काठमाडाैं । पल शाहविरुद्ध जाहेरी परेसँगै उनका फ्यानहरुको तारो बनिरहेका दुई पात्र हुन् गायक दुर्गेश थापा र संगीतकार सरोज वली । उनीहरुले नाबालिग गायिकालाई उक्साएर पलविरुद्ध षडयन्त्र रचेको भन्दै फ्यानहरु आक्रोशित छन् ।
आफू पक्राउ पर्नुअघि पल स्वयमले दुर्गेश र सरोज लगायतलाई आरोपित गरेका थिए । उनीहरुले आफूविरुद्ध षडयन्त्र रचेको प्रमाण भन्दै पलले केही अडियोहरु पनि सार्वजनिक गरेका थिए । उक्त अडियोमा दुर्गेश, सरोज लगायतले नाबालिग गायिकासँग कसरी पललाई विहेका लागि वाध्य पार्ने भनेर रणनीति बनाइरहेका सुनिन्छन् ।
पल पक्राउ परेसँगै प्रहरी अनुसन्धानमा सरोज र दुर्गेश पनि स्वभाविकरुपमा तानिए । यद्यपि, उनीहरु दुवैसँग प्रहरीले बयान लियो । तर, दुवैले घटनाबारे कुनै नयाँ रहस्योद्घाटन गरेका छैनन् । नाबालिगले सुनाएका आधारमा मात्रै आफूहरुले न्यायका लागि लड्न सल्लाह दिएको भनाइ उनीहरुको छ ।
नवलपुर जिल्ला अदालतमा सरकारी वकिलको कार्यालयले दायर गरेको अभियोगपत्रमा सरोज र दुर्गेशको बयान पनि समेटिएको छ । उक्त बयानमा उनीहरुले जबरजस्ति करणी र आर्थिक बार्गेनिङ लगायतका विषयमा जानकारी नरहेको बताएका छन् ।
‘तामा पितलु’ गीतको सुटिङपछि आफू लगायतको सुटिङ युनिट गैंडाकोट रिसोर्टमा आएको र दिनभरको कामले थाकेको हुँदा आफू सरासर कोठामा गई सुतेको दुर्गेशले बताएका छन् । उनको भनाइ अनुसार गायिका आफूलाई बुकिङ गरेको कोठामा सुत्न गएकी थिइन् भने पल लायतका व्यक्तिहरु मादक पदार्थ सेवन गरी बाहिर बसिरहेका थिए ।
‘निजहरु कुन कोठामा सुते मलाई थाहा भएन,’ दुर्गेशले भनेका छन् ।
अर्को दिन काम विशेषले आफू काठमाडौं फर्किएको उनले बताएका छन् । आफूलाई पलका म्यानेजर बताउने कृष्ण जोशीले प्रतिवादी र पीडितको सम्वन्धको बारेमा जानकारी गराएको उनको भनाइ छ । पीडितले पनि जबरजस्ति करणी गरेको भनि बताएको हुँदा आफू लगायत सम्राट चौलागाईं, सरोज वली, योगेश काजी लगायतले कानूनी कारवाहीको सुझाव दिएको दुर्गेशले बताएका छन् ।
‘अन्य आर्थिक कुराको बार्गेनिङका बारेमा मलाई केही जानकारी भएन,’ उनलाई उद्वृत गर्दै अभियोगपत्रमा भनिएको छ ।
यस्तै सरोज ओलीले पनि प्रतिवादी तथा पीडितको सम्बन्धको विषयमा आफूलाई कृष्ण जोशीले नै बताएको उल्लेख गरेका छन् ।
‘पीडित गायिका डिप्रेसनमा गएको र मर्छ भनेर कृष्ण जोशीले मलाई २०७८ सालको असारमा बताएका थिए,’ उनले भनेका छन् । पछि पिडितले पनि आफूहरुसँग प्रतिवादीले यौन शोषण र ह्यारेसमेन्ट गरेको बताएको सरोजले जानकारी दिएका छन् ।
‘प्रतिवादीले पीडितलाई वास्ता नगरेपछि पीडित रुंदै हिँडेको र पीडितलाई बिभिन्न वहाना बनाई गाली गरेर बेईजत गर्दिन्छु भनि ह्यारेशमेन्ट समेत गर्दा रहेछन्,’ वलीले भनेका छन्, ‘पछि पीडितले सहन नसकी आफ्ना साथीहरुलाई उक्त पीडा सुनाएकी रहेछिन ।’
त्यसपछि आफूहरुले कानूनी कारवाही गर्दा राम्रो हुन्छ भनि सल्लाह दिएको सरोजको भनाइ छ ।