शुक्रबार, साउन ८ २०८३
ताजा अपडेट

खस आर्यहरूको कुल देवता को हो ?

खस आर्य अधिकांशको कुल देव मष्टो हो । यो वैदिक सनातनी हिन्दु परिवार भित्रको निराकार देव हो । मस्टो स्वयम शिवको अंश हो । -रवि भट्टराई


  • बुधबार, असार १९ २०८१
37.6K
SHARES

सबैभन्दा पहिले कुल देवतालाई स्मरण गरेर म यो बिचार लेख्ने जमर्को गर्दै छु । हामी हिन्दु सनातनी खस आर्यहरू आफ्नू कुलायन अर्थात् कुल देवताको पूजा गछौँ । धर्मको मर्म प्रति आस्था राख्नु हुन्छ भने कुल देवता प्रति आस्था तपाई हामी सबैमा हुनुपर्छ र भई आएको छ ।

कुलको पूजा गर्नु हाम्रो संस्कृति हो । सभ्यता र संस्कार संस्कृति हाम्रो चिनारी र पहिचान हो । सभ्यता र संस्कृतिलाई लात हानेर कोही भयङ्कर ठुलो मान्छे बन्दैन । त्यसैले हाम्रो आफ्नो कुल परम्परालाई भुल्न हुँदैन ।

पछिल्लो समय भड्किँदो जीवनशैलीका बिचमा हुर्किएको डिजिटल पुस्तालाई आफ्नो कुल देवता को हो, आफ्नो परिवारको रित्ती थिति के हो भन्ने अत्तो पत्तो नै छैन ।
अलिकति चासो लिन खोज्नेलाई समेत कुरोको चुरो खासै के हो भन्ने थाहा छैन । त्यामाथि सोझो कुरालाई जटिलता देखाएर पैसा तीर आँखा लाउने गुरु पुरोहित र ज्योतिषीहरूको विभिन्न सोसल साइटमा आएका कुराले झन् मान्छेको मनलाई दिग्भ्रमित तुल्याइदिन्छ ।

कुरो साधारण हुन्छ प्रस्तुति जटिल यो गर्नु पर्छ त्यो गर्नु पर्छ,यता धूप बाल्ने उता धूप बाल्ने, यो त्यो के-के हो के-के भन्छन् ।

मेरो रिसर्च अनुसार तपाईँको बंसको रक्ष गर्ने देवताले तपाई सँग धेरै गर्नै नसक्ने कुरा माग्दैन । देवतालाई केही सक्नु हुन्न भने स्मरण गरी दीनुहोस त्यति भए पुग्छ । यहाँ तिललाई पहाड बनाई दिन्छन् त्यसले झन् बुझ्न गारो हुन्छ ।

यो लेखमा कुल देवताको विषयमा मैले केही पढेका केही जानेका र केही सुनेका कुरा जानकारीका लागी लेख्ने प्रयास गर्दै छु । यसबाट सामान्य आफ्नो कुलको आचरणलाई त्याग्न हुँदैन भन्ने भावना पाठकलाई जागोस् ।

हजुरबुबाको काखमा हुर्किएको हुँ । पाको मान्छेको सान्निध्य हुर्किएको हुनाले उहाँबाट बालक काल देखिनै कुल देवताको विषयमा सुन्दै आएको हुँ ।

मैले जाने बुझेका कुरालाई मेरो व्यक्तिगत बिचारको ठम्याई संग जोडेर कुल देवताको विषयमा लेख्ने मेरो प्रयास हो। यसले पाठकलाई केही जानकारी हुन सक्छ ।

हुन त कुल देवताको विषयमा सयौँ लेखहरू इन्टरनेटमा भेट्न सकिन्छ । तर प्राय विद्वानहरूले ईतिहाँस सँग जोडेर लेख्नाले यो हो की, त्यो हो । यसो गर्ने हो की त्यसो गर्ने हो भन्ने दुबिधा उत्पन्न भइदिन्छ । कुल देवता भनेको यही हो र सत्य यही हो भनेर ठोकुवा गर्ने मेरो आँट छैन सायद कसैको हुँदैन ।

अझ सत्य यही हो भनेर भन्ने आँट जतीनै विद्धानले पनि भन्न सक्दैन मात्र आङ्कलन हो,खोज हो अनुसन्धान हो अझ परम्परा र रीतिरिवाजलाई खोजेर व्यक्त गर्ने कुरा हो ।
प्रश्न उब्जिन्छ सत्य के हो त ? सत्य निराकार हो । विश्वास हो । परम्परा हो । रीति थिति हो । चलिअएको संस्कार र परम्परालाई मान्नु नै सत्य हो । कुल परम्परामा चलिआएको कुलको आचरणलाई मान्नु नै कुल धर्म हो । यही सत्य हो ।

निराकार स्मरण मात्रले प्रसन्न बन्ने कुल देवताको वर्णन गर्न साधारण मनुष्यको मगजले भ्याउँदैन एक मस्टो कुल धामीले म स्वयमलाई भनेको कुरा मलाई पनि यथार्थ लाग्यो ।
जो निराकार शक्तिशाली छ, कुल र आफ्नो बंसको रक्षा गर्दै चिताएका कुराहरू पूर्ण गर्दिन्छ त्यस्तो देवको वर्णन साधारण मनुष्यले गर्न सक्दैन ।

कसैले बायुदेव भन्छन् कसैले मस्टो भन्छन् । मस्टोका पनि कयौँ भेद र उपभेद थरिथरीका नामले पुकार्छन् यतातिर म जान्न ।

भिन्न भिन्न बंस परम्परामा भिन्न भिन्न नामले पुकारिने भिन्न भिन्न तरीकाले पूजा गरिने मस्टो देव शिवको अंश हो यो मेरो निचोड हो । जो आदी अनादीकाल देखी परम्पराको रूपमा विकास हुँदै आयो ।

को हुन कुलदेवता र के हो कुल पूजा ?

आदी अनादि काल देखी आफ्ना पूर्वजहरूले बंसको परम्परा अनुसार आफ्नो बंसको रक्षा होस भनी प्रगति र उन्नतिका हेतु पुज्ने देवता नै कुल देवता हुन । जो निराकार छन् । अझ स्मरण मात्रले पनि प्रसन्न हुन्छन् भन्ने मान्यता छ ।

निराकार शक्ति कुल परम्परा अनुसार मान्छेमा उत्रिएर बक्ने समेत गर्छन् । जो बक्ने मान्छेलाई कुलको धामी अथवा मस्टोको धामी भन्ने गरिन्छ । मान्छे निराकार शक्ति आएर काम्दै बोल्न थालेपछि देउता बोलेको भन्ने गरिन्छ । यसका तान्त्रिक विधि विधानहरू छन् धामी बन्ने प्रक्रिया काँप्ने प्रक्रिया बक्ने प्रक्रिया यो विषय छुट्टै खोजको विषय बन्न सक्छ ।

कुल देवताको पूजा के हो त ? कुलको पूजा भनेको कुलको परम्परा थीती अनुसार निराकार शक्तिको बलमा बक्ने धामीको वाणी र शास्त्रले बताएको विधिमा टेकेर आफ्नो बंसका संरक्षक देवतालाई गरिने पूजा हो स्मरण हो । जुन चोखो भएर धूप दीप प्रसाद चढाएर पुज्ने गरिन्छ ।

खस आर्यहरूले मस्टोको पूजा गर्दछन् १२ मस्टो ९ भवानीलाई खस आर्यहरूले मान्छन् । मस्टोका विभिन्न प्रकार छन् उनीहरूलाई विभिन्न ठेट नेपाली नामहरूले पुकार्ने गरिन्छ ।

जस्तो आदी मस्टो,खप्पर मस्टो, दारे मस्टो, दुधे मस्टो अरू अरू, मस्टो निराकार देव भएका कारण मेरो अनुसन्धानमा देवादीदेव महादेवकै रूप हो मस्टो ।

कुल देव र देवी भनेको शिव र शक्ति हुन् भन्ने निचोड मेरो छ । तर ठाउँ र बंस परम्परा अनुसार विभिन्न नामले पुकार्ने गरिन्छ तर सत्य निराकार हो । निराकार भनेपछि शिव हुन् ।

कुल देवताको कुनै मूर्ति हुँदैन प्रतीकको रूपमा दियो मात्र हुन्छ । दियोको मत्लव प्रकाश हो । प्रकाशको आशय मेरो देवता निराकार जाज्वल्यमान तेज भएको हुनहुन्छ भन्ने हो । र यस्तो जाज्वल्यमान तागत भएको देवलाई मैले स्मरण गरे, सरण परे भन्नाको खातिर धूप दीप अर्पण गरेको हो ।

हाम्रो शास्त्रले भन्छ आचारो विनयो विद्या प्रतिष्ठा तीर्थदर्शनम्, निष्ठाबृत्तिस्तपो दान नवधा कुललक्षणम् ।

अर्थात् असल कुल खानदान बन्नका लागि आचार, विनय, विद्या, प्रतिष्ठा, दर्शन, निष्ठा, वृत्ति, तप, दान जस्ता गुणहरू आवश्यक पर्छन् । यही माथि उल्लेखित गुणहरू आफ्नो सन्ततिमा प्रप्त होस,सबै किसिमको सुख शान्ति प्राप्त होस भन्नाका खातिर कुल पूजा गर्नु पर्छ भन्ने मान्यता रही आएको छ ।

कुलको देवता प्रसन्न भइदिए सबै किसिमका सुख सुविधा र सन्तति प्राप्त गर्दछन् भन्ने मान्यता छ ।

यहाँ बुझ्न पर्ने कुरा के छ भने , हरेक जात जातीको कुलका देवतालाई पुज्ने आफ्नै शैली छ । त्यो शैली कि बुढा पाका हरूलाई थाहा हुन्छ की निराकार ऊर्जा आएर बक्ने धामीलाई पूजा विधान थाहा हुन्छ ।

यदि कुल परम्परामा चली आएको कुल पूजा नगरे के हुन्छ भन्ने प्रश्न आउन सक्छ । रिसर्चले भन्छ परिवारको प्रगतिमा रोकावट आउँछ,। मनमा अशान्ति पैदा हुन्छ । चिताएका कुराहरू समयमा बन्दैनन् । सन्ततिमा कलह सिर्जना हुन्छ र अन्य धेरै क्लेशहरू परिवारमा आउने गर्छन् ।

प्राय हामी खस आर्यहरूले मष्ट देवको पूजा गर्छौ । मस्टोको पूजा राजसी र तामसी दुवै तरिकाबाट गरिन्छ । बली चढाइन्छ मासु नखानेहरूले सात्त्विक तरीकाले शास्त्रीय बिधीअनुसार फलफूल चन्दन चढाउँछन् ।

मस्टो को विषयमा धेरै आर्टिकलहरू भेट्न सकिन्छ पड्न सकिन्छ । विद्धानहरूका कुराहरू सुन्न सकिन्छ मेरो पढाई र मेरो रिसर्चमा मस्टो खस आर्य सनातनी हीन्दु हरुको शक्तिशाली देवता हो । मस्टो देवको उद्गम स्थल पश्चिम नेपालतीर रहेका छन् ।

यो वैदिक सनातनी हिन्दु परिवार भित्रको निराकार देव हो । त्यसैले मैले मस्टोलाई स्वयम शिवको अंश मान्छु ।

यसलाई भक्तले भक्ति भावले स्मरण गरे मात्र पनि प्रसन्न हुन्छ भन्ने मान्यता छ । यसको कुनै मूर्ति हुँदैन यो निरकार छ । त्यसैले मष्टोको पूजा गर्दा दियो बालिन्छ अनि धूप हालिन्छ ।

खस आर्य अधिकांशको कुल देव मष्टो हो । मस्टो र हिन्दु सनातनी सभ्यता एकै हो । १२ मस्टा ९ भवानी जे भन्नुहोस् मेरो निचोड यो हो कि मस्टो सबै एकै हुन । शिव स्वरूप हुन । कुल देवी भनेको शक्तिको रूप हो ।

भिन्न भिन्न ठाउँमा भिन्न भिन्न परम्परा अनुसार आराधना गरिने शिव र शक्ति नै कुल देव र देवी हुन् ।

मस्टो स्वयम शिवको अंस भएका कारण मस्टा १२ ओट या १८ ओटा मात्र छन् भन्न सकिँदैन मस्टो कत्ती छन् कत्ती कसैले १२ कसैले १८ कसैले १०८ भन्ने गर्छन् । रूप अनेक छन् । कुरोको चुरो एकै हो मस्टो सबै एकै हुन उनीहरू शिवका अंश हुन भन्ने मेरो ठम्याई हो ।

मस्टो र हिन्दु एक हैन भनेर भन्नेहरूको तर्क सँग मेरो सहमति छैन । मस्टो एक हिन्दु सनातनी खस आर्यहरूको कुलदेव हो । यही सत्य हो ।

पूजा विधि थाहा छैन, कसरी पूजा गर्ने ?

कुलदेवको पूजा बंस परम्परामा चलिआएको थिति अनुसार गर्नु पर्छ । तपाईँको बंसमा के नामले कुललाई पुकार्ने गरिन्छ त्यो बुझ्नु पर्छ, सोध्नु पर्छ ।
प्राय ३ वर्षमा कुल पुजा गर्ने चलन हुने गर्छ । अहिले भाइबन्धु धेरैतिर छरिएर बस्ने भएकाले हरेका ३ वर्षमा कुलपुजामा सारिका हुन कठिन हुन्छ भने तपाईँले आफ्नै घरमा पूजा गर्न पनि सक्नु हुन्छ ।

दाजुभाइ कुल कुटुम्ब सबै भेला भएर पूजा गर्ने चलन पनि छ जसलाई देवाली भन्ने गरिन्छ ।

पूजा गर्दा चोखो नितो सरसफाइ हुनु पर्छ । सरसफाइ चोखो नितो गरिएन भने अनिष्ट हुन्छ भन्ने मान्यता छ । चोखोनितो भएर आसनमा बसेर तपाईँको कुललाई पुकार्दै हे कुल ठाकुर सबै मनोकामना पुरा गरिदेउ, तिम्रो स्मरणमा मैले बत्ती बाले धूप हाले भनेर आफ्नो मनको कुरा कुलदेवलाई सुनाएर प्रसाद चढाउनु पर्छ । यत्तीमात्र गर्नाले आफ्नो कुल देवताले तपाईँको पुकारा सुन्नेछन् भन्ने सनातनीहरूको मान्यता हो ।

तपाईँको कुल देवता र देवीको नाम थाहा छ नाम पुकार्नुहोस् नाम थाह छैन भने सामान्य कुल ठाकुर कुलदेव भन्नुस् धूप दीप नैवेद्य चढाउनुस् यत्ती हो कुलको पूजा विधि ।
बिधि बिधानले गर्ने हो भने, यज्ञ होम होमादी गरेर बली चढाउने परम्पर छ ।

बली चढाउने कुरालाई पनि विवादित बनाउन खोजिन्छ, प्राणी हत्या गरेर धर्म हुँदैन भनेर उड्किनेहरू पनि छन् । तर सत्य यही हो मान्छे आदीकाल देखी माछा मासु खान्थे नखानेले खाँदैन थिए ।

म साहाकारी हुँ तर मान्छेको सृष्टीदेखीनै मान्छेले मासु खान्थ्यो त्यसैले अफु जे खान्थ्यो त्यसैलाई चढाएर प्रसादको रुपमा खानुपर्छ भन्ने मान्यता भएको हो भन्ने मेरो बुझाई हो । यसमा बिवाद गरीरहनु पर्ने कुरै छैन ।

संस्कार र आफ्नो गुरुकुल परम्परा हो । मांसआहार गर्नेहरुले बली दीनुहुन्छ चढाउनु हुन्छ प्रसादको रुपमा ग्रहण गर्नु हुन्छ । नखानेले सात्वीक तवरबाट पुजा गर्नु हुन्छ यही हो कुल धर्म यसलाई निहत्या जनावारको हत्या भयो यो भयो त्यो भयो भनेर उर्फीनु वाईयात कुरा हो । प्रथा संस्कार संग प्रकृती जोडीन्छ । प्रकृतीको बिरोध गर्ने तगत हाम्रो छैन ।

तर मेरो निस्कर्ष छ केही गर्न सकिदैन भने पनि कमसेकम चोखो भएर स्मरण मात्र भए पनि गर्नुहोस तपाईको मनको कामना कुलको देवताले सुन्नु हुनेछ ।

निष्कर्ष

तपाई हामी जुन कुल बंश परम्परामा हुर्कियौ । त्यो परम्परालाई संरक्षण गर्नु पर्छ । पुर्खाले दिएको संस्कारलाई छोड्न हुदैन भन्ने मेरो निस्कर्ष हो । बैज्ञानिकताको नाममा छाडा साढेँ जस्तो भएर मै मत्ता हुँदैमा संसार जितिन्छ भन्ने कुरो मैले मान्दीन । धर्म संस्कार परम्परा हाम्रो पहिचान हुन । त्यसैले आफ्नो कुलको आचणलाई हामीले भुल्न हुन्न । पुर्खाले मान्दै आएको पुज्दै आएको देवतालाई यथाशक्ति भक्तिभावले पुजा गर्नु पर्छ । पुजा गर्न सकिदैन भने स्मरण सम्म भएपनि गर्नु पर्छ । यसो गर्नाले हाम्रो सनातनी हिन्दु संस्कृतीको जगेर्ना हुन्छ मन प्रशन्न हुन्छ । हैन मै मत्ता भएर बैज्ञानिकताको नाममा आफ्नो कल्चरलाई खोलामा लगेर बगाउने हो भने मान्छे बिनाश तिर जाने निश्चित छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा