काठमाडाैं । इजरायलमा प्यालेस्टिनी विद्रोही समूह हमासले गरेको आक्रमणमा मृत्यु हुनेकाे सङ्ख्या चार सय जनाभन्दा धेरै पुगेको छ । हमासले हिजो शनिवारदेखि शुरु गरेको आक्रमणमा इजरायलमा चार सय जनाभन्दा धेरैको मृत्यु भएकाे इजरायली अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
यस्तै, दुई हजार जनाभन्दा धेरै घाइते भएका छन् । कैयौँ इजरायलीलाई हमास विद्रोहीले बन्धक बनाएका छन् । इजरायली सेनाले पनि जवाफी कारबाहीमा चार सय जनाभन्दा धेरै विद्रोही मारिएकाे बताएको छ ।
हिजो बिहान हमास विद्रोहीले इजरायलमा एक्कासी आक्रमण गरेपछि शुरु भएको युद्ध अहिले पनि चलिरहेको छ । दुवै पक्षबाट क्षेप्यास्त्र प्रहारसहित स्थलमार्गबाट गोलावारी भइरहेको बीबीसीले जनाएको छ ।
यसैबीच, इजरायली सेनाले गाजाको सीमा नजिकका शहरहरूमा बस्ने सबै बासिन्दालाई आउँदो २४ घण्टाभित्र अन्यत्र सार्ने बताएको छ । प्यालेस्टिनी लडाकु समूह हमास रहेको क्षेत्रमा आफ्नो आक्रमणलाई तीव्र पार्ने क्रममा सीमा नजिकका क्षेत्रहरू खाली गर्न लागेको सेनाले जनाएको हाे ।
यस्तै, हिजबुल्लाह समूहले तीन वटा इजरायली चौकीमा रकेट आक्रमण गरेपछि इजरायली सेनाले लेबनानमा पनि आक्रमण शुरु गरेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।