अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा चालेको कदमको प्रशंसा गरेका छन् ।
दक्षिणपन्थी रेडियो कुराकानी कार्यक्रम ‘दी बक सेक्स्टन शो’मा ट्रम्पले युक्रेन समस्यामाथिको आफ्नो स्पष्ट मौनता तोडेर रुसी राष्ट्रपतिको प्रशंसा गरेका हुन् ।
ट्रम्पले रुसले पूर्वी युक्रेनको लुहान्स्क र दोनेत्स्क प्रान्तमा रुस समर्थित पृथकतावादीलाई सहयोग गर्नका लागि रुसी फौज पठाएकोमा त्यसको प्रशंसा गरेका छन् ।
पुटिनको निर्णयबारे ट्रम्पले भनेका छन्, “सोमबार युक्रेनका दुईवटा क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएर पुटिनले बुद्धिमानी निर्णय गरे । युक्रेनको ठूलो भू–भागलाई स्वतन्त्र घोषणा गर्दै त्यहाँ शान्ति सेना परिचालन गर्नु असल काम हो । हामीले पनि अमेरिकाको दक्षिणी सीमानामा यस्तै गर्नुपर्छ । रुसी शान्ति फौज मैले अहिलेसम्म देखेकैमध्ये सबैभन्दा शक्तिशाली हो । उनीहरूले शान्ति स्थापना गर्न खोज्दै छन् भने ठिक छ ।”
ट्रम्प लामो समयदेखि पुटिनका प्रशंसकका रूपमा प्रस्तुत हुँदै आएका छन् । ट्रम्पले पुटिनको सामरिक अन्तरदृष्टि र ‘रुसी साम्राज्य पुनर्निर्माण’ गर्ने चाहनाको प्रशंसा गरेका थिए ।
त्यसैगरी, पुटिनलाई पत्रकार र सरकारविरोधीहरूको हत्या गर्ने गरेको भनेर लगाइने आरोपको प्रतिवाद गर्दै ट्रम्पले अमेरिकामा पनि त्यस्तै हुने गरेको भनी अभिव्यक्ति दिएका थिए ।
ट्रम्पले पुटिनको थप प्रशंसा गर्ने क्रममा यदि आफू ह्वाइट हाउसमा भएको भए रुस कम आक्रामक हुने दाबी गरेका छन् ।
सन् २०१६ को राष्ट्रपतीय चुनाव अभियानका क्रममा ट्रम्पले सार्वजनिक रूपमै आफ्नो प्रतिद्वन्द्वी हिलारी क्लिन्टनको चुनावी अभियान इमेल प्रणालीमा निरन्तर ह्याक गर्ने रुसी प्रयासलाई प्रोत्साहित गरेका थिए ।
यसैगरी, आफू सत्तामा पुगेपछि उनले अमेरिकी चुनावमा हस्तक्षेप नगरेको भन्ने रुसी दाबीलाई साथ दिएका थिए ।
मंगलबार ट्रम्पको भनाइमाथि टिप्पणी गर्न अनुरोध गर्दा ह्वाइट हाउसका प्रेस सेक्रेटरी जेन साकीले भनेकी छन्, “राष्ट्रपति पुटिन र उनको सैन्य नीतिको प्रशंसा गर्ने कसैको पनि हामी सल्लाह लिँदैनौँ ।