रुसको सरकारी च्यानलमा लाइभको बीचैमा युद्धको विरोध गर्ने पत्रकार प्रहरीको हिरासतमा भएको आसंका गरिएको छ ।
रुसको सरकारी टेलिभिजन च्यानलमा बेलुकाको कार्यक्रमका बेला अचानक एक महिलाको हातमा युद्ध विरोधी पोस्टर लिएर समाचारवाचिकाको पछाडि उभिइन् ।
यो पोस्टमा लेखिएको थियो, ‘युद्ध रोक, युद्ध चाहिँदैन । प्रोपोगान्डामाथि विश्वास नगर्नुहोस्, उनीहरुले तपाईंसँग झुटो बोलिरहेका छन् ।’यी महिलाको नाम मरिना ओवस्यानिकोवा बताइएको छ । उनी त्यस च्यानलकै एक सम्पादक हुन् ।
रुसमा टेलिभिजन न्युजमा सरकारको कडा निगरानी छ र यसमा युक्रेनको विषयमा रुसी पक्षमात्रै देखाइँदैछ । ओवस्यानिकोवा अब प्रहरीको हिरासतमा भएको बताइन्छ ।
कार्यक्रम भइरहेका बेला ओवस्यानिकोवा भन्छिन्, ‘नो टु वार, स्टप द वार !’ यद्यपि, त्यसको केही बेरमा नै कार्यक्रमका निर्देशकले कार्यक्रमलाई बीचमा नै रोकेर रेकर्ड गरिएको कार्यक्रम चलाइदिए ।
प्रत्यक्ष कार्यक्रमका बेला विरोध जताउनु अघि मरिनले एउटा भिडियो रेकर्ड गरेकी थिइन् जसमा उनले युक्रेनमा भइरहेको घटनालाई अपराध बताउँदै आफूलाई क्रेमलिनको प्रोपागान्डाको लागि काम गर्न लाज लाग्ने बताएकी छिन् ।
उनले भिडियोमा भनिन्, ‘टेलिभिजन स्क्रिनमा झुटो बोल्नुपरेका कारण मलाई लज्जा महसुस हुन्छ । मलाई लाज लाग्छ कि मैले रुसी जनतालाई हिँड्ने लाश बन्न दिएँ ।’
ओवस्यानिकोवाले रुसी जनतासँग युद्धविरुद्ध आवाज उठाउन पनि अपिल गरिन् । उनका अनुसार अब रुसी जनताले मात्रै यो ‘पागलपन’ रोक्न सक्छन् ।रुसमा टेलिभिजन समाचार लामो समयदेखि सरकारी नियन्त्रणमा छ र सबै ठूला च्यानलमाथि व्यक्तिगत विचार देखिन लगभग बन्द भएको छ ।