रुसले रोममा आयोजित जी-२० शिखर सम्मेलनमा आफ्नो कोभिड खोपले अन्तर्राष्ट्रिय मान्यता नपाएको भन्दै गुनासो गरेको छ ।
शनिबार राष्ट्रपति भ्लादिमिर पुटिनले स्पुतनिक-भी नामक कोरोनाभाइरसविरुद्धको रुसी खोपलाई अन्तर्राष्ट्रिय मान्यता नदिएको विषयप्रति गुनासो गरेका छन् । जी-२० का नेताहरूले विश्वव्यापी खोप अभियान तीव्रता पार्ने सहमति गरेको रोम शिखर सम्मेलनमा भिडियोमार्फत् सम्बोधन गर्दै उनले आक्रोशित हुँदै गुनासो पोखेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।
पुटिनले आफ्नो भिडियो सन्देशमा जी-२० का स्वास्थ्य मन्त्रीलाई खोप र खोपसम्बन्धी प्रमाणपत्रबारे छलफल गरी ‘चाँडोभन्दा चाँडो’ मान्यता दिन समेत आग्रह गरेका छन् ।
‘जी-२० को निर्णयका बाबजूद पनि कोभिडविरुद्धको खोपसम्म खोपको आवश्यकता रहेका सबै मुलुकको पहुँच छैन’, भिडियो सन्देशमा पुटिनले भनेका छन् ।
बेइमानीपूर्ण प्रतिस्पर्धाका कारण रुसी खोपले अन्तर्राष्ट्रिय मान्यता नपाउँदा खोपको आवश्यकता रहेका मुलुकले पहुँच नपाएको समेत पुटिनको भनाइ थियो । ‘बेइमानीपूर्ण प्रतिस्पर्धा, संरक्षणवाद र जी-२० मा आबद्ध केही मुलुकहरू खोप र यससम्बन्धी प्रमाणपत्रलाई मान्यता दिन तयार नभएकै कारण यस्तो अवस्था आएको हो’, उनले थपे ।
यसै महिनाको सुरुमा दक्षिण अफ्रिकाले खोपको अभावबीच रुसी कोभिड खोपलाई मान्यता दिन अस्वीकार गरेको थियो । रुसी खोप स्पुतनिकका कारण पुरुषमा एचआईभी संक्रमण बढ्न सक्ने दाबी गर्दै दक्षिण अफ्रिकाले मान्यता दिन अस्वीकार गरेको हो ।
त्यस्तै, युरोपेली युनियन र अमेरिकामा समेत स्पुतनिकले आधिकारिक अनुमति पाएको छैन ।