काठमाडाैं । बलिउड अभिनेता सलमान खान चाँडै नै नेपाल आउने भएका छन् । उनी जेठ १४ मा दशरथ रंगशालामा हुने ‘दबंग टुर रिलोडेड’ का लागि नेपाल आउन लागेका हुन् ।
ओडीसी इन्टटेन्मेन्ट र हिता ग्रुपको संयुक्त आयोजनामा सलमानलगायत बलिउड कलाकारहरु सोनाक्षी सिन्हा, ज्याक्लिन फर्नानडिज, प्रभु देवा, मनिष पल, गुरु रन्धावा, आयुष शर्मालगायत टिम नेपाल आउन लागेको हो । सलमान नेपाल आउने भएसँगै उनको पारिश्रमिक कति होला ? उनी कति दिनका लागि नेपाल आउँदै छन् र के–के गर्दैछन् भन्ने सबैको चासोको विषय बनेको छ । कानुनी झमेलामा फसेकाका कारण ज्याकलिन नेपाल आउने हुन वा होइनन् भन्ने धेरैको आशंका छ ।
आयोजक ओडीसी प्रमुख सिमान्त गुरुङका अनुसार सलमानलाई ३ करोड भारतीय पारिश्रमिकमा नेपाल ल्याउन लागिएको हो । “सलमान खानलाई हामीले भारु ३ करोड पारिश्रमिक दिएका छौं । अहिलेसम्म सबै कलाकारका लागि जम्मा भारु ६ करोडको अनुमान गरेका छौं ।” ६ करोडमा बाँकी ३ करोड भने अन्य कलाकारहरूको पारिश्रमिक हो । उनका अनुसार सलमान लगायत बलिउड कलाकारहरुलाई पारिश्रमिक पनि पठाइसकेको छ ।
सलमानभन्दा अगाडि नै सोहेल खान नेपाल आउने
बलिउड अभिनेता सोहेल खान आगामी महिना नेपाल आउने भएका छन् । उनी १३ अप्रिलमा नेपाल आउने भएका हुन् । १४ जेठमा सलमान खान कन्सर्टका लागि नेपाल आउने भएपछि त्यसको तयारी बुझ्न सोहेल पहिलै नेपाल आउन लागेका हुन् । उनले नेपाल आएर सलमानको सम्पूर्ण कार्यक्रम तय गर्नेछन् ।
सलमानको ‘द दबङ रिलोडेड टुर’ को स्क्रिप्ट र इभेन्टसमेत सोहेलको कम्पनीले हेर्दै आइरहेको छ । ‘सोहेलजी इभेन्टसँग जोडिनु भएकाले उहाँले आएर तयारी बुझ्नु हुनेछ । हामी उहाँ आएपछि १४ अप्रिलमा पत्रकार सम्मेलन गरेर तयारीबारे जानकारी दिनेछौँ,’ ओडीसी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सिमान्त गुरुङले भने ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले र बलिउड अभिनेता सलमान खानसँग भएको भर्चुअल संवादपछि सोहेल खान आउने बताइएको थियो । १४ जेठमा दशरथ रंगशालामा हुने सलमानको ‘दबङ रिलोडेड टुर’ र ‘पर्यटन प्रवद्र्धन’ बारे भर्चुअल संवाद भएको हो । सलमानले आफू नेपाल आउन उत्साहित रहेको बताएका थिए । मन्त्री आलेले सलमानलाई नेपालमा स्वागत गर्न आतुर रहेको बताएका थिए ।
मन्त्री आलेले हिन्दी भाषामै सलमानसँग कुरा गर्दै भने, ‘आपका फ्यान नेपालमे बहुत है । हम आपको स्वागत करने के लिए आतुर है ।’ उनले सलमानलाई नेपालको पर्यटन प्रवद्र्धन गर्न पनि आग्रह गरे । आलेले आफू सलमानको ठूलो फ्यान भएको र पहिलो फिल्म ‘बिबी होतो एसी’ देखि ‘तेरे नाम’ समेत हेरेको प्रतिक्रिया दिए ।
दशरथ रंगशालामा हुने ‘दबङ रिलोडेड टुर’ का लागि ओडीसी इन्टरटेनमेन्टले सलमानलाई नेपाल ल्याउन लागेको हो । ओडीसीका सिमान्त गुरुङले कार्यक्रममा ३० हजार दर्शक उपस्थित हुने बताए । कार्यक्रमका लागि पाँच हजार, १० हजार, १५ हजार र २५ हजार दरको टिकट मूल्य तोकिएको छ ।