शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

आफू अल्पमतमा परेपछि इमरान खानले गरिदिए संसद विघटन


  • आइतबार, चैत्र २० २०७८
10.2K
SHARES

फाइल तस्विर

आफू अल्पमतमा परेपछि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले संसद विघटन गरेका छन्। केही साताअघि संसदमा दर्ता भएको खानविरूद्धको अविश्वासको प्रस्तावमाथि मतदान हुने भनिएको दिन आइतबार नेसनल एसेम्ब्लीका उपसभामुखले उक्त अविश्वास प्रस्ताव असंवैधानिक भएको भन्दै खारेज गरिदिएको द डनले उल्लेख गरेको छ।

अविश्वास प्रस्ताव खारेज गरेर संसद अधिवेशन स्थगित भएलगत्तै प्रधानमन्त्री इमरान खानले राष्ट्रपति आरिभ अल्भीसमक्ष संसद विघटन गर्न सिफारिस गरेका हुन्।
पाकिस्तानको संविधानको धारा ५८ मा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गर्न सक्ने व्यवस्था छ।

इमरान खानको सिफारिसलगत्तै राष्ट्रपति अल्भीले संसद विघटन गरेको पाकिस्तानी सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।राष्ट्रपतिले संसद विघटन गरेसँगै पाकिस्तानमा अब ९० दिनभित्र चुनाव हुने भएको छ। प्रधानमन्त्री खानले आफू अल्पमतमा परेपछि विरोधीहरूलाई विदेशीको पैसा लिएर सरकारविरूद्ध षडयन्त्र गरेको आरोप लगाएका छन्।

३४२ सदस्यीय नेसनल एसेम्ब्लीमा बहुमतका लागि १७२ सांसद चाहिन्छ। खानको पाकिस्तान तेहरिक-ए इन्साफ पार्टीका १३३ सांसदमात्रै छन्। खानले गठबन्धन बनाएर बहुमत पुर्‍याएका थिए।उनलाई गठबन्धनकै केही दलले दिएको समर्थन फिर्ता लिएका छन् भने आफ्ना पार्टीका केही सांसदले पनि उनलाई विश्वासको मत नदिने बताएका थिए।

संसदमा विश्वासको मत पाउने सम्भावना नभएपछि खानले संसद विघटन गरिदिएका हुन्।विपक्षी सांसदहरूले भने संसद विघटन गर्ने निर्णय असंवैधानिक भएको भन्दै सर्वोच्च अदालत जाने बताएका छन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा