सन २०१९ को डिसेम्बर अन्तिम साता चीनको वुहान शहरबाट सुरु भएको कोरोना भाइरसको संक्रमण हाल विश्वभर फैलिएको छ । जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार कोराना भाइरसबाट यो लेख लेखिरहदा सोमबारसम्म ३५ लाख ९३ हजार भन्दा जना संक्रमित भएका छन् भने २ लाख ४९ हजारभन्दा बढीको मृत्यु भएको छ । कोरोना सक्रमण फैलिएको देशको संख्या २ सय १० पुगेकोछ । विश्व आतंकित छ । कोरोना भाइरसको महामारी छिटै नरोकिने विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अडानोम गेब्रेयसियसले बताएका छन् । कोरोना भाइरसको महामारीले विश्वै आक्रान्त बनिरहेको बेला विश्वमा यसको प्रभाव बहुआयामिक पर्ने देखिन्छ । विश्वकै अर्थतन्त्र डामाडोल बनेको छ भने सामाजिक तथा राजनितीक क्षेत्रमा पनि प्रत्यक्ष प्रभाव पर्ने देखिन्छ । अहिले कोरोना भाइरसको विश्वव्यापी महामारी नियन्त्रण पछिको विश्व राजनितीकलाई लिएर वहश शुरु भएका छन् । कोरोना भाइरसको यो संकटले अमेरिकी प्रभुत्व अन्त्य भई नयाँ युगको सुरुआत हुने धारणा अन्तर्राष्ट्रिय मामिलाका जानकारहरु बताउँछन् ।
विश्व स्वास्थ्य संगठनमा चिनको उपस्थिती
अमेरिकाले आर्थिक सहयोग रोकेको भोलिपल्टै १३ अप्रिलमा चिनले विश्व स्वास्थ्य संगठनलाई तीन करोड डलर वरवरको आर्थिक सहयोग गरेको छ । विकासित राष्ट्रमा कोरोना भाइरस तिब्र रुपमा फैलिएका करणले सङ्क्रमण रोक्न यो आर्थिक सहयोग गरेको चिनले जनाएको छ । यस अघी चिनले गत मार्चमा दुइ करोड डलर आर्थिक सहयोग गरेको थियो । यसै क्रममा अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको कोष रोक्ने ट्रम्पको घोषणालाई विश्व स्वास्थ्य संगठनका एक पूर्वअधिकारीले मानवताविरुद्ध अपराध हो भन्ने आरोप लाएका छन् । चीन आफ्नो उत्पादन प्रणालीको पुरानै लयमा फर्कि सकेको अवस्थामा विश्व स्वास्थ्य संगठनमा उस्ले गर्विलो उपस्थिती देखाउने देखिन्छ । अमेरिकाको बर्चश्व अन्त हुने र अमेरिकाले छाडेको स्थान चीनले लिने देखिन्छ । यसले के देखाउछ भने अन्य देशहरूसँग चीनको हालको नजिकको सम्बन्ध पुरानै गतिमा अघि बढ्ने मात्र छैन कि चीन अन्तर्राष्ट्रिय नेतृत्वतर्फ अघि बढ्ने छ ।
चिन उत्पादन गर्छ, विश्वले किन्छ
कोरोना भाइरसको नयाँ सङ्क्रमित सुन्यमा झारी चिनले आर्थिक चलयमान बनाएको छ । यो स्थिति हेर्दा चीन आफ्नो उत्पादन प्रणालीको पुरानै लयमा चाँडै फर्कने अवस्थामा छ । अमेरिका डगमगाइरहदा चीन भने चाँडो र प्रभावकारी रूपमा अगाडि बढ्दै अमेरिकाको गल्तीको फाइदा लिइरहेको छ । महामारीको अवस्थालाई सम्बोधन गर्न विश्वको नेतृत्व लिँदै चीन आफ्नै प्रणाली अनुरूप अन्य प्रभावित देशलाई सामग्री सहयोग गर्ने र अन्य देशका सरकारसँग समन्वय कार्य पनि गरिरहेको छ । चीनले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण लागि चाहिने आवश्यक सामाग्री मास्क, रेस्पिरेटर, भेन्टिलेटर र औषधिजन्य सामग्री ठूलो मात्रामा उत्पादन गरी बेच्नको साथै अहिले ती सामग्री अरूलाई सहयोग गरिरहेको छ । ट्रम्पको उदयपछि अमेरिका प्रथम भन्ने नीतिको नाममा उसले विश्वको नेतृत्व त्याग्यो । सरुवा रोग र जलवायु परिवर्तनसम्बन्धी अनुसन्धान बजेट काटेर विश्वको अमेरिका प्रतिको विश्वास समेत गुमाइसकेको छ ।
चीनले सङ्क्रमण नियन्त्रण लागि चाहिने आवश्यक सामाग्रीको सहयोगलाई तिव्र बनाएकोछ । इटालीलाई १ हजार भेन्टिलेटर, २० लाख मास्क, १ लाख रेस्पिरेटर, २० हजार प्रोटेक्टिभ लुगा र ५० हजार परीक्षण किट सहयोग गर्यो । यससँगै चीनले स्वास्थ्यकर्मी र २ लाख ५० हजार मास्क इरानलाई सहयोग पठायो, अनि सर्बियालाई पनि सहयोग पठायो । चीनको यस्तो सहयोगको महत्व किन पनि हुन्छ भने विश्वभर कोरोना भाइरस विरुद्ध लड्न आवश्यक सामग्री चीनमा नै बन्छ । मास्क सबैभन्दा धेरै उत्पादन हुने ठाउँ चीन नै हो र अहिले युद्धस्तरको उत्पादनसँगै यो १० गुणाले बढेको छ । चीनले विश्वभर मध्ये आधा ऐन ९५ रेस्पिरेटर बनाउँछ र कोभिड १९ बाट हुन सक्ने अन्य सङ्क्रमणमा चाहिने एन्टिबायोटिक पनि चीनले ठूलो मात्रामा उत्पादन गर्छ । अर्काेर्तफ अमेरिकामा कोरोना भाइरसको सङ्क्रमण हजारौं अमेरिकी जनतामा फैलियो । अनियन्त्रीत भयो । अमेरिकाले सङ्क्रमण नियन्त्रणको लागी चाहिने स्वस्थ्य सामाग्री आफ्नै माग पूरा गर्ने क्षमता पनि राखेन, अन्य देशलाई सहयोग गर्ने त टाढाकै कुरा भयो । अमेरिकासँग पर्याप्त मास्क, पन्जा, भेन्टिलेटर, पीपीई लगायतका सामग्रीको अभाव भयोे । यी सबै स्वस्थ्य सामाग्री चीनबाटै आयात गरिन्छ । अमेरिकी एन्टिबायोटिक बजारमा चीनको ९५ प्रतिशतको दबदबा छ । यो लेख तयार पार्दा सम्म अमेरिकाको स्थिति झन गम्भीर छ, र यस महाव्याधिविरुद्ध एक्लै लड्दै छ भने यसको ठीक उल्टो चीनले विश्वमा आवश्यक हुँदा चाहिने सहयोग गरिरहेको छ ।
विश्व व्यवस्थामा : चीनको नयाँ शक्ति केन्द्रको रुपमा उदय
अहिले वर्तमान विश्वको विश्लेषण गर्दा के देखिन्छ भने विश्व राजनीतिमा अमेरिकी प्रभाव घट्दो छ भने चीनको प्रभाव क्रमशः बढ्दो देखिँदैछ । कोरोना भाइरसको यो संकटले अमेरिकी अन्तर्राष्ट्रिय शक्ति सन्तुलन बिग्रिने र नयाँ शक्ति केन्द्रको उदय हुने धारणा अन्तर्राष्ट्रिय मामिलाका जनकारहरु बताउँछन् । जोन होपकिन्स विश्वविध्यालयका प्राध्यापक निकोलस बलमेले ‘अन्तर्राष्ट्रिय शक्ति सन्तुलन बिग्रिने र नयाँ शक्ति केन्द्रको उदय हुने धारणा राख्दछन् ।’ त्यस्तै कूटनीति तथा अन्तर्राष्ट्रिय मामिलाका विज्ञ तथा लन्डनस्थित प्याक्स टेकम नामक कन्सल्टेन्सी फर्मका कार्यकारी निर्देशक गेजु एन्टोनिओ बाएजका अनुसार ‘अन्तर्राष्ट्रिय परिवेशमा अमेरिकाको बर्चश्व अन्त हुने र अमेरिकाले छाडेको स्थान चीनले लिने धारणा राख्दछन्’ । उनी भन्छन, ‘यो वैश्विक महामारीको समयमा अमेरिकाले एक कुटनीतिक महाशक्तिका रुपमा दखल दिन सकेको छैन । त्यसैकारण पनि विश्व कुटनीतिमा अमेरिकाले खाली गर्दै आएको स्थानलाई चीनले भर्ने मौका पाएको छ’ । त्यसैगरी मानवशास्त्री तथा त्रिभुवन विश्वविद्यालय मानवशास्त्र विभागका प्रमुख डा. डम्वर चेम्जोङ ‘चीन लामो समय कोरोना महामारीले थला परेको भए अफ्रिकासँगको उसको सम्बन्धमा आउने खाली ठाउँ भर्न युरोप वा उत्तर अमेरिका तयार हुने अवस्था आउन सक्थ्यो । तर, हाल परिस्थिति युरोप र उत्तर अमेरिकाका लागि प्रतिकूल भइदियो । उनीहरू आफैँ तंग्रिन केही समय लाग्ने तर चिनले अन्तर्राष्ट्रिय क्षेत्रमा बलियो पकडब बनाउने बताउछन् ।’
त्यस्तै सन २००१–२००२ मा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्का अध्यक्ष र सिंगापुरका स्थायी प्रतिनिधि किशोर मबुवानी भन्छन्, ‘यो महामारीले अमेरिका केन्द्रित विश्वव्यापीकरणलाई चीन केन्द्रित विश्वव्यापीकरण्मा रुपान्तरण गर्नेछ ।’ मबुवानीसँग त्रिभुवन विश्वविद्यालय समाजशास्त्रका प्राध्यापक डा.कृष्ण वहादुर भट्टचन सहमत देखिन्छन् । उनि भन्छन् ‘पुँजीवादको रुप कस्तो हुन्छ भन्ने अहिले अमेरिका ‘कोभिड–१९’ संक्रमणको केन्द्र बनेपछि छर्लङ्गै भएकोछ । पुँजीवादीहरुमा सेवाभाव भन्ने हुँदैन । उसले खाली कमोडिटी मार्केट हेर्छ । ‘पुँजीवादले भूमण्डलीकरण सृजना गर्यो अहिले त्यसको असर कोरानाको भाइरसको संक्रमणमा प्रकट भयो ‘भूमण्डलीकरणले जन्माएको समस्या’ छर्लङ्गै भएको छ । त्यसको परिणाम अहिले कोरोनाको महामारी हो ।’
यस्तैगरी अमेरिकी साइन्स जर्नालिस्ट र लेखिका लौरि गारेट भन्छिन्, ‘कोरोना भाइरसले आर्थिक र वित्तीय क्षेत्रमा अत्यधिक प्रभाव पार्नेछ, निर्यात र वितरण प्रणालीलाई प्रभावित पार्दै विश्व राजनीतिमा नयाँ शक्तिकेन्द्रको स्थापना गर्नेछ’ । त्यस्तै मानवशास्त्री तथा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. गोकर्ण ज्ञावाली ‘अहिले विश्व राजनीतिमा अमेरिकाको कमजोर उपस्थिति र चीनको सहयोगकारी भूमिकाले पनि अबको विश्व राजनिति अमेरिकाबाट चीनतर्फ सर्ने निश्चित देखिएको बताउछन् ।’ प्रसिद्ध भूगोलविद् डेभिड हार्भी भन्छन् ‘सिंगो मानवजातिलाई यो त्रासदीबाट जोगाउन र नयाँ विश्वव्यवस्थाको नेतृत्व गर्न सारा विश्वको आँखा अहिले चीनतर्फ छ ।
यी तथ्यहरुको विश्लेषण गर्दा अमेरिका आफ्नो संकुचित रणनीतिका कारण विश्व राजनीतिको नेता बन्न सक्ने देखिँदैन । यो महामारीले नयाँ नेतृत्व जन्माउने सम्भावना देखिँदैछ ।
चिन नेतृत्वमा स्थापित यसरी हुन्छ
कोरोना भाइरसको नयाँ सङ्क्रमित सुन्यमा झारी चीन अन्तर्राष्ट्रिय नेतृत्वतर्फ अघि बढ्दै छ । चीन आफ्नो यो सफलतालाई बृहत्तर रूपमा पूरै विश्वभर फैलाइ विश्व व्यवस्थाको नेतृत्व लिन चाहन्छ । चीनलाई यस्तो प्रकोपका बेलामा अन्तर्राष्ट्रिय नेतृत्व गर्न यस कुराले पनि सहयोग गर्छ कि कोरोना भाइरस विरुद्ध लड्न जुन सामग्री विश्वलाई आवश्यक छ, त्यो चीनमा बनाइन्छ ।
एता ट्रम्पको प्रशासनले भने नेतृत्वदायी भूमिका निभाउन सकेको छैन र अझ अन्य देशसँग सहकार्य÷समन्वयमा पनि कमी छ । यसको विपरीत चीनले आफ्नो कूटनीतिक अभियानलाई सुदृढ रूपमा अगाडि बढाएको छ, जहाँ दर्जनौँ देशसँग र सयौँ अधिकारीसँग भिडियो सम्मेलन मार्फत यस महामारीको सूचना प्रवाह गरेको छ र यस विरुद्ध आफ्नो अनुभवका पाठ सिकाइरहेको छ । एकातर्फ महामारीको नेतृत्वदायी अवस्थामा रहेको नाताले स्वाभाविक रूपमा यसमा चीनको भूमिका महत्र्वपूर्ण हुनेछ भन्ने अर्कोतर्फ चीनले गएका वर्षहरूमा विश्वमा दीर्घकालीन प्रभाव पार्ने विभिन्न योजना अघि सारेको छ । आर्थिक क्षेत्रमा एसियन पूर्वाधार विकास बैंक अनि व्यापार क्षेत्रमा ओबर । यस्ता चीनका गुरुत्वाकर्षक योजनाहरूमा युरोपियन, अफ्रिकन लगायतका अन्य राष्ट्रहरूको रुचि अनि संलग्नता पनि छ । यसले पनि चिनको नेतृत्व स्थापित गर्न सहयोग गर्ने देखिन्छ ।
समाजशास्त्री भट्टचन ‘कोरोना भाइरसको प्रकोपबीच चीनलाई विश्व नेतृत्वमा आउन अमेरिकाको आफूकेन्द्रित नीति धेरै सहयोग गरेको बताउछन् ।’ उनीका भन्छन् ‘अहिले अमेरिका देशभित्रकै समस्यामा अल्झिरहेको छ र कोरोना रोकथामका लागि चीनलाई गुहार्न बाध्य हुँदैछ तर पनि आफ्नो गिर्दो प्रभुत्वको रक्षार्थ इरान, उत्तर कोरिया र इटालीलाई सहयोगको प्रस्ताव अगाडि सारेको छ ।’ अमेरिकाको उक्त प्रस्तावलाई इटालीले मात्र कुटनैतिक अर्थमा स्वीकार गरेको र अन्य राष्ट्रले अस्वीकार गरेकोमा अमेरिका ती राष्ट्रप्रति थप रूष्ट समेत बनेको छ ।
अर्थशास्त्रीहरू यसले १९३० पछिदेखि हालसम्मको सबैभन्दा ठूलो आर्थिक मन्दी ल्याउने आकलन गरिरहेका छन यद्यपि यो कुरा संकट कति लम्बिन्छ भन्ने कुरामा भर पर्छ । विश्व बैंकले कोरोना भाइरसको प्रकोपबाट विश्व अर्थतन्त्र ३ प्रतिशतले खुम्चिने अनुमान गरेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार, सन २०२० मा विश्व अर्थव्यवस्थामा संकुचन आई आर्थिक वृद्धिदर ३ प्रतिशतले घट्ने छ । अमेरिकामा मात्रै यो वर्ष आर्थिक वृद्धिदर ५.९ प्रतिशतले घट्ने आँकलन गरिएको छ । अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) ले विश्वका आधा कामदार अर्थात डेड अर्ब मानिसहरुको रोजगारी गुम्ने जनाएको छ । अर्को एक प्रतिवेदनले विश्वभर भोकमरीको सामना गर्नेको संख्या १३ करोड ५० लाखबाट बढेर २५ करोड पुग्न सक्ने देखाइसकेको छ । डब्ल्यूएफपीका अनुसार युद्धको मारमा परेका, आर्थिक संकटमा परेका र जलवायु परिवर्तनको समस्या सामना गरिरहेका १० मुलुकमा भोकमरीको जोखिम उच्च देखिएको छ । यमन, कंगो, अफगानिस्तान, भेनेजुयला, इथियोपिया, दक्षिण सुडान, सिरिया, नाइजेरिया र हाइटी सबैभन्दा प्रभावित बन्न सक्ने डब्ल्यूएफपीले बताएको छ । त्यसका साथै पूर्वी अफ्रिका र दक्षिण एसियामा पनि खाद्य अभाव हुन सक्ने बताइएको छ । यसलाई लिएर यूएनले समग्र विश्वभर थप संकट आउन नदिन छिटोभन्दा छिटो आवश्यक कदम चाल्नु पर्ने बताएको छ । यो संकटको घडीमा चिनले ठुलो धनरासी सहयोग गरी विश्व सामु आफ्नु दरविलो उपस्थिती देखाउने देखिन्छ । मानवशास्त्री ज्ञवालीे ‘अहिलेसम्मको विश्व राजनीतिलाई अध्ययन गर्दा जुन राष्ट्रले विश्व अर्थतन्त्रमा नियन्त्रण कायम गरेको छ, त्यही राष्ट्रले राजनीतिक क्षेत्रमा पनि प्रभुत्व कायम गरेको बताउछन् ।’ त्यसैले अहिले विश्व राजनीतिमा अमेरिकाको कमजोर उपस्थिति र चीनको विश्व अर्थतन्त्रमा नियन्त्रणकारी भूमिकाले पनि अबको विश्व राजनिति अमेरिकाबाट चीनतर्फ सर्ने निश्चित देखिन्छ ।
(लेखकः ठमिन्द्र खतिवडा नेपालटारमा रहेको ग्रामिण आर्दश बहुमुखी क्याम्पस तथा त्रिविका उपप्राध्यापक हुन् ।)