गरि पी.सी.आर. बिधिबाट परिक्षण गर्न, लकडाउनका कारण नगर भित्रका उद्योग, व्यापार, व्यवसाय, रोजगारीमा पर्ने प्रतिकुल प्रभाव न्युनिकरणका लागि आर्थिक प्याकेज घोषणा गर्न, नगरपालिकाको आर्थिक खर्चको पारदर्शिता गर्न र लेखा समितिको नेतृत्व प्रतिपक्षी दललाई दिइने व्यवस्थालाई अबिलम्ब लागु गर्नु पर्ने बताएका थिए ।


सार्वजनिक नदि, खोला अतिक्रमण भैरहनु, सार्वजनिक जमिनबाट बालुवा माटो छोरि तस्करीका घटना, जनप्रतिनिधिहरु स्वयम्को संलग्नता रहेको समाचारबाट नगरपालिकाको साख गिर्दै गइरहेको परिप्रेक्षमा त्यसलाई नियन्त्रण, संरक्षण र व्यवस्थापनमा ध्यान केन्द्रित गर्नु पर्दछ । नगर भित्र सार्वजनिक जमिन अतिक्रमण भएका घटनामा सार्वजनिक पद धारणा गरेका व्यक्तिहरुबाट शुरुवात गरि क्रमिक रुपमा विवादित सार्वजनिक जग्गा छुट्याउने कार्य अविलम्ब गर्नु पर्ने बताएका थिए ।


सार्वजनिक बिद्यालयको सन्दर्भमा शिक्षा ऐन र नियमावलीको मर्म र भावना विपरित हुने गरि शिक्षा कार्याविधि बनाई भइरहेको अनावश्यक राजनीतिक हस्तक्षेप बन्द गरिनु पर्दछ र सार्वजनिक शिक्षालाई पूर्णतः निशुल्क गर्दै प्राविधिक शिक्षामा जोड दिनुपर्ने ।
यस्तै बुढानिलकण्ठ क्षेत्र बिकास कोषको गुरु योजना अनुरुप कार्य नभएको देखिएकोले सो तर्फ समन्वय कायम गरि कार्य अघि बढाउन सभापती चालिसेले जोड दिएका थिए ।

ध्यानाकर्षण कार्यक्रममा नेपाली कांग्रेसका नेता साधुराम खड्का, नेपाली कांग्रेसका काठमाडौँ जिल्ला सदस्य इन्द्र बहादुर थापा, सानु श्रेष्ठ, नगर प्रतिनिधि राजाराम बुढाथोकी, नेपाली कांगेस बूढानीलकण्ठ नगरपालिका भित्रका विभिन्न वडा सभापती लगायतको उपस्थिति रहेको थियो ।
हेर्नुहोस् सुझाब तथा ध्यानाकर्षण पत्रको पुर्णपाठः

वार्षिक नगर बिकास योजना (आ.व.२०७७/०७८) का लागि केहि सुझाव तथा ध्यानाकर्षणः–
श्रीमान् प्रमुख ज्यु,
बुढानिलकण्ठ नगरपालिका,
हात्तीगौडा, काठमाडौँ ।
र्सवप्रथम विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बिरुद्धको अभियानमा जनताको नजिक भएर काम गरिरहनु भएका यस बुढानिलकण्ठ नगरपालिका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष एवं सदस्यहरु, राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरु, कर्मचारी, नागरिक समाज, संघ संस्थाहरु त्यस्तै जनता प्रति समर्पित भएर अग्र मोर्चामा खटिने स्वास्थ्य कर्मी, संचारकर्मी, सुरक्षा कर्मी लगायत प्रति यस समिति हार्दिक सम्मान प्रकट गर्न चाहन्छ ।
यस समितिले प्रारम्भ देखि नै कोभिड–१९ को जोखिम, यस बाट उत्पन्न हुने तत्कालिन एवं दर्घकालिन नकारात्मक प्रभाव, यस विपद बाट उत्पन्न समस्यालाई न्युनिकरण गर्ने र नगर र नगरवासी लाई जोगाउने उपायको बारेमा सुक्ष्म रुपले अध्ययन र विश्लेषण गरि नगरपालिकालाई निरन्तर सुझाएको छ । कोभिड – १९ बिरुद्धको लडार्इँमा नेपाली काँग्रेसले सदासयतापूर्ण तवरले काम गर्दै नगरपालिकालाई पटक पटक स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरसफाईकर्मीको व्यक्तिगत सुरक्षाका सामग्री समयमा उपलब्ध गराउने, पी.सी.आर. बिधिबाट परिक्षणको दायरा फराकिलो एवं व्यापक बनाउन, मजदुर, बिद्यार्थी, बिपन्न वर्ग, अपाङ्ग, एकल महिला लगायत समस्यामा रहेका मानिसलाई राहत उपलब्ध गराउन, क्वारेन्टिनको स्थापना र सुरक्षित ढंगले उचित व्यवस्थापन गर्ने, आर.डी.टि. परिक्षण बन्द गरि पी.स.आर. बिधिबाट परिक्षण गर्न, कोभिड–१९ का नगर भित्रका उद्योग, व्यापार, व्यवसाय, रोजगारीमा पर्ने प्रतिकुल प्रभाव न्युनिकरणका लागि आर्थिक प्याकेज घोषणा गर्न, नगरपालिका को आर्थिक खर्च को पारदर्शिता गर्न र लेखा समिति को नेतृत्व प्रतिपक्षी दल लाई दिइने व्यवस्था लाई अबिलम्ब लागु गर्न निरन्तर सुझाव दिइरहेकोमा यस समिति यी बिषयहरु प्रति पुनः गम्भीर रुपमा ध्यानाकर्षण गराउन चाहान्छ ।
कोभिड – १९ को विश्व व्यापी महामारीले विश्वलाई नै आतंकित तुल्याई रहेको अवस्था बीच हाम्रो यस बुढानिलकण्ठ नगरको वार्षिक नगर बिकास योजना निर्माण गर्ने क्रममा छ । आ.व. २०७७/७८ को लागि आर्थिक बिधेयक, बिनियोजन बिधेयक निर्माणका सन्दर्भमा नगरपालिकाले सुशासन, आर्थिक, सामुहिक, न्यायपूर्ण लैंगिक समानता, समावेशीकरण, सन्तुलित दिगो पूर्वाधार बिकास सहित रचनात्मक सहयोग पुर्याउने आशा एवं बिश्वासका साथ आ.व. २०७७/०७८ को यथार्थ स्थिति, नीति तथा कार्यक्रम निर्माण होस् भन्न चाहन्छौं । “स्वच्छ शान्त, समृद्द, पर्यटकीय नगर बुढानिलकण्ठ” नारा तय गरिएको नगरलाई सुन्दर नगरको रुपमा बिकास गर्न सकिने पर्याप्त सम्भावना र अवसरलाई हृदयंगम गर्दै निम्न लिखित प्रस्तावहरुलाई नगर परिषदमा प्रस्तुत गरि छलफल गर्नुका साथै कार्यान्यवन गरियोस भनि सुझाव पेश गर्न चाहन्छौं ।
परिकल्पना सम्बन्धमा:-
बुढानिलकण्ठ नगरपालिकालाई कस्तो शहरको रुपमा बिकास गर्ने भन्ने परिकल्पना आवश्यक भएकोमा नगरपालिकाको ३० वर्षको भिजन डकुमेन्ट परिकल्पना पत्रलाई सार्वजनिक गर्दै सोहि बमोजिम कार्यान्यवन दिशामा अघि बढ्न र बढाउन सुझाउछौँ ।
आवधिक योजना निर्माण सम्बन्धमा:-
माथि उल्लेखित परिकल्पना पत्रमा आधारित भएर पाँच वर्षको आवधिक योजना निर्माण गर्ने । उक्त आवधिक योजना बमोजिम मात्र बिकास निर्माणका कार्य सम्पन्न गराउने र परिकल्पना अनुसार शहर निर्माण गर्ने कार्य लाई निरन्तर अनुगमन गर्ने ।
शहरी आवागमन योजना:-
सुलभ रुपमा यातायातको साधनको उपलब्धताका लागि सबै भन्दा पहिले सडक संजाल बिस्तारको गुरु योजना निर्माण गरिनु पर्दछ । उक्त योजना निर्माण गर्दा सडकको वर्गीकरण गरि तिनको संजाल कसरि निर्माण गर्दा धेरै जनतालाई सेवा दिन सकिन्छ भन्ने अध्ययन गर्नु पर्दछ । नदीको कोरिडोर, सबै वडालाई जोड्ने र अन्य नगरपालिका संग सम्पर्क कायम गर्ने गरि भएका सडकको स्तरोन्नति गर्दै थप नयाँ सडक निर्माण गरिनु पर्दछ ।
सडकका संरचनाको गुणस्तर कस्तो हुने भन्ने मापदण्ड तयार गरि गुणस्तर युक्त सडक मात्र निर्माण गर्ने तर्फ ध्यान दिनु पर्दछ । बु.न.पा. लाई सडक निर्माणमा छुट्टै पहिचान दिनलाई नयाँ निर्माण हुने सडक लाई पूर्ण सडकको अवधारणामा निर्माण गर्ने । “पूर्ण सडक” भन्नाले फरक क्षमता भएका मानिसहरुले सजिलै हिड्डुल गर्न सक्ने, सजिला र फराकिला फुटपाथ भएका सडक, सडकमा हरित क्षेत्र, साइकल लेनको समेत निर्माण भएको हुनु पर्छ । यसका साथै नगरपालिकाले निर्माण गरेको मापदण्ड केन्द्र बाट बजेट बिनियोजन भई निर्माण हुने सडकका हकमा पनि लागु नगरिकन निर्माण गर्न नदिने व्यवस्था गर्नु पर्दछ ।
सुचना प्रविधि
नगरपालिका क्षेत्रको म्यापिङ्ग तथा डाटा इन्भेन्टरी, सुचना र श्रोतलाई पारदर्शी बनाउनका साथै सेवा ग्राहीले सम्पूर्ण व्यवस्था सुचना प्रविधिको प्रयोग बाट गर्ने ।
अनुसन्धान तथा व्यापार बिकास
नगरपालिकाले विश्व भरिका विभिन्न शहर संग भातृ सम्बन्ध कायम गर्न बिकासशिल शहरहरु लाई प्राप्त हुने साधन स्रोतको खोजि गर्न र तिनलाई नगरको बिकासमा उपयोग गर्न र नगर भित्र सम्भावित उद्योग, कलकारखाना खोल्ने वातावरण निर्माण गर्नुका साथै नगरको आय श्रोतलाई कसरि निरन्तर बृद्दि गर्न सकिन्छ भन्ने सोध र अनुसन्धान गर्न छुट्टै शाखा निर्माणका लागि बजेट बिनियोजन गर्ने ।
यस शाखाले वार्षिक रुपमा हुने चाड पर्व तथा त्यस क्षेत्रमा गर्न सकिने महोत्सवहरुको पहिचान गरि लोक सांस्कृति, स्थान, बिशेषता झुल्किने कार्यक्रमको आयोजना व्यवस्थापन गरेमा त्यस ठाउँको पर्यटन प्रवर्धन तथा रकम संकलन गर्न सकिन्छ ।
भूमिगत पानी, जलाधार क्षेत्र तथा खाने पानि व्यवस्था
भूमिगत पानीको अध्ययन तथा आवश्यक अनुसन्धान गर्न बजेट बिनियोजन गरि प्रतिवेदनले भने अनुसार निश्चित ठाउँहरुको पहिचान गरि उक्त ठाउँहरु बाट मात्र भूमिगत पानीको प्रयोग गर्न पाइने नीति निर्माण गरि भूमिगत पानि पुनः सिञ्चन को व्यवस्था गरि निष्कासन हुने पानीको अनुपातमा भूमिगत पानीलाई रिचार्ज हुने व्यवस्था मिलाउने र भवन निर्माण गर्दा पानी रिचार्जका लागि केहि ठाउँ खालि राख्नु पर्ने व्यवस्था गर्ने ।
बुढानिलकण्ठ क्षेत्रमा रहेका पानीको परम्परागत स्रोतको पहिचान गरि तिनलाई संरक्षण गर्ने । यसका साथै पानिको स्रोतहरु लाई संरक्षण गर्न शिवपुरी जंगलको फेदीमा ध्बतभचकजभम (जलाधार ) क्षेत्र निर्माण गर्ने ।
मेलम्ची खाने पानी आगामी आ.व.मा वितरण हुने प्रक्रियामा अघि बढेको सन्दर्भमा बु.न.पा. भित्रका सबै वडाहरुमा बिस्तार गर्ने नीति तय गरि कार्यन्वयन प्रक्रिया अघि बढाउने ।
अन्य खाने पानीको समुचित वितरण र व्यवस्थापन गर्न गुरु योजनाको निर्माण गर्ने र त्यसै अनुसार मात्र काम गर्ने ।
वातावरण संरक्षण शाखा
वातावरण संरक्षणमा बिशेष जोड दिँदै हाल भएका प्राकृतिक तथा वातावरणीय स्रोतको संरक्षण र प्रवर्धन गर्ने निति लिने । यस अन्तर्गत निम्न लिखित विषयहरु समेट्न सकिन्छ ।
फोहोर मैला व्यवस्थापन
वातावरणलाई प्रतिकुल असर गर्ने, फोहोरमैला व्यवस्थापनलाई निध्यमान फोहर मैला व्यवस्थापन ऐन लाई कार्यान्यवनमा ल्याउने । फोहोर माला व्यवस्थापनमा “थ्री आर” reduce, reuse / recycle लाई प्राथमिकता दिएर विभिन्न स्थान पहिचान गरेर कुहिने फोहोर संकलन गरेर बायो ग्याँस केन्द्र बनाउन र फोहोर मैला व्यस्थित गर्न बजेट बिनियोजन गर्ने ।

शहरी सौन्दर्य र सुरक्षा
भित्तेलेखन, पोस्टर पम्प्लेट ताले संस्थाको पहिचान गरि जरिवाना तथा ऐनले गरेको व्यवस्था बमोजिम को कारवाही गर्ने गराउने ।
शहरको सौन्दर्यमा प्रतिकुल असर गर्ने होर्डीङ्ग बोर्ड तथा अन्य व्यापारिक सामाग्री लाई व्यवस्थित गरि एक रुपता कायम हुने गरि आकार, प्रकार, रंग र स्थान तोक्नलाई कार्य विधि निर्माण गर्ने । नगर भित्रका केवल, बिजुली लगायतका तारहरुलाई गलमभचनचयगलम गर्ने प्रक्रिया अघि बढाउने र नगर भित्र व्यवस्थित ढंगमा बस बिसौनीहरु निर्माण गर्दै व्यवस्थित गर्ने ।
सडक बत्ति तथा सुरक्षा नगरको महत्वपूर्ण बिषय हो । जनसहभागिता, नगरपालिका र निजि क्षेत्रका प्रत्यक्ष सहभागितामा सम्पूर्ण नगर क्षेत्रमा सौर्य उर्जाबाट संचालित सडक बत्ति जडान गर्ने कार्य योजना तर्जुमा गरि कार्यन्वयन गर्ने । जसले शहरको सौन्दर्यका साथै सुरक्षाको प्रत्याभूती दिलाउछ ।
वायु प्रदुषण
वायु प्रदुषण नियन्त्रण गर्ने बिशेष कार्य बिधि निर्माण गरि प्रदुषण नियन्त्रण गर्न “पलूटर पे” (प्रदुषण गरे बापत तिर्नु पर्ने कर) को कडा कार्यान्वयन गर्नुका साथै वायु प्रदुषण गर्न भवन निर्माण कोडमा एक घर दुइ रुखको अवधारणा लाई कानुनि व्यवस्था गरेर अनुगमन र अनुदानको व्यवस्था गर्ने ।
बन जंगल
नगरमा बन जंगल पर्याप्त रहेको र तिन लाई संरक्षण गर्नुका साथै आगामी दश वर्षमा एक वर्षमा एक व्यक्ति चार रुख हुने गरि लक्ष बनाएर त्यसलाई प्राप्त गर्ने कार्याविधि निर्माण गर्ने । सामुदायिक बन लाई संरक्षण गर्दै व्यावसायिक ढंगमा बिकास गर्ने । बु.न.पा. वडा नं. २ मा रहेको पञ्चकन्या माई, मध्यवर्ती सामुदायिक बनमा २०६४ साल देखि घोषित गिरिजा प्रसाद कोइराला राष्ट्रिय शान्ति पार्क लाई आवश्यक बजेट बिनियोजन गरि व्यवस्थित गर्ने ।
पहिचान प्रदान गर्ने
सम्पूर्ण रुपमा वातावरणलाई संरक्षण गर्ने गरि, नियम कानुनलाई पालना गरि निर्माण गरेको भवन, व्यवसाय बिद्यालय लाई वार्षिक रुपमा नगरको उत्कृष्ट वातावरण संरक्षण भनि पहिचान कदर पत्रका साथै नगद पुरस्कारको व्यवस्था गर्ने गरि वातावारणीय कोष स्थापना गर्ने ।

भू–उपयोग
जमिनको उपयोगको बिषयमा राष्ट्रिय नीति संग संगति पूर्ण हुनेगरी तत्काल समिति गठन गरेर जमिन पहिचान गर्ने तथा त्यसको प्रयोग के–कसरि गर्ने भन्ने बिषयमा छलफल, शोध र अनुसन्धान गरेर प्रतिवेदन बनाउने ।
कृषि एवं खाद्य सम्प्रभुत्व
खाद्य सम्प्रभुत्वको रक्षा गर्न परम्परागत खेति योग्य जमिनको संरक्षण गर्नुका साथै किसान लाई सहयोग गर्न परामर्श र सहयोगको व्यवस्था गर्नुको साथै नविन प्रविधि तथा कौसी खेति लाई प्राथमिकता दिने गरि नीति र कार्य योजना निर्माण गर्ने ।
सार्वजनिक जमिन
सार्वजनिक जमिनको पहिचान गर्ने, तिनको बिना भेदभाव इन्भेन्टरी कायम गर्नुका साथै कुन जमिनलाई कसरि सदुपयोग र संरक्षण गर्न सकिन्छ भन्ने अध्ययन गरि प्रतिवेदन निर्माण गरि त्यसै अनुसार काम गर्ने । सार्वजनिक नदि, खोला अतिक्रमण भैरहनु, सार्वजनिक जमिन बाट बालुवा माटो छोरि तस्करीका घटना, जनप्रतिनिधिहरु स्वयम्को संलग्नता रहेको समाचारबाट नगरपालिकाको साख गिर्दै गइ रहेको परिप्रेक्षमा त्यसलाई नियन्त्रण, संरक्षण र व्यवस्थापनमा ध्यान केन्द्रित गर्नु पर्दछ । नगर भित्र सार्वजनिक जमिन अतिक्रमण भएका घटनामा सार्वजनिक पद धारणा गरेका व्यक्तिहरु बाट शुरुवात गरि क्रमिक रुपमा विवादित सार्वजनिक जग्गा छुट्याउने कार्य अविलम्ब गर्ने ।
भौतिक पूर्वाधार
भवन निर्माण कोड
भवन निर्माण कोड लागु भएता पनि पूर्ण रुपमा पालना नभएकोले पूर्ण रुपमा पालना गराउने ।
ढल व्यवस्थापन
ढल निर्माण गर्दा मास्टर प्लान तय गरेर त्यसै अनुरुप मात्र राख्न अनुमति दिने र एउटा छुट्टै शाखा मार्फत ढलका सम्पूर्ण कार्य गर्ने । जसमा अनुमति दिने देखि लिएर इन्भेन्टरी राख्ने, मर्मत सम्भार गर्ने सबै कार्यको जिम्मेवार त्यही शाखा हुनेछ । यसका साथै सबै ढलका कार्य गर्ने संस्थाहरु, ढल संग प्रत्यक्ष सरोकार राख्ने सडक, खाने पानि जस्ता संस्थाहरु संग समन्वय गर्ने व्यस्था मिलाउने र सबैलाई गुरु योजनाको मातहतमा रहेर मात्र काम गर्न गराउन दिने । बिशेष गरि प्रत्येक वर्ष डुवानको समस्यामा परि रहेका साविक कपन लगायतका क्षेत्रको ढल व्यवस्थापनको दिर्घकालिन समाधान खोज्ने ।

फरक क्षमता भएका मानिस मैत्री संरचना
नगरपालिकामा अव यो भन्दा पछि बन्ने सम्पूर्ण सार्वजनिक संरचनाहरु फरक क्षमता भएका मानिसहरु लाई सहजता हुने गरि निर्माण गर्ने कुरामा प्रतिबद्घता व्यक्त गरि कार्यन्वयन गर्ने ।
सार्वजनिक शौचालय
सार्वजनिक शौचालय सभ्यताको सूचक भएकाले निश्चित ठाउँहरुको पहिचान गरि पब्लिक प्राइभेट पार्टनरसिप मोडल अन्तर्गत सार्वजनिक शौचालयहरु निर्माण गर्ने नीति भएता पनि हाल सम्म कार्यान्वयन नभएकोले सो लाई कार्यन्वयन गराउने ।
पर्यटन बिकास
पर्यटन बिकासका लागि ऐतिहासिक तथा सांस्कृतिक सम्पदा हरु को संरक्षण, मौलिक बाजा गाजा संरक्षण र प्रवर्धन का लागि बजेट विनियोजित गरिनुपर्छ र यसका साथै वार्षिक रुपमा हुने चाड पर्व तथा त्यस क्षेत्र मा गर्न सकिने महोत्सव हरु को पहिचान गरि लोक संस्कृति, स्थान, बिशेषता झुल्कने कार्यक्रम को आयोजना तथा व्यवस्थापन गर्ने ।
चार नारायण मध्येका एक बुढानिलकण्ठ यसै नगरमा रहेकाले अन्य नगरपालिका संग छल फल गरि सहकार्यमा नारायण सर्किटको निर्माण गरि धार्मिक पर्यटनलाई बढाउने नीति लिने र प्रचार प्रसार गर्ने । बुढानिलकण्ठ क्षेत्र बिकास कोषको गुरु योजना अनुरुप कार्य नभएको देखिएकोले सो तर्फ समन्वय कायम गरि कार्य अघि बढाउने ।
मानव संसाधन बिकास रोजगारी र खेलकुद
नगर बिकासका लागि मानव संसाधन बिकास महत्व पूर्ण हुन्छ । नगरपालिकाले छुट्टै मानव संसाधन बिकास शाखा निर्माण गरि नगर भित्रका महत्वपुर्ण प्रतिभा भएका सबैको सुचना संकलन गर्ने गरि लगानी गर्न सक्षम र श्रमिक लाई एक अर्का संग जोड्ने रोजगार मुलक तालिमका साथ पुंजी निर्माणमा सहयोगी भूमिका खेल्ने ।
युवा परामर्श
बेरोजगारी शहरी क्षेत्रको प्रमुख समस्या रहेको त्यसमा पनि पढेलेखेका युवाहरु पनि बेरोजगार भएकाले तिनलाई व्यापार व्यवसाय गर्न आवश्यक परामर्श तथा तालिम दिन बजेट बिनियोजन गरि हरेक वडामा कम्तिमा वर्षको दुइ वटा कार्यक्रम गर्ने ।
रोजगारी
नगरपालिकाले रोजगारी सिर्जनाको सन्धर्भमा माग र पूर्ति बीच समन्वयकारी भूमिका निर्वाह गर्ने साथै प्रधानमन्त्रि रोजगारी कार्यक्रमलाई बिना भेदभाव दलिय स्वार्थ भन्दा माथि उठेर कार्यन्वयन गर्ने ।
खेलकुद
खेलकुद मानव बिकास को एक महत्व पूर्ण सूचक हो र यसका लागि स्थान पहिचान गरि हरेक वडा मा एउटा खेलकुद मैदान निर्माण गर्न बजेट बिनियोजन गर्ने र बजेट बिनियोजन भई सकेका शुवर्ण शम्सेर क्रिकेट मैदान, धनेश्वर खेलमैदान, ह्यान्डबल खेल मैदानको निर्माण कार्य सम्पन्न गराउने र वडा नं. ८ मा रहेको ७७ रोपनी जग्गामा खेलकुद हब निर्माण गर्न गुरु योजना मा निर्माण गर्ने र यसका साथै वार्षिक रुपमा नगर स्तरिय खेलकुद सप्ताहको आयोजना गर्न बजेट बिनियोजन गर्ने ।
शहरी सार्वजनिक स्वास्थ्य
नेपालको स्वास्थ्य क्षेत्र सामान्य मानिस को पहुँच बाहिर भएको छ । यसको मुख्य कारण भनेको स्वास्थ्य क्षेत्र मा व्यापारीकरण हो । शहरी क्षेत्र मा स्वास्थ्य क्षेत्र लाई कसरि सस्तो र सुलभ बनाउन सकिन्छ भन्ने बिषय मा बिमा, मोडल वा अन्य कुनै तरिका बाट गर्न सकिन्छ भनि अध्ययन गराउन आवश्यक बजेट बिनियोजन गर्ने । साथै क्षेत्र नं. ४ का माननीय गगन कुमार थापाको पूर्वाधार बिकास कोष (सांसद कोष) मार्फत शुरु गराइएको नगर अस्पताल लाई सम्पन्न गर्ने दिशा मा अघि बढ्ने ।
शिक्षा
सार्वाजनिक र निजि शिक्षा दुवैको गुणस्तरमा ह्रास आएकोले शिक्षा क्षेत्रमा के कस्ता सुधार र नविन प्रयोग बाट सुधार गर्न सकिन्छ भन्ने अध्ययन गरि प्रतिवेदन निर्माण गर्न बजेट बिनियोजन गर्ने । सार्वजनिक बिद्यालय को सन्दर्भ मा शिक्षा ऐन र नियमावली को मर्म र भावना बिपरित हुने गरि शिक्षा कार्याविधि बनाइ भैरहेको अनावश्यक राजनीतिक हस्तक्षेप बन्द गरिनु पर्दछ र सरजनिक शिक्षा लाई पूर्णतः निशुल्क गर्दै प्राविधिक शिक्षामा जोड दिने ।
अन्तमा जनताको उच्च आकांक्षा तथा जन प्रतिनिधिहरुको महत्वकांक्षी आश्वासन र सपनाहरुको बीचमा राज्यको बिध्यमान नीति, स्थानीय आवश्यकता र श्रोतको सिमितता लाई सन्तुलित बनाउदै नगरपालिकाको संस्था गत बिकास, नगर बिकासको अल्पकालीन र दिर्घकालिन नीति तय गरि कार्यान्वयन गर्नपर्ने आवश्यकतालाई यस नगरपालिकाको वार्षिक नगर बिकास योजना (आ.व. २०७७/०७८) ले आत्मसात गर्दै अघि बढोस भनि कामना गर्न चाहन्छौं । जय नेपाल !
प्रदेश (ख) सभापती विनोद चालिसे तथा नगर प्रतिनिधि राजाराम बुढाथोकी
थत तस्विरहरुः


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा