काठमाडौं - नाबालिगमाथि बलात्कार गरेको अभियोग लागेका पल शाहविरुद्ध जिल्ला अदालत तनहुँमा मुद्दा दायर भएको छ। बालिका बलात्कार गरेको आरोपमा १४ वर्षसम्म कैद सजायको मागदाबी गर्दै उनीविरुद्ध मंगलबार मुद्दा दायर भएको हो । यसअघि उनीविरुद्ध पूर्वी नवलपरासीमा मुद्दा परेको थियो ।
तनहुँ प्रहरीले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा दायर गरेको अभियोग पत्रमा अभियुक्त शाहसँगै पीडित पक्षको पनि बयान पेस गरिएको छ ।
पीडित बालिकाले आफूसँग विवाह गर्छु भन्दै शाहले पटक-पटक जबरजस्ती करणी गरेको बयानका क्रममा बताएकी छन् ।
पीडित बालिकाले शाहका म्यानेजर कृष्ण जोशीले आफूलाई शाहसँग घुम्न जान बाध्य बनाउने गरेको र सुटिङका क्रममा कतै बास बस्दा शाहसँगै एउटै कोठामा बस्न बाध्य बनाउने गरेको बयानका क्रममा उल्लेख गरेकी छन् ।
‘मेरो सानैदेखि सांगीतिक क्षेत्रमा रुची रहेकोले गायन क्षेत्रमा प्रवेश गरेकी हुँ, सोही क्षेत्रमा रहेका प्रतिवादी पल शाह भन्ने पूर्ण विक्रम शाहसँग चिनजान भई सँगै कार्यक्रममा जाँदा, भिडियो सुटिङ गर्दा निज प्रतिवादीले मेरो केयर गर्ने र मलाई माया प्रेम गरेको विश्वासमा परेँ,’ पीडितले प्रहरीलाई दिएको बयानमा भनिएको छ, ‘हामीबीच माया/प्रेम रही आएको अवस्थामा मिति २०७७ पुस १० गते पोखरास्थित प्राइम होटलमा, २०७७ चैत ७ गते गैँडाकोटस्थित रिसोर्टमा करणी गरेका हुन् ।’
पल शाहको बयान ।
मैले मिति २०६९ सालमा कलाकारिता क्षेत्रमा प्रवेश गरी नेपाली चलचित्रमा नायकको भूमिका निर्वाह गर्दै म्युजिक भिडियोहरुमा अभिनय समेत गर्दै आएको छु। सोही क्रममा राम्रो स्वर भएकी गायिका १६ वर्षीयासँग गत असोज २२ गते काठमाडौं साँखुमा भेट भई चिनजान भएर फोन नम्बर आदान–प्रदान भएको थियो। हामीहरूबीच फोन तथा म्यासेन्जरमा कुरा हुने गर्थ्यो।
म्युजिक भिडियो सुटिङ गर्ने क्रममा हामीहरु विभिन्न स्थानमा गई बस्ने गरेका थियौं। गत वैशाख १४ गते साँझ तनहुँ दुलेगौंडास्थित प्रदीप थापाको घर कोठामा बास बसी राति अबेरसम्म बियर खाँदै पीडित र मैले म्यासेज आदानप्रदान गरेका थियौं। राति अन्दाजी ११ः४५ बजेतिर हामीले खाई बाँकी रहेको बोतलको बियर लिएर पीडित भनिएकी नाबालिग सुतेको कोठामा गई ढोका धकेली भित्र पसी बियर खान दिई फेसवास लिएर म आफ्नो कोठामा गई कमल खत्रीसँग सुतेको हुँ।
पीडित भनिएकी नबालिकाले ०७८ सालको जेठ महिनाको अन्तिमतिर मलाई फोन गरी तपाइँ र मेरो सम्बन्ध अरुले थाहा पाए। मलाई गाह्रो भयो, मेरो महिनावारी रोकियो। तपाइँले मलाई स्वीकार्नु पर्छ भन्ने समेतको शब्द म्यासेजमा मलाई प्रेसित गरेकी थिइन्। त्यसपछि ०७८ सालको असार महिनामा काठमाडौंको बानेश्वरमा पीडित, पीडितको आमा, गायन क्षेत्रका दुर्गेश थापा, सरोज ओली, योगेश काजी, मेरो म्यानेजर कृष्ण जोशी र मसमेत भई छलफल गर्ने क्रममा पीडित पक्षले मलाई पीडितलाई तिमीले विवाह गर्नुपर्छ भनेकाले मैले पीडितको उमेर पुगेपछि विवाह गरौंला, अहिले केटीको उमेर पुगेको छैन भनेको थिएँ। पीडित १८ वर्षभन्दा कम उमेर नाबालिका हुन भन्ने कुरा मलाई पूर्णरूपमा थाहा जानकारी थियो।
पीडित पक्षले पेस गरेको अडियो रेकर्डमा भएको स्वरमध्ये गर्लफ्रेन्ड-ब्वाई फ्रेन्डबीच हुनु भनेको नर्मल (सामान्य) हो भन्ने समेतका शब्दहरू रहेको आवाज मेरो आफ्नै हो।
कृष्ण जोशीको बयान
मैले पल शाह भन्ने पूर्णविक्रम शाहसँग मासिक २५ हजार तलब लिई म्यानेजरको रूपमा काम गर्दै आएको थिए। फिल्म, गीत, संगीत र विज्ञापन तथा स्टेज कार्यक्रममा शाह सहभागी हुने तथा अभिनय गर्न रकम, कार्यक्रम र समय निर्धारण गर्ने तथा सुटिङको क्रममा विभिन्न स्थानमा जाँदा सुटिङ टिमलाई बास बस्ने व्यवस्था मिलाउने समेतको जिम्मेवारी निर्वाह गर्दै आएको थिएँ।
शाहसँग अधिकांश समय सँगै हुने हुँदा पीडित नाबालिका र प्रतिवादीबीच प्रेम सम्बन्ध रहेको कुरा मलाई थाहा थियो। शाहसँग मेरो मनमुटाव भएपछि मलाई म्यानेजरको जिम्मेवारीबाट हटाएका थिए। २०७८ सालको असार अन्तिम हप्तातिर पीडित भनिएकी नाबालिगकले मलाई सम्पर्क गरी पूर्णविक्रम शाहले मलाई नराम्रो व्यवहार गरेको र वास्ता गर्न छाडेको बताएकी थिइन्। म लगायतले पीडित र प्रतिवादी पूर्णविक्रम शाहलाई बुझ्दा नाबालिकाले आफूलाई पूर्णविक्रम शाहले माया प्रेम गरेको विश्वासमा पारी पटक पटक जबर्जस्ती करणी गरेका कारण म पीडामा छु भनेकी थिइन्।
प्रतिवादी पूर्णविक्रम शाहले गर्लफ्रेण्ड, ब्वाईफ्रेण्डबीचको अन्डरस्टान्डिङमा भयो हैन, तै पनि हामीसँगै हुँदा केही भयो होला स्वीकार्नै पर्छ, बिहे नै गर्नैपर्छ भन्न चाहिँ मिल्दैन भन्ने शब्दहरु बोलेका थिए।प्रतिवादी पूर्णविक्रम शाह र पीडित नाबालिकाको सम्बन्ध बाहिरिँदै मिडियाहरुमा आएपछि प्रतिवादी पूर्णविक्रम शाहले मलाई सम्पर्क गरी अब तिमीले मलाई सहयोग गर्नु पर्यो भन्दै मलाई मासिक तलबमा वृद्धि गरी दोब्बर ५० हजार रुपैयाँ तलब समेत दिई पुनः म्यानेजरको जिम्मेवारी दिएका थिए।
त्यसपछि मैले पीडित नाबालिकालाई तिमीहरू एउटै क्षेत्रमा काम गर्ने हुँदा मिलेर जाउँ, भविष्य राम्रो हुन्छ भनेको हुँ। तर, पीडित पक्षले प्रहरीमा उजुरी गर्छु भनेकाले मैले दुर्गा अधिकारीलाई पीडित नाबालिका के गर्छिन्, कसो गर्छिन् हामीलाई खबर गर तिमीलाई मैले गीतसंगीतमा सहयोग गर्छ भनेको थिएँ। तर, दुर्गा अधिकारीले भने अनुसार काम नगरेकीले उनलाई धम्कीपूर्ण म्यासेज पठाएको थिएँ। दुर्गाले पेस गरेको म्यासेज मैले पठाएको म्यासेज हो। देखी चिनेर सनाखत गरेँ। मैले पीडितलाई सम्झाउने क्रममा मलाई मान्छे मार्न केही जस्तो लाग्दैन भन्ने शब्दहरु प्रयोग गरेको हुँ।
दुर्गेश थापाको बयान
पीडित नाबालिगले सबै प्रकारको गीतहरु गाउने गरेकी र प्रतिवादी पल शाह भनिने पूर्णविक्रमले नेपाली फिल्म लगायत म्यूजिक भिडियोहरु खेल्ने हुँदा हामी एकै ग्रुपमा काम गर्दै आएका थियौं।
बागलुङ गलकोटिस्थित विद्यालयको सांस्कृतिक कार्यक्रममा सहभागी हुन ०७७ चैत ३१ गते पीडित नाबालिका, पल, अन्य साथीहरु कृष्ण जोशी, सम्राट चौँलागाई, योगेश काजी र म समेतका कलाकारहरु एउटै गाडीमा सवार थियौं। गाडीमा सँगै जाने तथा फर्कने क्रममा मैले नै चलाएको थिएँ। प्रतिवादी पल शाह र पीडित नाबालिगा दुवै त्यतिबेला सँगै एउटै सिटमा बसेका थिए।
त्यस्तै राति प्रदीप थापाको घर बास बसेको अवस्थामा प्रतिवादी पलले पीडित नाबालिकालाई विवाह गर्ने आश्वासन देखाई जर्बजस्ती करणी गरेको भन्ने कुरा थाहा पछि थाहा हुन आयो। ०७८ असार २३ गते काठमाडौंको अनामनगरमा हामी भेला भई पीडितलाई न्यायको लागि अगाडि बढ्न सुझाव दिएका थियौं।