
काठमाडौँ ।
बाढीपिडितको सहयोगका लागि नेपाली फिल्म ‘साइनो’ च्यारिटी शो हुने भएको छ । आस्था आट्र्स एकेडेमी र लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं लिडरशिप फर चेन्जले बाढी पिडितको सहयोगार्थ च्यारिटी गर्न लागेको हो ।
च्यारिटी शोमा बुढानिलकण्ठ नगरपालिका र गोकर्णेश्वर नगरपालिका सहित केयू सिटी कलेज र भीएस कलेजको सपोर्ट रहने छ ।
चाबहिल चुच्चेपाटी स्थित केएल टावरमा यहि श्रावण २२ गते बुधबार बेलुका ५ बजे हुन लागेको उक्त च्यारिटी शोमा सहभागी हुनको लागि आस्था आर्ट एकेडेमीका अध्यक्ष एवं लायन्स क्लब अफ काठमाडौं लिडरशिप फर चेन्जका चार्टर प्रेसिडेन्ट लायन राजन श्रेष्ठले अनुरोध गरेका छन् ।

आस्था आर्ट एकेडेमीका बोर्ड मेम्बर एवं उक्त च्यारिटी सो कार्यक्रमका संयोजक समेत रहेका सीताराम बिष्टले सो च्यारिटीमा सहभागी हुनको लागि रु एक हजार टिकट शुल्क राखिएको जानकारी दिदै उक्त च्यारिटी शोबाट संकलित रकम बाढीपिढितको सहयोगार्थ खर्च गरिने पनि बताए ।
उनले उक्त च्यारिटी शोमा सहभागी भइ पबित्र उदेश्य सहित गर्न लागिएको कार्यक्रम सफल पार्नको लागि सबैलाई अनुरोध गरेका छन् । थप जानकारीको लागि ९९८५११७७७८३० मा सम्पर्क गर्न सकिने छ।
त्रिकोणात्मक सामाजिक प्रेमकथामा आधारित उक्त फिल्म २०२२ सालमा नेपालमा बनेको पहिलो फिल्म ‘आमा’की नायिका भुवन चन्द थापाले निर्माण गरेकी हुन् ।
फिल्ममा नायिका नीता ढुंगाना, मिरुना मगर, राजकुमार, भुवन चन्द, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, रोयदीप श्रेष्ठ, धमेन्द्र आचार्य, विशाल पहाडी, वसुकला मैनाली लगायतका कलाकारहरूको अभिनय रहेको छ। शरण थापा कार्यकारी निर्माता रहेको फिल्ममा अभिमन्यू निरबीको लेखन, रामेश्वर कार्कीको छायांकन, वनिष शाहको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी र रोशनविक्रम भट्टराईको द्वन्द रहेको छ ।