पछिल्लो समय चरमपन्थी संगठन तालिबान र सरकारी सेनाबीच युद्ध चर्किएसँगै अफगानिस्तानको लस्कर गाह सहरका वासिन्दा आतंकित छन् ।
धेरै मानिस घरभित्रै बन्धक बनेका छन्, केही मानिस ज्यान बचाउन सहर छाडेर भागेका छन् । लस्करगाहका एक स्थानीय भन्छन्, ‘शवहरु सडकमा छरप्रष्ट छन् । उनीहरु सर्वसाधारण हुन् वा तालिबानका लडाकु हुन् भन्ने हामीलाई थाहा छ्रैन ।’ उनका अनुसार दर्जनभन्दा धेरै परिवार घर छाडेर भागेका छन् र हेल्मण्ड नदीको किनारमा विस्थापित भएका छन् ।
धेरै अफगानी नागरिक पनि शवहरु सडकमै देखिएको बताउँछन् । हेल्मण्ड प्रान्तको राजधानी सहरमा देखिएको यो दृश्यले अफगानिस्तानमा पछिल्लो समय युद्ध चर्किएको संकेत दिन्छ । हेल्मण्ड अमेरिका र बेलायती सैन्य अभियानको केन्द्र थियो । तर, विदेशी सेना फिर्ता जान थालेसँगै तालिबानले अफगानिस्तानको धेरै क्षेत्रमा कब्जा जमाइसकेको छ ।
संयुक्त राष्ट्रसंघ र अन्य एजेन्सीहरुले अफगानिस्तानमा मानवीय संकट गहिरिन सक्ने चेतावनी दिएका छन् । मंगलबार राष्ट्रसंघले उल्लेख गरेअनुसार सोमबार लस्कर गाह सहरमा कम्तीमा ४० जना सर्वसाधारण मारिएका छन् ।
अफगानिस्तानको सेनाले सर्वसाधारणलाई लस्कर गाह सहर छाड्न आग्रह गरेको छ । २० वर्षअघि अमेरिकी सेनाको आक्रमणपछि धपाइएको तालिबानसँगको युद्ध चर्किएसँगै अफगानिस्तानको सेनाले यस्तो आग्रह गरेको हो ।
त्यस्तै तालिबानले अफगानिस्तानको दक्षिणी क्षेत्र कन्दाहारलाई पनि आफ्नो कब्जामा लिने प्रयास गरिरहेको छ । यो क्षेत्र पनि पहिला तालिबानको बलियो पकड भएको क्षेत्र हो ।
अफगानिस्तानको पश्चिमी प्रान्त हेरातमा पनि युद्ध चर्किएको छ ।
पछिल्लो केही दिनदेखि लस्कर गाहमा युद्ध जारी छ । युद्धको क्रममा तालिबानले धेरै जिल्लामा कब्जा जमाएको सञ्चारमाध्यमहरुले बताएका छन् । ‘हामी अहिले कठिनपूर्ण दिनको सामना गरिरहेका छौं’, लस्कर गाह सहरका एक विद्यार्थीले भने, ‘तालिबानले जमिनबाट आक्रमण गर्छ अनि सरकारी सेनाले आकाशबाट ।’
आइतबार अर्का एक व्यक्तिले भनेका थिए, ‘अहिले सडकमा तालिबानका लडाकुहरु देख्न सकिन्छ । तालिबानको उपस्थितिले यहाँका मानिसहरु अचम्ममा परेका छन् ।’
‘पसलहरु बन्द छन् र सरकारी सेनाका गाडीहरु सडकमा नै ध्वस्त पारिएको अवस्थामा छन् । गभर्नरको कार्यालय र राष्ट्रिय सुरक्षा निर्देशनालयको केही मिटर नजिकै युद्ध चलिरहेको छ’, उनले थपे, ‘केन्द्र सरकारले हालै यो लस्कर गाहमा नयाँ कमाण्डो टोली परिचालन गरेको बताएको छ तर हामीले उनीहरुलाई देखेनौं ।’
सयौं सेना लस्कर गाह सहरमा परिचालन गरिएको सरकारले बताएको छ । गत साता हेल्मण्ड प्रान्तीय परिषद्का प्रमुख अताउल्लाह अफगानले युद्ध नियन्त्रणभन्दा बाहिर गइरहेको बताएका थिए ।
अफगानिस्तान र अमेरिकी सेवाको हवाई आक्रमणका बीच पनि मुलुकमा नियन्त्रण बढाइरहेको छ । केही प्रतिवेदनले अहिले तालिबानी लडाकुहरु घरभित्र, पसल र बजारमा लुकिरहेको देखाएको छ । मानिसहरु पनि सडकमा युद्ध चलिरहेकाले आफ्नै घरमा थुनिएर बसेका छन् ।
बीबीसीबाट