रूसको सरकार टेलिभिजनमा समाचार बजिरहेका बेला स्टुडियोभित्र पसेर युद्धविरोधी प्लेकार्ड देखाउने कर्मचारीलाई १४ घन्टासम्म सोधपुछ गरिएको छ।
मस्कोस्थित एक अदालतले उनलाई २७३ अमेरिकी डलर बराबरको पैसा जरिवाना तिराएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ।
सोमबार राति रूसी सरकारी स्वामित्वको टेलिभिजन च्यानल वानमा समाचार प्रसारण भइरहेका बेला एक जना महिलाले स्टुडियोभित्र छिरेर युद्धविरोध प्लेकार्ड देखाएकी थिइन्।
च्यानल वानकी सम्पादक रहेकी मरिना ओभ्स्याननिकोभाले लाखौं रूसी नागरिकले हेर्ने उक्त समाचारका क्रममा ‘युद्ध रोक, युद्ध चाहिँदैन, यी प्रोपोगान्डामा विश्वास नगर्नुस्, यिनीहरूले झुट बोलिरहेका छन्। रूसी जनता युद्धको विपक्षमा छन्’ लेखिएको प्लेकार्ड देखाएकी थिइन्। मरिना स्टुडियोभित्र पसेर प्लेकार्ड देखाएपछि समाचार वाचिकाले चर्को स्वरमा समाचार पढेकी थिइन्।
केही सेकेन्डसम्म मरिनाले प्लेकार्ड देखाएपछि टेलिभिजनमा अर्को रेकर्डेड सामग्री बजाइएको थियो। समाचारको बीचमा स्टुडियोभित्र छिरेकी मरिनालाई पक्राउ गरिएको थियो।
पक्राउ परेकी उनले दुई दिनसम्म आफूले सुत्न नपाएको बताएकी छन्। मिडियाजोना अनलाइनले सार्वजनिक गरेको अदालतबाहिरको मरिनाको भिडिओमा उनले आफूलाई आफन्त र वकिलहरूसँग भेट्न पनि नदिएको बताएकी छन्।
उनीलाई तिराइएको जरिवानामा समाचार बज्दाबज्दै स्टुडियोमा छिरेको अभियोगमा होइन। टेलिभिजन समाचारमा प्लेकार्ड देखाउनुअघि उनले एउटा भिडिओ रेकर्ड गरेकी थिइन्।
मानव अधिकारवादी मिडिया प्रोजेक्ट ओभिडी इन्फोबाट त्यो प्रसारण भएको थियो। उक्त भिडिओमा मरिनालाई वर्षौंदेखि रूसी प्रोपोगान्डा प्रसारण गर्दागर्दै आफू दिक्क भइसकेको बताएकी छन्।
युक्रेनी झन्डासँग मिल्ने निलो र पहेँलो रङको नेकलेस लगाएकी मरिनाले उक्त भिडिओमा आफ्नीमा आमा युक्रेनी र बुवा रूसी भएको बताउँछन्। लामो समयदेखि आफूहरूले अमानवीय शासन व्यहोरिरहेको भए पनि अहिले रूसी आक्रमणको संसारले विरोध गरेको उनले बताएकी छन्।
उनले रूसी नागरिकलाई यो आक्रमणको विरोधमा उत्रिन पनि आह्वान गरेकी छन्।