रुसका रक्षामन्त्री झण्डै दुई हप्तापछि सार्वजनिक कार्यक्रममा देखिन थालेका छन्। रक्षामन्त्री सर्गेइ शोइगुले शनिबार आर्मी जनरललाई सम्बोधन गर्दै गरेको भिडियो रक्षा मन्त्रालयले पोस्ट गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। उनी १२ दिन कुनै पनि सार्वजनिक कार्यक्रममा देखिएका थिएनन्।
तर रक्षा मन्त्रालयले सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियोमा उनले युक्रेन युद्धमा रासायनिक हतियार प्रयोग गर्न सकिने सम्भावना रहेको तथा सैन्य बजेटसहितका विषयमा अर्थ मन्त्रालयसँग कुरा गरेर आर्मी जनरलहरुलाई बताउँदै गरेको देखिएका छन्।
उनी मार्च ११ देखि सार्वजनिक रुपमा देखिएका थिएनन्। स्रोतहरुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उनलाई हृदयाघात भएको जनाएका थिए। रुसी रक्षामन्त्री सर्गेइ शोइगु हृदयघातबाट ग्रसित भएको युक्रेनी अधिकारीले दाबी गरेका थिए।
युक्रेनको आन्तरिक मामिला मन्त्रालयका सल्लाहकार एन्तोन गेराश्चेन्कोले रुसी रक्षामन्त्री लामो समय सार्वजनिक रुपमा नदेखिनुमा हृदयघात कारक रहेको बताएका हुन्।
युक्रेनी आन्तरिक मामिला मन्त्रालयका सल्लाहकार एन्तोनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए, ‘युक्रेनमा रुसी आक्रमणको असफलताको पूर्ण जिम्मेवार रहेको आरोप पुटिनले लगाएपछि सर्गेइलाई हृदयघात भएको हो। उनी उपचाररत छन्।’
उनी सार्वजनिक कार्यक्रममा देखिन थाले पनि यतिका दिन किन देखिएनन् र उनको स्वास्थ्य अवस्था कस्तो छ भन्नेबारे रुसले कुनै जानकारी भने दिएको छैन।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।