शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको सय वर्ष पूरा, चीनमा उत्सवको तयारी


  • बिहिबार, असार १७ २०७८
10.6K
SHARES

फाईल तस्बिर

चीनमा कम्युनिस्ट पार्टी स्थापनाको एक सय वर्ष पूरा भएको छ । कम्युनिस्ट पार्टीको स्थापनाको एक सय वर्ष पूरा भएको अवसरमा चिनियाँ राष्ट्रपति सि जिनपिङले टियानान्मेनमा जम्मा भएको समूहलाई सम्बोधन गरेका छन् ।

सम्बोधनको क्रममा जिनपिङले समाजवादले मात्र चीनलाई बचाउन सक्ने बताएका छन् । उनले चिनियाँ कम्युनिस्ट पार्टी चीनको विकासको कहानीको केन्द्रमा रहेको बताए । साथै उनले कम्युनिस्ट पार्टीबाट मानिसहरुलाई अलग गर्ने प्रयास असफल हुने बताएका छन् ।

टियानान्मेनमा पार्टीको एक सय वर्षगाँठ मनाउन करीब ७० हजार मानिसहरु उपस्थित भएका थिए । त्यहाँ सुरक्षा व्यवस्था निकै कडा बनाइएको छ । उनीहरु कसैले पनि मास्क लगाएका थिएनन् ।

बिहीबार बिहान आयोजना गरिएको उक्त कार्यक्रममा फाइटर जेट विमान र युद्धपोतको प्रदर्शन गरिएको थियो भने राष्ट्रवादी गीत बजाइएको थियो । पछिल्लो केही सातायता चीनको कम्युनिस्ट पार्टीले अनुमोदन गरेको चीनको इतिहासलाई बढावा दिने गरी चिनियाँ सञ्चारमाध्यमहरुले पनि प्रचार गरिरहेका छन् । कम्युनिस्ट पार्टीको स्थापना सन् १९२१ मा भएको थियो ।

लामो समयको गृहयुद्धपछि कम्युनिष्ट पार्टी ७२ वर्षअघि सत्तामा आएको थियो । त्यसयता चीनमा निकै ठूलो परिवर्तनहरु भएका छन् । यद्यपि अहिले चिनियाँ कम्युनिस्ट पार्टीले अनुमोदन गरेको इतिहासमा भने त्यसमध्येका केही घटनाहरु लुकाइएको छ ।जसमध्ये चीनको सांस्कृतिक क्रान्ति, सन् १९८९ टियानान्मेन स्वायर आन्दोलन र हङकङको प्रजातन्त्रवादी आन्दोलनलगायतका घटनाहरु छन् ।

चीनमा गत अप्रिलयता सिनेमा हलमा साताको दुई दिन चीनको इतिहास समेटिएको फिल्म लगाउन निर्देशन दिइएको छ ।

यसैबीच चिनियाँ कम्युनिष्ट पार्टीको वर्षगाँठको अवसरमा एक सय टेलिभिजन नाटक यस वर्षभरमा प्रदर्शन हुनेछ ।

चीनको केही स्थानहरु पार्टीको लागि ऐतिहासिक रुपमा निकै महत्वपूर्ण छन् । जसमध्येको एउटा यानान शहरको क्रान्तिको आधार शिवर पनि हो । पछिल्लो समय यो क्षेत्रमा भ्रमण गर्न जाने मानिसको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा