राजनीतिक व्यवस्था त्यस्तो व्यवस्था हो जसले कुनै पनि देशको अर्थ,वातावरण, स्वास्थ्य,खानेपानी, प्रविधि, शिक्षा, महिला तथा बालबालिका लागाएत समग्र देशबासी जनता र मुलुकलाई गति दिने र थिति बसाउने काम गर्छ ।
जनताको आधारभूत आवश्यकता गाँस बास र कपासको ग्यारेन्टी सम्म राजनीतिक व्यवस्था भित्रै अटाउने गर्छन् । राजनीतिले नछोएका सायदै कुनै विषय छैनन् ।
त्यसैले नै प्राचीनकाल देखीनै राजनीतिलाई नीति हरूको राजा भनिएको हो । यो त्यस्तो नीति हो जसले जनताको हितलाई सर्वोपरि ठान्ने गर्छ र राजनीति गर्ने नेता र नेतृत्व हरूले जनताको हितमा सवाल उठाएर सांसद मन्त्री प्रधानमन्त्री बन्दै नीतिको कार्यान्वयन गर्ने सर्वोच्च तहमा पुग्छन् ।
राजनीतिमा नीति कार्यान्वयन गर्ने ठाउँमा जो मान्छे पुग्छ त्यसले समग्र मुलुकको प्रशासन चलाउने स्वभाबिक भयो । हो त्यही मान्छेले प्रशासन र राजनैतिक साँठगाँठ गरेर मौका यहीँ हो अब चौका हान्न पर्छ भन्न तर्फ लाग्यो भने देशको सम्पूर्ण व्यवस्था खलबलिने मात्र हैन देशले हिँड्ने विकासको गति खाडलमा जाकिन्छ ।
त्यसैले राजनैतिक व्यक्तिहरू दूरदर्शी र सुशासनमा चल्ने हुन आवश्यक छ । जनताका मुद्दालाई मसिनो गरी केलाएर मूलभूत योजना सँग नेतृत्वले जोड्न सकेन र विभिन्न सांठगाठमा अर्थ आर्जन गर्न तर्फ उन्मुख भयो भने राज्यमा हुने विकास निर्माण र समग्र राज्यको प्रगति सुस्ताउने मात्र हैन समग्र मुलुक नै भुमरीमा फस्छ ।
हाम्रो देशमा भएको पछिल्लो परिवर्तन जसले नयाँ संविधान सँगै गणतन्त्र स्थापित भयो । गणतान्त्रिक व्यवस्थामा भएका विभिन्न घटनाक्रम राज्यमा भएका परिवर्तन र विभिन्न पार्टीका नेताहरूको राज्य चलाउने तौर तरिकाबाट जनता आजित भएको बुझिन्छ ।
अहिलेको अवस्थामा आइपुग्दा पार्टी भनेको नेता र नेता भनेको सत्ता र सत्ता भनेको नेताको साँठगाँठमा जे गरे पनि हुने प्रक्रिया हो जस्तो जनतालाई लाग्दै छ । यस्तो लाग्नु राज्य चलाने व्यक्ति र पद्धतिमा प्रश्न खडा हुनु हो ।
६२-६३ को परिवर्तन अगाडी मुलुक राजतन्त्रात्मक अवस्थामा थियो । त्यो बेला वंश परम्परामा राजा चुनिन्थे । तर परिवर्तन पश्चात राजनैतिक गतिविधि स्वतन्त्र छन् । आस्था र विश्वास बोकेका पार्टीहरू चुनावमा होमिन्छन् र जनताबाट चुनिएर नेतृत्व तह सम्म पुग्ने गर्छन् ।
संविधानको मर्म र भावनामा चल्नु नेता र नेतृत्वको पहिलो सर्त हो । मेरो बुझाइमा शासकको अर्थात् नेतृत्वको विधि हुँदैन विधिको शासनमा चल्नु पर्छ । विधिको शासनमा चल्नु भनेको विधानमा उल्लेखित तिनीको पालना गर्नु नै नेतृत्वको पहिलो सर्त हो । यस कारण संविधानको नीति अनुकूल चल्नु र चलाउनु नै राजनिज्ञको पहिलो काम हो ।
तर यहाँ संविधान कानुन नीति नियमको भारी एक ठाउँमा बिसाएर दिनभरि मन्त्रीको कुर्सीमा विराजमान हुने र रात भरी पैसा कमाउने बाटोहरू खोज्दै साँठगाँठ र सेटिंगमा प्रस्ट नबोली भ्रष्ट बन्न नेतृत्व तयार भएको आभास जनताले गर्दै छन् । यो विडम्बना हो । यो तत्काल अन्त्य हुनै पर्छ । यदि साँठगाँठ र सेटिंगमा नेता चल्न थाले र पैसा तर्फ आँखा लाए मुलुक बन्दैन यसले भावी सन्ततीलाई समेत खाडलमा हाल्ने काम गर्छ ।
नेपालको गणतान्त्रिक संविधानको उद्देश्य नीतिको पालना गर्ने नेतृत्व र जनभावना समेट्ने राजनीति र त्यसपछि पारदर्शी बहुदलमा आधारित पार्टी पद्धति हो भन्ने मेरो बुझाई छ । हेर्दा सबै ठिक ठाक छ । तर नीति पालक नेतृत्वमा पटक पटक प्रश्न जनताले किन उठाउदैछन्, हाम्रो देशका पार्टी नेतृत्वहरुले बुझ्न जरुरी छ ।
यो पार्टी त्यो पार्टी भन्ने नै छैन कुनै पनि पार्टीमा असल भन्ने र मान्ने नेतृत्व जनताले नदेखेको आभास हुन्छ । निश्चित पार्टीमा लागेका कार्यकर्तालाई आफ्नो नेतृत्व प्रति प्रश्न गर्न सकस छ । नेतृत्वको विरोध गरे आफ्नो भविष्य सकिने चिन्ताले कार्यकर्ताले नेताको विरोध गर्नै सक्दैन ।
अहिले मुलुकमा नेतृत्व प्रति काम गर्न नसकेको भन्ने प्रश्न खडा छन् । पछिल्लो पटक भएको आवधिक चुनाव पछि बनेको सरकारको नेतृत्वमा पुगेको माओवादी पार्टी र सो पार्टीका अध्यक्ष प्रचण्ड प्रति जनताको भरोसा टुटेको आभास हुन्छ । अव उनको परीक्षा सुरु भएको छ । प्रचण्ड नेतृत्वको सरकारले जनभावना अनुरूप काम गर्छ भनेर जनतालाई पत्याउन सकस परेको छ ।
राजनीतिक खिचातानी र सत्ताको दाउपेचले नैरास्यता छाउने त हैन भन्ने सवाल उब्जिएका छन् । सबैभन्दा ठुलो दल बनेर उदाएको नेपाली काँग्रेस नेतृत्वकै कारण सत्ता बाहिर पुगेको आरोप प्रत्यारोप सुनिँदै छ । संविधानको मर्मलाई मर्न नदिई जनभावना अनुकूल काम तथा नीति निर्माण अहिलेको सरकारले गर्न जरुरी छ ।
नेता भनेकै पार्टीको सभापति वा पार्टी अध्यक्ष र पार्टीको धारण भनेकै सभापति वा अध्यक्षले जे भन्छ त्यही धारणा बन्ने प्रक्रियामा परिवर्तन हुनै पर्छ । यदि यो प्रक्रियामा परिवर्तन नहुने समुहिक पार्टीका आन्तरिक बैठक र विभागहरूमा छलफल नभई सभापति र पार्टी अध्यक्ष एकको निर्णयै पार्टीको निर्णय हुने प्रक्रियाको अन्त्य नहुने हो भने एउटा व्यक्तिको हठ र लहडको निर्णयको सिकार पार्टी र पार्टीका कार्यकर्तामा मात्र हैन आम जनता पर्ने देखिन्छ ।
त्यसैले जनभावना समेट्ने निर्णयहरू समुहिक पार्टीमा छलफल चलाएर गर्ने र नेतृत्व साँठगाँठमा नअलमलिएर जनभावनाको कदर गर्ने हो भने मुलुकले गति लिन्छ ।