चरित्र नभए पनि केही हुँदैन भन्ने निकृष्ट बिचारले समाज बिथोलिँदै छ । पैसा सब थोक हो अरू नभए पनि हुन्छ भन्ने मानसिकता स्थापित हुँदै छ । अज्ञानताबाट सुरु हुने यस्ता कुराको जड राजनीति हो । ‘राजनीति नसङ्लिए समाज सङ्लो बन्दैन’ यो यथार्थ हो । राजनीतिले राम्रो गति नलिए विद्यालयहरूले नैतिक र चरित्रवान् शिक्षा नै दिन सक्दैनन् यो अर्को सत्य हो ।
अहिले चरित्र जे सुकै होस् तर पैसा कमाउनु पर्यो भन्ने मानसिकता नेताहरूमा देखिँदै गएको छ । यो कुरा नेताहरूले मान्न तयार छैनन् तर सत्य यही हो । चरित्रलाई दाउमा लगाएर अर्थात् दयालाई दाउमा लगाएर दौलत जम्मा गर्ने होडमा नेताहरू दौडेका छन् । किनभने पैसा नभएकाले राजनीति गर्न सक्दैन भन्ने कुविचार समाजमा स्थापित हुँदै गएको छ । राज्य चलाउने नीति निर्माण गर्ने नेताहरुनै चरित्रवान् बन्न सकेनन् भने राज्यका हरेक तह र तप्कामा चरित्रवान् मान्छेहरूको खडेरी पर्छ त्यसैले नेताहरू उच्च नैतिकवान् र चरित्रवान् बन्नै पर्छ ।
राजनीति समाजको सेवा हो,जनताको सेवा हो भन्ने कुरालाई बिर्सिएर ठिक उल्टो राजनीति पेसा हो र यसबाट जतिसक्दो लाभ उठाउनु पर्छ भन्ने मानसिकताले विभिन्न पार्टीका नेताहरू ग्रसित छन् ।
स्थापित नेताहरुको दिनचर्या जो कोहीले नियाल्ने हो भने प्रस्टै थाहा हुन्छ नेता भ्रष्ट बनेर प्रस्ट बोल्न छाड्दै छन् । भ्रष्ट नेता र नेतृत्वले प्रस्ट र यथार्थ नबोली समग्र समाजलाईनै भ्रष्टाचार सिकाउन खोज्दै त छैनन् ? यो जटिल प्रश्न खडा हुँदै छ ।
नेताहरुको चित्र र चरित्र फरक छ । भाषणमा बोल्ने बोली र गर्ने व्यवहार ठिक उल्टो छ । उल्टो गराइबाट समाजले पाउने सन्देश पनि उल्टो हुनु स्वभाबिक भयो ।
बहुदलीय व्यवस्था भएको हाम्रो मुलुकमा विभिन्न दल छन् । तर सबै दलले बोक्ने सिद्धान्तको सार एउटै हो झैँ लाग्छ । किनभने पद र प्रतिष्ठा प्राप्त गर्ने कुरामा दलहरू मिल्दै नमिल्ने सिद्धान्तहरू सर्लक्कै मिलाउँछन् र बाढेर पद लिन तयार देखिन्छन् ।
मुख्य गरी काँग्रेस र कम्युनिस्ट विचारधारा बोकेका दलहरूले जति नै नीति र थितिका कुरा गरे पनि समग्रमा एकै जस्तो मलाई लाग्छ । पैसाको लोभको भुमरीमा परेर राज्यका मुख्य उच्च पदको बाडफाडमा नीति, नियम, कानुन, योग्यता क्षमता हेरिँदैन । मात्र चरित्रलाई दाउ लगाएर दौलत जम्मा गर्ने दम्भको अग्र पङ्तिमा उच्च नेतृत्व सबैभन्दा अगाडि भएको हो कि झैँ लाग्छ ।
बडो काइदाको अर्को कुरो छ, अन्तिम सास रहुन्जेल सम्म पार्टीको प्रमुख र प्रधानमन्त्री राष्ट्रपति हुनुपर्ने मानसिकताबाट विभिन्न दलका उच्च नेताहरू ग्रसित भएको मैले देख्छु ।
मैले मात्र हैन अधिकांश जनताले आरोप लाएका छन्, विरोध गरेका छन् तर पद छोड्न पटक्कै नेताहरूलाई मन छैन । नेताहरूको उद्देश्य आर्यघाटमा चितामा नपुगुन्जेल पदमै बस्नु पर्छ भन्ने देखिन्छ । आराम गर्नु पर्ने व्यक्ति उच्च पद ओगटेर बस्दा मुलुकको विकासको गति कमजोर हुने निश्चित छ ।
शरीर थेग्न नसक्ने भएका वृद्ध नेताहरूले मुलुक कसरी थेग्लान् भन्ने प्रश्न उठ्नु स्वभाबिक पनि छ । तर उमेरले नेताको परीक्षा गर्नु पर्छ भन्ने कुरा भने मैले मान्दिन । तर पटक पटक नेतृत्वमा पुगेका टेष्टेड नेताहरू जो उमेरले पनि शाथदिन छाडेको छ उनीहरूले आराम गरेर राम्रो बिचार बोकेका मान्छेहरू आउनु पर्छ भन्ने कुरा जनताको प्रमुख चासोको विषय हो ।
साँच्चै देश निर्माण गर्ने हो भने सबैभन्दा पहिला नेता र नेतृत्व चरित्रवान् हुनै पर्छ यो मैले बुझेको पहिलो सर्त हो । चरित्र नभएको मान्छे जुन ठाउँ र जुन काममा लागे पनि त्यसले त्यो काम र कर्मलाई ध्वंस बनाउँछ । अझ राजनीति गर्ने मान्छेको चरित्र सफा सङ्लो पानिझै हुन पर्छ । किनभने राजनीति गर्ने मान्छे समाजका चित्र हुन उनीहरूको चित्र भित्रको चरित्र सङ्लो छैन भने समाज विचित्र बन्छ ।
स्वार्थ रहित राम्रो बिचार र राम्रा कर्म गर्नु नेताको चरित्र हो । जुन नेता र नेतृत्वले आफ्ना इच्छा र चाहानाहरूलाई एक ठाउँमा नियन्त्रण गरी राखेर जनताका आधार भूत आवश्यकतालाई मध्यनजर गर्दै राम्रा काम द्वारा समाज परिवर्तन र दिगो विकासको खाका कोरेर एकै पटक राष्ट्रलाई विकास तर्फ हिँडाउन खोज्छ भने त्यो चरित्रवान् नेता हो । भ्रष्ट मानसिकता भएको, आफन्तवाद, नातावाद र कृपावादमा विश्वास गर्ने आफ्नो आत्मरतिमा रमाउने नेतालाई समाजले चरित्रवान् नेताको रूपमा कदापि स्विकार्दैन ।
तर, अहिले ठिक उल्टो राजनीतिमा देखिन्छ । हामी देख्दै छौ कि वर्तमान समय पैसा र धनको बोलवाल छ । चरित्र नभए पनि हुन्छ मात्र पैसा आजको आवश्यकता हो भनिँदै छ । नैतिक चरित्र पतन उन्मुख बिचराले अहिलेको समाज कुहिरोमा हराएको काग झैँ भएको छ । पैसा बिना चुनाव जितिँदैन भन्ने मानसिकता नेतामा देखिन्छ । राजनीति पैसा कमाउने कर्म भन्ने बुझाई स्थापित हुन खोजेको आभास जनताले गर्दै छन् । राजनीति गर्ने मान्छे वा नेतालाई चरित्र नभएको भ्रष्टाचार गरेर पैसा कमाउने पात्रको रूपमा जनताले विश्लेषण गर्न थाल्दै छन् । यसलाई स्वयम राजनीतिज्ञहरूले चिर्न सकिरहेका छैनन् ।
राजनीतिमा चरित्र वान मान्छे वा नेताहरू आउनु पर्छ । उत्कृष्ट चरित्र भएको नेता नेतृत्वमा पुग्यो भने मुलुक र जनताको गहना बन्न सक्छ । यदि यो दलिए ब्यबस्थामा नेता र नेतृत्वमा मानव चरित्र छैन मात्र भ्रष्टाचार उन्मुख,आफन्तवाद उन्मुख नेतृत्व भयो भने समाजको दुर्दिन सुरु हुन्छ र समाज दुखी बन्छ । त्यसैले नेताको चित्र अनुसार चरित्र हुनुपर्छ । बोली अनुसार काम हुनु पर्छ । जनभावनालाई समेट्ने मान्छे नेतृत्वमा पुग्नु पर्छ अनि मात्र मुलुक सबृद्दीको बाटोमा हिँड्ने छ ।