शनिबार, साउन ९ २०८३
ताजा अपडेट

‘आमा भए संसारको खुशी चाँहिदैन’


  • बुधबार, बैशाख १० २०७७
32.1K
SHARES

मातातीर्थ औँसी अर्थात आमाको मुख हेर्ने दिन नेपालीहरुको लागि आमाको बात्सल्यता र त्याग अनुभव गर्ने एक अभूतपूर्व क्षण हो । हरेक वर्ष यो दिनले मलाई आमा र जीवनको सन्दर्भमा गहिरो अनुभूति गराउँछ । यस पटकको अनुभूति शब्दहरु मार्फत उजागर गर्ने यत्न गर्दैछु।

रुकमणि खत्री । मलाई यस धर्तीमा ल्याउने आमा । मुटु उपहार दिने बाआमाको चरण स्पर्श गर्छु । सम्पूर्ण आमाहरु प्रति अहोभाव प्रकट गर्दछु । बाआमालाई धन्यवाद दिन शब्द अपर्याप्त र कर्म अपुग हुँदो रहेछ । तथापि यो ठुलो शरिरको माझमा यो सानो मुटु धड्किन्जेल बाआमालाई सधैँ त्यही पाउनेछु । माता साँच्चै तीर्थ हुन । यो तीर्थ यात्रा सँधैँ गर्न पाउँ । मेरी र सबैको आमाहरुको आनन्दमय एवं दीर्घ जीवनको हार्दिक शुभकामना पनि व्यक्त गर्दछु।

नेपालमा सबै आमाहरु भाग्यमानी छैनन् । कैयौँ घर भित्र र घर वाहिर आफ्ना लक्का जवान, पढेलेखेका, जानेबुझेका छोरावुहारी वा सन्तानबाट प्रताडित छन् । अपहेलनामा परेका छन् । वृद्धआश्रमहरु भरिएका छन् । मनुष्य जीवनको शुरुमा र जीवनको अन्ततिर कसै न कसैको भर पर्नुपर्छ । केटाकेटी छँदा बाआमाको भर पर्नुपर्छ । बुढेस्कालमा आफ्नो सन्तानको भर पर्नुपर्छ । जीवनको सुरु र अन्त तिर मानिस परनिर्भर बन्छ । वीचको छोटो समयमात्र ऊ आत्मनिर्भर बन्न सक्छ । तर यो तथ्यलाई मानिसले गहिरो गरि बुझेको हुँदैन जस्तो लाग्छ मलाई । अधिकतर पढेलेखेका मानिसलाई मैले धेरै जानेको छु, म आत्मनिर्भर छु, मलाई अब कसैको सहयोग चाँहिदैन भन्ने भ्रममा हुन्छ । परिणामस्वरुप उसले आफ्नो मातापिता र आफन्तहरुलाई भुल्छ । तर, जीवनको अन्ततिर जब फेरि उसलाई अरु कसैको सहयोग चाहिन्छ त्यतिखेर होस आउँछ । भ्रमको पर्दा खस्छ । तर, त्यतिखेर धेरै ढिला भइसकेको हुन्छ । यसबारे मलाई थप घोत्लन मन लाग्यो।

मेरी ८० वर्षीय आमाले कलम र कापी समाउन पाउनु भएन । धर्म, शास्त्र, विज्ञान, प्रविधि केही आउँदैन । तर, को मान्छेको कस्तो व्यवहार छ भन्ने सजिलै खुट्याउँनु हुन्छ । सबै पैसाको नोटहरु पनि चिन्नुहुन्न तर पैसा कसरी कमाउने र खर्च गर्ने तरीका चाँहि थाहा छ । हामी पढेलेखेको मानिस झैँ सकेसम्म धेरै पैसा कमाउनु पर्छ भन्ने उहाँको मान्यता छैन । दालभात, एकसरो कपडा लगाउन र छाप्रोमा बस्न पुगे भइगो भन्नुहुन्छ । पैसा धेरै भयो भने पोल्छ । रातभरी बोल्छ । शान्ति हुँदैन । सुत्न दिँदैन भन्नुहुन्छ । जीवनको लागि पैसा हुनुपर्छ । पैसाको लागि जीवन होइन भन्नुहुन्छ ।
पढेलेखेका हामी जस्ताले झैँ आमालाई मिलाई मिलाई बोल्न आउँदैन तर परिस्थिती अनुसार ठ्याक्कै बोल्नुहुन्छ । त्यसकारण आमाको बोलीमा भरखरै समाधिबाट उठेर आएको सन्तको झैँ ओज देख्छु म । आमाका शब्दहरुले हृदय छुन्छ । मन खुशी पनि हुन्छ । हामी पढेलेखेको मानिसले झैँ नानाथरी कुरा जोडेर हुँकार दिन आमालाई आउँदैन । आमा त स–साना केटाकेटीहरु जस्तो गरी बोल्नुहुन्छ । छोटो बाक्य । सिधा अर्थ । कलिला शब्दहरु । हृदयको रस घोलेर प्रष्ट बोल्नु हुन्छ । उहाँको बोलीमा सङ्लो झर्ना खस्छ । गुराँस फुल्छ । पन्छीहरु गाउँछन् । साँवाअक्षर नचिनेको मान्छेको बोली यस्तो कसरी हुन्छ । म पढेलेखेको मान्छे जिल खान्छु।

हामी पढेलेखेको मानिस जस्तो सानो–तिनो कुरालाई उहाँले मनमा इष्र्यापूर्वक बर्षाैँ सम्म राख्नुहुन्न । बद्ला लिनुपर्छ भन्ने पनि उहाँको दाउ हुन्न । उहाँ त ठ्याक्कै केटाकेटी जस्तो । चित्त नबुझेको कुराहरु प्याच्चपुच्च भनिहाल्नुहुन्छ । आवश्यक पर्यो भने हर्पानु पनि हुन्छ । रिसाउनु हुन्छ । तर फेरि भोलिदेखि त्यही मान्छेलाई अंगालो हालेर हिड्नुहुन्छ । मरुभूमिमा पानी खन्याए झैँ हिजोको रिस आमाको शरीरमा हिजै बिलाउँछ । हामीहरु त वर्षाैँ वर्ष पुराना कुण्ठाहरुको पोकाहरु खोलेर बद्ला लिन कसिन्छौँ । तर, आमामा त्यो कुनै भाव छैन् । विल्कुलै केटाकेटी जस्तै । छिनमा रिसाउने छिनमै हाँस्ने र मिल्ने । हामी पढेलेखेको मान्छेको ज्यादा दिमाग चल्छ । आमाको ज्यादा हृदय चल्छ । दिमागले हिसाब किताब गर्छ । नाफाघाटा खोज्छ । हृदयले अनुभूति र परानुभूति गर्छ । हृदयमा पवित्र प्रेमको गंगा बग्छ । त्यही भएर आमालाई गंगा भनिएको रहेछ।

हामी पढेलेखेको झैँ आमा विज्ञानमा विश्वास गर्ने मान्छे पनि होइन । उहाँको जीवन पुरै अन्धविश्वासमय छ । विहान–बेलुकी विज्ञानले प्रमाणित नगरेको भगवानलाई आमाले भक्तिपूर्वक पूजा गर्नुहुन्छ । म भगवान छैन आमा भन्छु । उहाँ भगवान छन् भन्नुहुन्छ । यो नदीनाला, रुखविरुवा, माटो, ढुङ्गा सबै भगवान हुन । सबैतिर भगवान छ्न । तिनलाई पूजा गर्नुपर्छ । धन्यवाद दिनुपर्छ भन्नुहुन्छ । ति सबै चिजविचलाई आफ्नो सन्तान झैँ माया पनि गर्नुहुन्छ । यहाँ पनि आमो दिल र मेरो दिमाग नै चलेको देख्छु।


हामीलाई जस्तो आमालाई मोबाइल चलाउन आउँदैन । तर, आफन्ताहरुको खैखबर बुझ्न आमालाई फोन पनि गर्नु पर्दैन । यसो सपनाबाट लखकाट्नु हुन्छ । नभन्दै आमाको कुरा पनि मिल्छ । हामी पढेलेखेको मानिसले भने झैँ आफ्नो काम र आफ्नै माम भन्ने कुरा उहाँ मान्नु हुन्न । उहाँ त एक दाना सुन्तला पाए पनि नजिकमा को को छन एक–एक केस्रा भए पनि बाँडेर खानु भन्नुहुन्छ । प्रकृतिको प्रसाद सबैले मिलेर खाँदा सबैको फलिफाप हुन्छ है भन्नुहुन्छ।

मलाई लाग्छ हामी पढेलेखेका सन्तान र हाम्री आमाहरु वीच यस्तै यस्तै फरक हुन्छ होला । हामीले बुझ्नै पर्ने कुरो चाँहि हामीहरु धेरै दिमाग चलाउँछौँ । आमाहरु धेरै दिल चाउनुहुन्छ । त्यही भएर जब हामी सानो थियौँ हाम्रो बोली थिएन । तर, पनि आमाहरुले हाम्रो भोग, प्यास, चाहना सबै बुझ्नुहुन्थ्यो । कसरी ? दिलको कुरा दिमागले बुझ्दैन रहेछ । मलाई यस्तो लाग्छ । यो दिल र दिमाग विचको भेद हामीले बुझ्न नसक्दा धेरै आमाहरुले दुःख पाइरहेका छन् । दिलको कुरा गर्ने आमा सित हामीले पनि दिलले नै कुरा गर्न आवश्यक छ।

मेरी आमा इलाम र काठमाडौँ आउनेजाने गरिरहनुहुन्छ । मलाई मेरी आमा जस्तो हुनुहुन्छ ठ्याक्कै त्यस्तै प्रेम, श्रद्धा एवम् सम्मान पूर्वक स्वीकार्य छ । शिरमा राख्छु । त्यसैले होला मगमगी बास्ना चल्ने सुन्दर फुल छेउमै हुँदा भन्दा बढी मलाई मेरी बुढी दाँत नभएकी र छाला चाउरी परेकी आमा छेउमा हुँदा आनन्द लाग्छ।

नेपालमा बढ्दै गइरहेको वृद्धाआश्रम र त्यहाँ बस्ने वृद्धवद्धाहरुलाई देख्दा मलाई चिन्ता लाग्छ । पढेलेखेका छोराछोरीहरुले ति करुणानीधि आमाहरुलाई चिन्न सकिरहेका छैनन् कि ? कहिले काँहि सोच्छु कतै मानिसहरु आफुले आर्जन गरेको ज्ञान, सिप र सम्पक्तिले अन्धो त भएका छैनन?

वास्तवमा पढेलेखेका तपाईँ हामीसँग नितान्त आफ्नो ज्ञान वा भनौँ शब्द छैन । आफ्नो बोली छैन । हामी आफैँ बोल्दैनौ । हामी मार्फत हामीले संकलन गरेर दिमागमा भण्डारण गरेको दर्शन, शास्त्र, विज्ञान, विधि, प्रविधि लगायत तथाकदित ज्ञान बोल्छ । त्यो हाम्रो बोली होइन । हामीबाट यी सबै दर्शन, सिद्धान्त, विज्ञान निकाल्ने हो भने हामी रित्तो हुन्छौँ । हाम्रो ‘म यो हुँ’ भन्ने भ्रम सधैँको लागि हट्छ । त्यसपछि हामीले जे बोल्छौँ त्यो चाँहि हाम्रो बोली हुन्छ । जस्तो बुद्ध, ओशो, महाविर, जिसस आदिले बोलेका छन् । ति बोलीहरु कुनै शास्त्र, सिद्धान्त वा दर्शनको बोली होइन । खुद आफ्नो अनुभूतिको आफ्नो बोली हो।

हाम्रा अनपढ आमाहरु त्यस्तै छन् । उहाँहरुले बोल्ने बोली शुद्ध बुद्धको जस्तो हुन्छ । भगवानको बोली हुन्छ । प्राकृतिक बोली हुन्छ । दिल अर्थात हृदयको बोली हुन्छ । त्यहाँ कुनै दर्शन, सिद्धान्त र विज्ञान वोल्दैन । केवल हृदय बोल्छ । अतः हामीले आफ्नो ज्ञानलाई एकछेउमा राखेर, आफ्नो हैसियत बुझेर, हृदयले भरीएर आमासित व्यवहार गरौँ । आमाको साथमा रहँदा वा आमासँग भेट्न जाँदा एक नाबालक जस्तो खाली दिमाग अनि प्रेम र करुणाले भरीभराउ हृदय बोकेर जाउँ पक्कै आमामा हामीले साक्षत् भगवान पाउँने छौँ । त्यसैले होला यसरी आमालाई बुझ्नेहरु भन्छन् आमा भए संसारको खुशी चाँहिदैन । अब ढिला नगरी हामी सबैले यो तथ्यलाई बझु्न आवश्यक छ । समाजलाई बुझाउनु पर्छ । कुनै आमाको आँखाबाट सन्तानको सन्तापले पिडाको आँशु झार्नु नपरोस्।

आमालाई समर्पण गरेर महेश आचार्यको शब्द, सागर गौतमको संगीत र मेरो प्यारो मित्र विनोद चुँडालको स्वर रहेको गीत आमा भए संसारको खुशी चाँहिदैन… भन्ने अत्यन्तै मिठो गीतबाट यो लेखको शीर्षक छानेँ । गीत युटुबमा सुन्न सक्नुहुनेछ।

विवेक विनयी
प्रीन्सिपल, जुगल स्कुल/ कलेज,
कपन तथा विद्यालयमा नैतिक शिक्षा सिकाउन तयार पारिएको पुस्तक संस्कार (भाग १-५)का लेखक हुन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा