बुधबार, जेष्ठ १७ २०८०
ताजा अपडेट

धर्म के हो..?


  • रवि भट्टराई
  • बिहिबार, माघ ५ २०७९
5.2K
SHARES

लेखक रवि भट्टराई

धर्म भन्ने बित्तिकै सबैको मनमा झट्ट आउँछ हिन्दु, इसाई, बौद्ध, इस्लाम या अरू यस्तै केही । यी सबै धर्मको मर्मलाई पालना गराउनका निमित्त बनाइएका अथवा बनेका सम्प्रदाय मात्रै हुन भन्ने मेरो बुझाई हो ।

धर्म कुन हो भन्ने सुन्ने बित्तिकै मान्छेको सोझो प्रतिक्रिया हुन्छ म हिन्दु हु । म बौध्दिष्ट हु । म इसाई हुँ या यस्तै केही, तर मेरो अन्तस्करणले भन्छ धर्म भनेको मान्छे जन्मी सकेपछि अपनाउने स्वभाबिक गुण हो जुन गुणले मान्छेलाई पहिचान समेत दिलाउने गर्छ ।

राम्रो गुण र असल चरित्र हुने मान्छेहरू धार्मिक हुन् । त्यस्तै समाजको नजरमा अनैतिक काम गर्ने मान्छे अरूको कुभलो चिताउने मान्छे अधर्मी हुन् यो मेरो बुझाई हो ।

हिन्दु धर्मको पालना गर्नेलाई हिन्दु भएकै कारण अवहेलना गर्नु वा अन्य कुनै धर्म मान्ने परिवारमा जन्मिएकै कारण मान्छेलाई हेय भावले हेर्नु चाही पाप हो । धर्म हुँदै हैन ।

जस्तो परिभेषमा मान्छे जन्मिन्छ त्यही परिभेषमा आएपछि मान्छे हिन्दु, बौध्दिष्ट, इसाई वा अरू कुनै धर्मलम्बि भएर चिनिन्छ । माता पिताले अङ्गाल्ने धर्म नै उसको पहिचान हो । जन्मजात पाएको पहिचानलाई पछि लोभ र प्रलोभमा परेर पहिचान फेर्न लग्नु मेरो बुझाइमा मति भ्रष्ट हुनु हो ।

धर्मको सीमा छैन । धर्म भनेको सकारात्मक भावना हो । धर्मको नाममा राजनीति गर्नु र धर्म परिवर्तनको पासो थापेर मान्छेको अस्तित्व समाप्त गर्न तर्फ लाग्नु अधर्मी पन हो । धर्म जन्मजात माता पिताको पासबाट आउने भएका कारण यसले मान्छेको पहिचान दिन्छ ।

धर्म परिवर्तन गरेर हुने चिज हैन । हिन्दु मान्छे इसाई बनेर अर्थात अन्य कुनै धर्मको मान्छे हिन्दु बन्दैमा आकाश नै खस्ने धनधान्यले पूर्ण हुने कदापि हुनै सक्दैन । धर्म परिवर्तन गराउँछु भन्दै हिँड्नु, धर्म परिवर्तन गरेर आफ्नू पहिचान र अस्तित्व मेटाउन लालायित बन्नु अधर्मीपनको पराकाष्ठा हो ।

धर्मको बारेमा व्याख्या गर्न सहज भने छैन, किनभने हिन्दु भएर तर्क गरियो भने इसाईहरू मान्न तयार हुँदैनन् त्यस्तै बौद्ध भएर व्याख्या गरियो भने इस्लामहरू मान्न तयार छैनन् । एकले अर्को धर्मको अस्तित्व स्वीकार गर्न असम्भव प्राय बनाइएको छ । यस्तो कुनै एक निश्चित धर्मको नजरियाले धर्मलाई व्याख्या गरेर यो नै धर्मको व्याख्या ठिक हो भनेर भन्न हुँदैन भन्ने मेरो ठहर हो ।

अहिले धर्मलाई राजनीतिमा घुसाएर मैले मान्ने धर्म पो धर्म तैँले मान्ने धर्म त सैतान हो भन्ने दूषित मानसिकता बोकेका अधर्मीहरूले क्लेश फैलाउँदै छन् । मान्दै आएको धर्ममा विकृति छन् भने त्यसलाई सुधार्नु पर्छ । सुधार्न तर्फ लाग्नु सकारात्मक कुरा हो तर धर्मलाई परिवर्तन गरेर मात्रै सुध्रिन्छ भन्नु दूषित मानसिकताको उपज हो ।

धर्मलाई विभिन्न सम्प्रदाय सँग जोडेर व्याख्या गर्नाले धर्मको मर्मलाई गलत व्याख्या गरिएको जस्तो मलाई लाग्छ । जुन परिवेशमा मान्छे जन्मिन्छ जुन रहनसहनमा मान्छे हुर्किन्छ मान्छे त्यही अनुसारको संस्कारलाई अपनाउँछ । मैले मान्दै आएको धर्म सत्य हो तैँले मान्दै आएको धर्म सैतान धर्म हो भन्ने किसिमको व्याख्यानै गलत हो । सर्व धर्म सम भाव राख्नु पर्छ तर जसले जे मान्छ त्यसलाई लोभ र प्रलोभमा पारेर परिवर्तन गर्न खोज्नु अर्को अधर्मी कार्य हो।

धर्म भनेको यही हो भनेर ठ्याक्कै भन्ने धार्मिक गुरुहरू पनि छन् तर विभिन्न धर्म मान्नेहरूका आफ्ना-आफ्नै तर्क छन् । उनीहरूको तर्क र बुद्धिलाई गलत हो भन्ने विद्वानहरू पनि प्रशस्तै भेटिन्छन् ।

विभिन्न कालखण्डमा बहु जनले स्विकार्ने विभिन्न धर्मगुरु तथा विद्वानहरूले धर्मलाई व्याख्या गरेको पाइन्छ तर त्यो व्याख्यालाई पनि सही र सत्य यही हो भन्ने अवस्था छैन । तर समग्रमा सर्वमान्य विद्वान हरूले भनेका कुरालाई स्वीकार गर्नु र आफूले मान्दै आएको संस्कार र धार्मिक मान्यतालाई सही बाटोमा हिँडाउनु हाम्रो कर्म हो भन्ने मेरो निष्कर्ष हो ।

कुनै एउटा त्यस्तो शब्द खोज्ने हो, जुन जनबोलीमा अत्यन्तै प्रचलित छ भने, त्यो सायद धर्म भन्ने सब्द नै होला । दैनिक जीवनमा धर्मको प्रयोग धेरै हुने गर्छ । धार्मिक मान्छे बन्नलाई कुनै युनिभर्सिटीको प्रमाणपत्र पेस गरी रहन पर्दैन । धर्म भन्ने बित्तिकै असल काम अरूको भलाई हुने काम अथवा अरूको मन नदुखाउने कामनै धर्म हो र धार्मिक मान्छेहरू सबैका प्रिय हुन्छन् ।

नेपालमा बहुसङ्ख्यक हिन्दु धर्मालम्बिहरु छन् । हिन्दु धर्मका अनुसार मौरीले मह बनाउनु, गाईले दूध दिनु, नदिहरु बग्नु, सुर्यले ताप दिनुलाई धर्म भनिएको छ । यस अर्थ धर्म भनेको जन्मिएपछि जस्तो परिवारमा मान्छे जन्मन्छ उसले देख्ने परिभेष भित्रको स्वभाबिक आउने सकारात्मक गुण हो भनेर भन्न सकिन्छ ।

हिन्दु धर्मले धार्मिक बन्नलाई कस्ता गुण हुनुपर्छ भन्ने व्याख्या गरेको पाइन्छ । जसअनुसार धृतिः क्षमा दमोऽस्तेयं शौच मिन्द्रियनिग्रहः। धी र्विद्या सत्यमक्रोधो दशकं धर्म लक्षणम्।।

यो संस्कृतको श्लोकले धर्म भित्रको मर्मका दश लक्षणलाई बताएको छ । जसले धैर्य गर्छ,क्षमा गर्ने सामर्थ्य राख्छ, विद्या प्राप्त गर्ने चाहाना राख्छ, सत्य बोल्छ, आफ्नो वासनाको नियन्त्रण राख्न सक्छ ,चोरी गर्दैन, अन्तर अङ्ग र बाह्य सरसफाइ गर्छ ,बुद्धिमत्ताको प्रयोग गर्छ, मन बचन र कर्म द्वारा सत्य काम गर्न सधैँ लागि पर्छ र जसले रिसलाई नियन्त्रण गर्छ त्यसलाई धार्मिक भन्न सकिन्छ र यो धर्मको १० लक्षण हो भनेर सुन्दर व्याख्या गरेको पाइन्छ । यस अर्थ पनि भन्न सकिन्छ की धर्म भनेको अरूको भलाई हुने काम गर्नु हो । र यो हिन्दु ग्रन्थको संस्कृत श्लोकलाई आधार मान्ने हो भने पनि धर्म भनेको जन्मजात आउने असल चरित्र वा गुण हो र धार्मिक हुनु भनेको माथि उल्लेखित दश लक्षण मान्नु हो ।

एउटा अर्को हिन्दु ग्रन्थको श्लोक पनि बडो सुन्दर छ । अविज्ञाय नरो धर्मं दुःखमायाति याति च । मनुष्य जन्म साफल्यं केवलं धर्मसाधनम् ॥

यसको भावअर्थ हुन्छ धर्म नजान्ने मान्छे दुखी हुन्छ, जसले धर्मको साधन गर्छ अर्थात् धर्मलाई मान्छ उसको जीवन अवश्य सफल हुन्छ । यस्ता श्लोक पढी सकेपछि यो भन्न सकिन्छ की हरेक धार्मिक मान्छे सफल हुन्छन् । धर्मको विरोध गरेर मान्छे मात्र विवादित पात्र बन्ने हुन् ।

मेरो बुझाइमा विभिन्न सम्प्रदायलाई धारे हात लाएर तेरो धर्म सैतान हो । मेरो धर्ममा आइज भन्दै हिँड्नु मात्र क्लेश र द्वन्द्व फैलाउने काम हो । जसले यस्ता काम गर्दै हिँड्छन् त्यो धर्म हैन । आफ्नो पहिचान मेटाउनु पाप हो । त्यसैले आफूले मान्दै आएको संस्कारमा गर्भ गरौँ । आफ्नो संस्कारले देखाएको बाटोलाई तिरस्कार नगरौँ । आफ्नो संस्कार विश्वमा चिनाउन तर्फ लागौँ । अरूको हित गरौँ यही नै धर्म हो ।

अन्त्यमा बहुसङ्ख्यक नेपालीहरूले मान्दै आएको धर्म हिन्दुको धर्म ग्रन्थ अथर्ववेदले भनेझैँ मा भ्राता भ्रातरं द्विक्षन्‌, मा स्वसारमुत स्वसा। सम्यञ्चस् सव्रता भूत्वा वाचं वदत भद्रया।।

अर्थात् भाइ भाइ कलह नगरौँ,दिदी बैनी द्वेष नगरौँ । समान गति लिएर एकले अर्को सँग परस्पर मिलेर काम गरौँ । एकमत भएर परस्पर सहयोगी भएर काम गरौँ । यसो गर्नाले कहिल्यै कलहको सृजना हुँदैन । यही नै धर्म हो । यही नै सत्कर्म हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा