पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कार्यवाहक प्रधानमन्त्रीका लागि पाकिस्तानका पूर्व प्रधानन्यायाधीशको नाम राष्ट्रपतिसमक्ष पठाएका छन्। यो जानकारी इमरान खान सरकारका सूचना तथा प्रसारण मन्त्री फवाद चौधरीले दिएका हुन्।
उनले ट्विट गर्दै राष्ट्रपति आरिफ अल्वीको पत्रको जवाफमा इमरानले पूर्व मुख्य न्यायाधीश गुलजार अहमदको नाम पठाएको बताएका हुन्। पीटीआई (पाकिस्तान तहरिक इन्साफ) को कोर कमिटीको बैठकमा पूर्व प्रधानन्यायाधीशको नाम तय भएको उनले बताएका छन्।
यसअघि पाकिस्तानी राष्ट्रपति आरिफ अल्वीले प्रधानमन्त्री इमरान खान र राष्ट्रिय सभाका विपक्षी नेता शाहबाज सरिफसँग कार्यवाहक प्रधानमन्त्रीका लागि सहमति भएको नाम मागेका थिए। रेडियो पाकिस्तानका अनुसार राष्ट्रपति आरिफ अल्वीले इमरान खान र शाहबाज सरिफलाई पत्र लेखेका छन्।
राष्ट्रपति अल्वीले इमरान खान र शाहबाज सरिफसँगको परामर्शमा कार्यवाहक प्रधानमन्त्री नियुक्त गर्नेछन्। संसद् विघटन भएको तीन दिनभित्र प्रधानमन्त्री र प्रतिपक्षी दलका नेताबीच कुनै पनि नाममा सहमति नभए दुई जनाको नाम संसदीय समितिमा पठाउने कुरासमेत पत्रमा लेखिएको छ। यस समितिमा सत्तापक्ष र प्रतिपक्षबाट समान संख्यामा आठ सदस्य रहनेछन्। यही समितिले कार्यवाहक प्रधानमन्त्रीको नाम तय गर्नेछ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।