नेपाली काँग्रेसको शीर्ष तहमा प्रधानन्यायाधीश चोलेन्द्र जबराका सन्दर्भमा छलफल भएको छ । मंगलबार अपरान्ह काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको शीर्ष नेताको बैठकमा प्रधानन्यायाधीश जबराबारे सामान्य छलफल भएको हो ।
काँग्रेस उपसभापति विमलेन्द्र निधिले प्रधानन्यायाधीशबारे पार्टीको धारणा के हो भनेर प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवालाई सोधेका थिए । बैठकमा सहभागी एक नेताका अनुसार प्रधानमन्त्री देउवा प्रधानन्यायाधीशकै पक्षमा देखिएका छन् ।
‘उहाँ (प्रधानन्यायाधीश) ले राजीनामा दिन्नँ भन्नुभएको छ । हामी प्रधानन्यायाधीशमाथि महाभियोगको पक्षमा छैनौं । नेपाली काँग्रेस यो बाटोमा जाँदैन,’ एक नेताले देउवाको भनाइ उद्यृत गर्दै भने ।
काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि प्रधानन्यायाधीशबारे सभापति देउवाकै लाइनमा देखिएका छन् । न्यायालयको मामिलामा काँग्रेसले हस्तक्षेप नगर्ने पौडेलको भनाइ छ । न्यायालयमा असहज परिस्थिति बनेको भन्दै न्यायालयको आन्तरिक मामिलामा काँग्रेस प्रवेश नगर्ने पौडेलले बताए ।
यता काँग्रेसमा शीर्ष नेताहरु उपसभापति विमलेन्द्र निधि, नेता प्रकाशमान सिंह शेखर कोइराला भने राजीनामा नदिए प्रधानन्यायाधीश जबरालाई पदच्युत गर्नुपर्ने पक्षमा छन् ।
जबराको नेतृत्वमा न्यायपालिका कार्य सम्पादन गर्ने अवस्थामा नरहेको कोइरालाको भनाइ छ । अब उहाँ (चोलेन्द्र जबरा) नै प्रधानन्यायाधीश भएर कार्य सम्पादन गर्ने अवस्था छैन, त्यसैले उहाँको राजीनामाको विकल्प छैन,’ उनको भनाइ छ ।
राजीनामा दिन विलम्ब गरेर आफू अझ विवादास्पद बन्नुभन्दा तत्काल राजीनामा दिएर नैतिक मूल्य कायम गर्नु प्रधानन्यायाधीश जबरालाई कोइरालाको आग्रह छ ।