तपाईँले यसोधराको तस्विर देख्नुभएको छ ? राधा–कृष्ण जस्तै बुद्ध–यसोधराको कतै तस्विर भेटिन्छ ? राधाकृष्णको जस्तै बुद्ध–यसोधराको चर्चा हुन्छ ? श्रद्धा हुन्छ ?
मेरो मनमा सधैँ यस्ता केही प्रश्न उठिरहन्छन् । वास्तवमा यसोधराबारे चर्चा नै हुन्न । धेरैलाई त यसोधराको परिचय पनि थाहा छैन । के बुद्धको जीवनमा यसोधराको कुनै योगदान थिएन ? के यसोधरामा कुनै स्मरण योग्य गुणहरु थिएन त ?
यसोधरा किन यसरी हराइन आउनुहोस एक छिन उनलाई खोज्ने यत्न गरौँ ।
शिशु राहुललाई छोडेर हठात सिद्धार्थ गौतमले मध्यरातमा दरबार छोडे । भियतनामका विश्वप्रसिद्ध लेखक एवं भिक्षु थिक न्यात हान आफ्नो पुस्तक Old Path White Cloud मा लेख्छन् कि उनीहरु विच यसबारे चर्चा हुन्थ्यो । मोक्षको लागि सिद्धार्थले दरबार छाड्दैछन् भन्ने कुरा यसोधरालाई थाहा थियो । र, जुन दिन सिद्धार्थले दरबार छोडे त्यो दिन उनका लागि सबै बस्त्रहरु स्वयं यसोधराले नै तयार पारेर राखिदिएकी थिइन । जब सिद्धार्थ दरबारबाट निस्कन तयार भए उनी यसोधरा सुतिरहेको कोठामा गए । झ्याल पट्टी पर्खेर यसोधरा सुतिरहेकी थिइन । सिद्धार्थले उनलाई हेरे । फनक्क फर्केर हिडेँ । त्यसबेला यसोधरा निदाइरहेकी थिइन या थिइनन् त्यसबारे केही तथ्य भेटिदैनन् । शोधकर्ता भन्छन् कि उनी निदाएकी थिइनन् । सिद्धार्थको यात्रामा बाधा नपरोस भनेर उनी निदाएकी नाटक मात्र गरिन । सिद्धार्थ हिड्न लागेको सबै कुराहरु उनलाई थाहा थियो भन्ने मत पाइन्छ ।
सिद्धार्थ हिडेको भोलिपल्ट दरबार आँशुमय बन्यो । यसोधरा आँशुलाई लुकाएर गहिरो मौनतामा डुबेकी थिइन । सिद्धार्थको बारेमा नानाथरी कुरा भए । यसोधराले कुनै प्रतिक्रिया जनाइनन् । सानो छोरोलाई हुर्काउने अभिभारालाई सम्झेर होला उनी प्राय मौन हुन्थिन ।
समय वित्दै गयो । कतैबाट उनले सुनिन कि सिद्धार्थ गौतम सबै बस्त्रहरु फाली कपाल खौरेर एक छाक मात्र खाइ, पातहरु ओछ्याएर सुत्ने गर्छन । उनले पनि तत्काल यता दरबारमा त्यसै गरिन । आफ्ना सबै आभुषणहरु फालेर सामन्य बस्त्रमा एकछाक मात्र खाइ भुइँमा सुत्न थालिन । सिद्धार्थका एक एक साधना र दुःखलाई यसोधराले गहिरो गरी परानुभूत गरिन ।
केही समय पश्चात ठाउँ ठाउँका राजकुमारहरुले यसोधरासँग विहे गर्ने प्रस्तावहरु आए । आफ्न्तहरुले सबै हामी मिलाउँछौँ तिमी विहे गर भनेर पनि सम्झाए । तर, यसोधराको मन किन मान्थ्यो र ? उनी पूर्णरुपमा सिद्धार्थप्रति समर्पित रहिन ।
यसोधराले प्रत्येक पल राहुल, दरबार र सिद्धार्थप्रति आफ्नो जिम्मेवरी पूर्णरुपमा निर्वाह गरिन । दरबार छोडेको ६ वर्षपछि सिद्धार्थले मोक्ष प्राप्त गरे । अब उनी सिद्धार्थ रहेनन् बुद्ध बने । बुद्ध उनको नाम होइन । यो आत्मज्ञानको उपमा मात्र हो । संसारमा उनीजस्ता सयौँ बुद्धहरु छन् । विस्तारै बुद्धको सुगन्ध चारैतिर फैलिन थाल्यो । यसोधराले पनि यसबारे थाहा पाइन ।
मोक्ष प्राप्त गरेपछि पनि बुद्ध तुरुन्तै दरबार फर्केनन् । यसोधरा प्रतिक्षामा थिइन तर कहिल्यै हतार गरिनन् । दरबार छोडेको १२ वर्ष पछि बुद्ध पहिलो पटक यसोधरालाई भेट्न आए । उनीहरु विच वार्ता भयो । सुगन्धीत फूल झैँ परिवर्तन रुपमा फर्केर आएका बुद्धसामु यसोधराको गुनासको खोलो त्यसै सुक्यो । त्यसमा पनि बुद्धले अत्यन्तै प्रेम र श्रद्धापूर्वक यसोधरालाई आफ्नो अमुल्य योगदानको लागि अहोभाव प्रकट गरे । यो भेट र वार्ता अत्यन्तै भावपूर्ण रहयो ।
भनिन्छ कि यसोधराले बुद्धलाई केही महत्वपूर्ण प्रश्न भने गरिन । उनले सोधिनः जुनकुरा तपाईँले जंगलमा पिपलको रुखमुनि पाउनु भयो के त्यो यहाँ संभव थिएन ? बुद्धले उत्तर दिए । संभव थियो । जुनकुरा मैले प्राप्त गरेँ त्यसको लागि घर, दरबार, आश्रम, जंगल केहीसँग पनि सरोकार राख्दैन । त्यसैले कुनै प्रभाव पार्दैन किन कि यो आफ्नो अन्तर अस्तित्वको खोज हो । यो आफैँ भित्र प्रवेश गर्ने यात्रा हो । तर मलाई यसबारे त्यतिखेर ज्ञान थिएन । म अज्ञानी थिएँ ।
यसोधरा पछि छोरा राहुल सहित भिक्षुणी बनिन । भनिन्छ बुद्धका १३ सर्वश्रेष्ठ शिष्य मध्ये यसोधरा पनि एक थिइन । सिद्धार्थ गौतम र बुद्ध दुवै जीवनमा यसोधराको साथ र समपर्ण अभूतपूर्व रहेको पाइन्छ ।
यसरी एक महान योद्धा झैँ आफ्ना सारा इच्छा र आकांक्षालाई त्यागेर सिद्धार्थलाई बुद्ध बन्न महत्वपूर्ण योगदान गरीन । तर, त्यसको चर्चा कहीँ छैन । सिद्धार्थले आफ्नो मनको कुरा यसोधरा सित बारम्बार गरिहन्थे । यसोधरालाई सबै कुराहरु थाहा थियो तर पनि उनले सिद्धार्थको बाटो छेक्ने प्रयास गरिनन् बरु साथ दिइन । यसोधरा सुन्दर एव असल चालचलन भएकी एक सभ्य नारी थिइन । उनले चाहेको भए सायद सिद्धार्थको मार्ग रोक्न सक्थिन कि ?
यदि गहिरिएर हेर्ने हो भने हामीले यसोधराको जीवनबाट महत्वपूर्ण कुराहरु सिक्न सक्छौँ । उनले हामीलाई सिकाएकी सबै भन्दा महत्वपूर्ण कुरा निस्वार्थ प्रेम र करुणा हो । वास्तवमा यसोधरा प्रेम र करुणाको प्रतिमूर्ति हुन । सिद्धार्थले अफ्ठ्यारो परिस्थितीमा उनलाई छोडेर गए तर पनि सिद्धार्थलाई उनले कुनै घृणा गरिनन् । वरु निस्वार्थ प्रेम र करुणा देखाइन । उता जंगलमा सिद्धार्थको जुन हाल थियो यता दरबार पनि उनी त्यसै गरि बसिन् । सिद्धार्थ प्रति उनले एक अभूतपूर्व परानुभूति देखाईन ।
सिद्धार्थले दरबार छोडेपछि राजा सुद्धोधन र रानी मायादेवीको अवस्था नाजुक बनेको थियो । त्यसबेला यसोधराले उनीहरुको दुःखको अन्धकार भित्र आशाको उज्यालो दिप बालेर हौसला दिइएकी थिइन । आफैँं पिडामा भए पनि उनले दरबारमा हौसला र आत्मविश्वासको वातावरण सृजना गरीन । त्यसकारण यसोधरालाई एक वलशाली नारीको रुपमा पनि चिनिन्छ ।
यसोधरा धैर्यताकी देवी पनि हुन । उनले विभिन्न दुःखको माझ पनि आफ्नो पतिको लागि १२ वर्षको कठोर प्रतिक्षा गरिन । तत्पश्चात पनि उनले आफ्नो पति गुमाइन र बुद्ध पाइन । पति उनको मात्र थिए तर बुद्ध बने पछि ऊ सबै भए । त्यतिका वर्ष उनका आँखाहरुले निरन्तर बुद्धको पदचापहरुको धैर्यतापूर्वक प्रतिक्षा गरिरह्यो । कुनै दिन उनी हताष भइनन् । आफुलाई समालेर यति लामो प्रतिक्षा गर्ने यसोधरामा विशाल धैर्यता थियो ।
यसोधरालाई सौन्दर्य र बुद्धिमताको समिश्रण पनि मानिन्छ । उनी एक सुन्दर हुनुको साथै परिपक्वा बुद्धिमता भएकी नारी पनि थिइन । उनको सुझबुझ अत्यन्तै परिपक्व थियो । सिद्धार्थले छोडेर गएपछि उनलाई एकसा एक राजकुमारहरुले विहेको प्रस्ताव गरे । परिवार पनि राजी थियो तर उनले मानिन् । यहाँनेर उनले आफ्नो सुन्दर विवेक देखाइन । यदि उनले अर्काे राजकुमारसँग विहे गरेको भए आजसम्म संसारले उनलाई एक धोकाबाझ महिलाको रुपमा चित्रण गथ्र्याेहोला तर उनले आफुलाई अब्बल सावित गरिन । सम्पूर्ण नारीहरुको लागि महत्वपूर्ण दृष्टान्ता बनिन् ।
यसोधरामा बुद्ध झैँ आध्यात्मक खोजको परम रस बगेको पाइन्छ । जब उनले बुद्धबाट दिक्षा लिइन तत्पश्चात पूर्ण साधनामा लिप्त भइन । पछि उनलाई पनि आत्मज्ञान प्राप्त भयो ।
यसरी फर्केर हेर्ने हो भने यसोधरा एक महिमापूर्ण नारीको रुपमा चिन्न सकिन्छ । तर, उनको कहीँ कतै चर्चा भएको पाइन्न । बुद्धसँगै उनको तस्विर पाइन्न् । मलाई लाग्छ, हामीले बुद्धसँगै यसोधराको पनि स्मरण गर्नुपर्छ । उनको पनि सम्मान गर्नुपर्छ । यदि यसोधरा हिडेकी प्रेम, करुणा, त्याग, समर्पण, धैर्यता, हिम्मत र अन्तर खोज यात्राको पदचापहरुलाई पछ्याउने हो भने हामी सबैले परिवारदेखि मोक्षसम्मको यात्रा पूरा गर्न सक्छौँ ।
बुद्धपूर्णिको सुन्दर अवसरमा एक संकल्प गरौँ कि यसोधरा जस्तै हामी पनि परिवारदेखि मोक्षसम्मको आध्यात्मिक यात्रा शुरु गरौँ । त्यसको लागि बुद्धको एक सुत्र आनापानसति आजै सिकौँ । आनापानसति अर्थात आउँदै जादै गरेको श्वास शान्तपूर्वक हेर्ने विधि । जसरी हामी नदीको किनारमा बसेर कुनै प्रतिक्रिया नगरी बगेको पानीलाई आनन्दित भएर हेर्छाैँ ठिक त्यसैगरी आँखा बन्द गरी शान्दपूर्वक बसेर हामी भित्र बगीरहेको श्वासलाई पनि नियालौँ । विस्तारै मन शान्त र स्थिर हुन थाल्छ । तनाव नष्ट हुन्छ । आनन्दको आभास हुन थाल्छ । यसलाई निरन्तर अभ्यास गरौँ । थोरै समय मिल्यो भने पनि श्वासप्रति सजग बनौँ । यो सानो प्रयासले ठूलो प्रतिफल दिन्छ । विश्वास गरौँ । अरुलाई होइन आफैँलाई चिनौँ ।
बुद्धपूर्णिमाको हार्दिक शुभकामना ।
विवेक विनयी
प्रीन्सिपल, जुगल स्कुलर कलेज, कपन तथा
विद्यालयमा नैतिक शिक्षा सिकाउन तयार पारिएको पुस्तक संस्कार (भाग १-५) का लेखक हुन ।