नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले परमादेश दिने सर्वोच्च अदालतका पाँचै जना न्यायाधीशहरूले राजीनामा दिनुपर्ने बताएका छन्।
परमादेश जारी गर्ने सबैले राजीनामा दिनुपर्ने उनको भनाइ छ।
आज एमालेको पालिका अधिवेशनलाई भर्चुअल रूपमा सम्बोधन गर्दै ओलीले परमादेशबाट सरकार बनेपछि अदालतमा पनि समस्या देखिएको बताए।
‘परमादेशबाट सरकार गठन भएपछि सर्वोच्च अदालतमा समस्या देखिएको छ। न्यायाधीशहरूले क-कसले के गर्नुभएको थियो, अलि खुलेको छ,’ उनले भने।
उनले एक जनाले मात्र नभई परमादेश दिनेहरूले राजीनामा दिनुपर्ने बताएका थिए।
सरकारमा भाग खोजेको भन्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले राजीनामा दिनुपर्ने माग भइरहेको छ। यसबारे राजनीतिक दलका नेताहरू सोमबारसम्म मौन थिए।
तर आज ओलीले एक जनाले मात्र नभई परमादेश दिने पाँचै जनाले राजीनामा दिनुपर्ने बताए।
‘एक जनाले मात्र होइन परमादेश दिने पाँचै जनाले सर्वसम्मत फैसला गरेको होइन? एक जनाले मात्रै राजीनामा गर्ने? पाँचै जनाले राजीनामा गर्ने होइन?,’ उनले भने।