काठमाडौं । युरोपेली मुलुक पोल्यान्डमा पहिलोपटक ‘नेपाल फेस्टिबल–२०२६’ हुँदै छ । पोल्यान्डको पोजनान सहरमा आगामी जुलाई ११ मा यो फेस्टिबल आयोजना हुन लागेको हो ।
हामी नेपाली ग्लोबल पोल्यान्ड शाखाको आयोजनामा पोजनानस्थित इम्पेरियल क्यासलमा हुने महोत्सव आगामी शनिबार ११ः३० बजेदेखि सुरु हुने आयोजकले जनाएका छन् ।
आयोजकका अनुसार, महोत्सव पोल्यान्ड समेत कार्यक्षेत्र रहेको जर्मनीका लागि नेपाली कार्यवाहक राजदूत सागरप्रसाद फुयालको प्रमुख आतिथ्यमा हुनेछ । साथै, पोल्यान्ड सरकारको कल्चरल डिपार्टमेन्ट, नेपाल चेम्बर अफ कमर्सलगायत विभिन्न संस्थाका प्रतिनिधिलाई कार्यक्रममा आमन्त्रण गरिएको छ ।
nabil
कार्यक्रममा नेपाली झण्डासहित सहभागी भइदिन पोल्यान्डमा रहेका नेपालीलाई आयोजकले आग्रह गरेका छन् । आयोजक संस्था हामी नेपाली ग्लोबल पोल्यान्डका अध्यक्ष शान्ति श्रेष्ठका अनुसार, कार्यक्रम दुई चरणमा हुनेछ । पहिलो, पोजनानको मार्चिन ८०/८२ को सेन्त्रुम कुल्टुरे जामेखमा उपस्थित भई नेपालको झण्डासहित मौलिक संस्कृति झल्काउने सांस्कृतिक नृत्य, झाँकी, संगीत, परम्परागत पोसाकमा सहरका मुख्य चोकको परिक्रमा गरिनेछ ।
दोस्रो चरणमा इम्पेरियल कल्चरल सेन्टरको मुख्य हलमा दिउँसो १ः ३० मा कार्यवाहक राजदूत तथा पोल्यान्डका सरकारी निकायका प्रतिनिधिहरू लगायतका सहभागितामा औपचारिक कार्यक्रम हुनेछ ।
“नेपाल संस्कृतिको धनी देश हो । महोत्सवमार्फत पोलिस नागरिकलाई नेपालको सांस्कृतिक विविधता र मौलिक पहिचानसँग परिचित गराउने तथा नेपालको भ्रमण गर्न प्रोत्साहित गर्ने लक्ष्य राखिएको छ,” अध्यक्ष श्रेष्ठले बताइन् ।
कार्यक्रम संयोजक भविन्द्र गाहा मगर (भविन)ले महोत्सवलाई सफल बनाउनका लागि विभिन्न उपसमिति बनाएर तयारी भइरहेको बताए । “यो महोत्सव मिनी नेपाल जस्तो देखाउने हाम्रो चाहना हो,” संयोजक गाहा मगरले भने ।
हामी नेपाली ग्लोबल पोल्यान्ड शाखा पोल्यान्डको सरकारी निकायमा दर्ता भएका थोरै संस्थामध्ये एक हो । यो संस्था सन् २०२१ मा पोल्यान्डको केआरएसमा दर्ता भएर आफ्नो सामाजिक कार्य गर्दे आएको छ ।