आजको दिन अर्थात २०७७ साल आषाढ २१ गते गुरु पूर्णिमा । गुरु शब्दको शाब्दिक अर्थ मन्त्र सुनाउने वा दीक्षा दिने व्यक्ति, आचार्य, शिक्षक, अध्यापक, उस्तादलाई गुरु भनि परिभाषित गरिएको छ । आम प्रचलनमा गाडीचालक (ड्रइभर)लाई पनि गुरुजी भनि सम्बोधन गर्ने गरिएको पाईन्छ । गुरु पूर्णिमा, गुरुलाई पूजा वा श्रद्धा गरिने दिन । यस बर्ष आज आषाढ २१ गते आषाढ शुक्ल पूर्णिमा परेको छ । त्यसैले आजको दिन हामी गुरु पूर्णिमा मनाई रहेका छौं ।
प्राचीन कालमा गुरुको आश्रममा विद्यार्थीहरु पढ्न जाने गर्दथे वा गुरुले पढाउने ठाउँ आश्रम थियो । यो आश्रमलाई गुरुकुल भनियो । अर्थात आधुनिक शिक्षालय, विद्यालय, स्कूल को परिकल्पना हुनुभन्दा पहिला गरुहरुले शिक्षा दिने शिक्षालय गुरुकुल थियो । प्रारम्भमा ऋषिमुनीहरुनै अध्यापक अर्थात गुरु, शिक्षक थिए । तत्कालिन राजामहाराजाहरु र तिनका छोराछोरीहरु र स्वयं गुरु पौत्रपुत्रीहरु शिक्षा आर्जनका लागि गुरुको आश्रममा गएर शिक्षा लिने गर्दथे । यो कालखण्डमा शिक्षार्थीहरु शिक्षादीक्षा पूर्ण नभएसम्म गुरु आश्रम अर्थात गुरुकुलमा नै बसेर शिक्षा प्राप्त गर्ने प्रचलन थियो । आधुनिक शिक्षाको प्रादुर्भाव संगै गुरुकुल अहिलेको विद्यालय (स्कूल) बन्न पुग्यो भने आश्रममा बसेर पढ्ने प्रचल अहिलेको विद्यालयहरुका होस्टल (निवास)मा रुपान्तरित भए ।
शिद्धार्थ गौतम अर्थात भगवान गौतम बुद्धले यसै दिन आषाढ शुक्ल पूर्णिमाकै दिन सारनाथमा आफ्ना अनुयायी र भिक्षुहरुलाई पहिलो उपदेश दिनु भएको थियो भन्ने मान्यता रही आएको छ । गौतम बुद्धले उपदेश दिने क्रमसंगै यस समुदायका व्यक्तिहरुले आफ्ना गुरु भगवान गौतम बुद्धलाई सम्मान गर्ने दिनको रुपमा यस दिनलाई प्रचलनमा ल्याएको पाईन्छ । हिन्दुहरुले व्यास ऋषिलाई सम्मान गर्ने दिनका रुपमा पनि यसै दिनलाई चयन गरेको पाईन्छ । यसैले यस दिनलाई व्यास पूर्णिमा भन्ने चलन पनि चलिआएको छ । आफ्ना मातापिता र शिक्षादिक्षा, ज्ञान प्रदान गर्ने, आफ्ना शिक्षक तथा गुरुबाट आर्शिबाद लिने दिनको रुपमा गुरु पूर्णिमा मनाउने गरिँदै आएको छ । थुप्रै मानिसहरुले यस दिनलाई यौगिक साधना तथा ध्यान गर्ने दिनका रुपमा पनि लिने गरेका छन् ।
ब्यक्तिले आफ्नो शिक्षक (गुरु)को मार्ग दर्शनबाटै सफलता प्राप्त गर्दछ । सबै प्रकारका ज्ञान वा शिप प्रदान (दान) गर्ने शिक्षक गुरुहुन सक्छन् । शीप जीवन जिउने माध्यम हो । कला र गला नभएको मानिसले समाजमा गरिखान सक्दैन भन्ने सामाजिक मान्यता रहेको छ । कला भनेको शीप हो । जिवन उपयोगी शिक्षा नै शीप हो । जसले कला अर्थात शीप जानेको छ, उसले आफ्नो शीप वा कला देश देशान्तरमा प्रस्तुत गरेर आफ्नो जीवन सार्थक बनाउँछ । सामाजिक मान्यता अनुसार यहाँ गला भनि कलालाई प्रस्तुत गर्न खोजिएको हो । सरल भाषमा गला भनिएता पनि गला भनेको कला हो गीत वा संगीतको प्रस्तुति गलाको माध्यमबाट हुन्छ । त्यसैले मानिसमा शीपको रुपमा कला र गला चाहिन्छ भन्ने मान्यता रहेको पाईन्छ । मानिसमा रहेको भय र अज्ञानतालाई चिरेर सार्थक जीवन जिउन सिकाउने शिक्षा प्रदान गर्ने गुरु, शिक्षक समाजका पुजनिय ब्यक्ति हुन । हाम्रो समाजले सदियौ देखि गुरु वा शिक्षकलाई यही अर्थमा उच्च सम्मान प्रदान गरेको छ ।
आधुनिक समाजमा आधुनिक शिक्षाको छायाँमा हाम्रो सभ्यता र संस्कृति ओझेल परेको छ । एउटा शिशु आमाको हातको औंला समातेर हिड्न सिकेझै आधुनिक संसारिक भिडमा एउटा ब्यक्ति सफल बन्न कुनै एक आदर्श पुरुष, भगवान, गुरु वा शिक्षक कसैलाई अवैतनिक गुरु करार गरेर अघि बडन सक्छ । जसको हरदम सम्झना, वहाँको आदर्श, प्रेरणा र मार्ग दर्शनले आफ्नो जीवन सार्थक बनाउन सदैब प्रेरणा प्राप्त हुन्छ । अहिलेको छाडा संस्कृतिको बिगबिगिमा हाम्रा विद्यार्थीहरु बहकिएका छन् । हाम्रा मुल्य मान्यताहरु क्षय हुँदै गएका छन् । बिकृति र बिसङ्गतिले हाम्रो संस्कार र संस्कृतिलाई ध्वस्त बनाएको छ । नव युवाहरुमा छाडा संस्कृतिले नशाको रुप धारण गरेको छ । गुरुलाई आदर्श ठानि अघि बढेको अवस्थामा व्यक्तिको जीवन सकारात्मक दिशा तर्फ उन्मूख हुन्छ । यस दिशा तर्फ डोर्याउने आँगन अहिले विद्यालय भएको छ । आधुनिक शिक्षा प्रदान गर्ने विद्यालयहरुले पनि यस परम्परालाई विद्यार्थी माँझ स्थापित गर्न आफ्नो गच्छे अनुसार गुरु पूर्णिमाको उत्सब मनाउने प्रचल रहिआएको छ । गुरुलाई आदर गर्ने यो परम्पराले आफुलाई ज्ञान वा शिक्षा दिने गुरुप्रति श्रद्धा गर्न सिकाएको छ । गुरु शब्द जसले हामीलाई अज्ञानताको अध्यारोबाट निकालेर ज्ञान र जागरुकताको मार्ग तर्फ डो¥याउँछ । यस्ता गुरु, शिक्षकको सेवा वा श्रद्धा गर्नु सबैको परम कर्तब्य हुन आउँछ । हाम्रो संस्कृतिमा गुरु एक ब्यक्ति मात्र नभएर एक संरक्षक पनि हो । जसको सत्कर्मले व्यक्तिको सबै भय वा अज्ञानता बाहिर निकाल्ने कार्य गर्दछ । त्यसैले नीति शास्त्रमा बर्णन गरिएको छ । “गुरुर ब्रह्मा, गुरुर बिष्णु, गुरु देवो महेश्वरा । गुरु साक्षात् परब्रह्म, तस्मै श्री गुरवे नमः ।।” अर्थात गुरुलाई ब्रह्मा, बिष्णु, महेश्वर भन्दा माथि साक्षत परब्रह्म हुन । त्यसैले नमन गर्नु हामी सबैको कर्तब्य हो भनि ब्याख्या गरिएको छ ।
यस बर्ष विद्यालयहरुमा प्रत्यक्ष रुपमा गुरु अर्थात शिक्षक र विद्यार्थीहरुको भेट हुने छैन । कोरोना महामाब्याधिका कारण बिगत चार महिना देखि विद्यार्थीहरुले विद्यालय देख्न पाएका छैनन् । चार महिना देखि घरमा नै बसेका विद्यार्थीहरुको शैक्षिक क्रियाकलाप अवरुद्ध मात्र भएको छैन उनीहरुको उमेर समुहमा मिलेर खेल्ने, मनका भावनाहरु साट्ने र उन्मुक्त वातावरणमा रमाउने उनीहरुको दिनचर्या खोसिएको छ । घरको सिमित घेरामा गुम्सिएर बस्नुपर्दाको पिडा विद्यार्थीले अभिब्यक्त गर्न सक्ने अवस्था छैन । यो नियति अझै कहिले सम्म उनीहरुले ब्यहोर्नुपर्ने हो ? थाहा छैन् । विद्यालयमा हुने नियमित क्रियाकलापमा सहभागिता जनाउँदै बेलामौकामा आउने अन्य कार्यक्रमहरुले उनीहरुमा थपिने उत्साहबाट पनि लाखौं विद्यार्थीहरु बञ्चित भएका छन् । यस बर्ष सम्पूर्ण विद्यार्थीहरु गुरु पूर्णिमाको अवसरमा विद्यालयहरुमा गरिने कार्यक्रमबाट बञ्चित हुने नै छन् । यो दिन गुरु, शिक्षक प्रति समर्पित दिन हो । मानव जीवनको मूल्य र जीवन जीउन उत्प्रेरणा प्रदान गर्ने दिनको रुपमा प्राचिन काल देखिनै यस दिनलाई मानिदै आएको छ । यो दिनलाई ज्ञान र शिक्षा प्रदान गर्ने गुरुको सम्मान संग जोडिएको कारणले पनि गुरु पूर्णिमाको महत्व रहेको छ । गुरु, शिक्षक जसले हाम्रो जिवनको मूल्यवान समयलाई यथार्थपरक ढंगले जिउन लायक बनाउने गर्नुहुन्छ । यस्ता गुरु, शिक्षक सबैमा यस बर्षको बन्द विद्यालय र गुरु पूर्णिमाको अवसरमा श्रद्धासुमन ।
पारसमणि दाहाल
उप महासचिब
नेसनल प्याव्सन, केन्द्रिय समिति
Email: [email protected]