शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

राष्ट्रसंघद्वारा म्यानमारमा हतियार आपूर्तिमा प्रतिबन्ध लगाउने प्रस्ताव पारित, नेपालले मतदान गरेन


  • शनिबार, असार ५ २०७८
12K
SHARES

फाइल तस्विर

संयुक्त राष्ट्रसंघले म्यानमारमा हतियार आपूर्ति नगर्ने प्रस्तावालाई पारित गरेको छ । यो वर्ष भएको सैन्य कूको प्रतिक्रियास्वरुप उक्त देशको सेनालाई हतियार आपूर्ति नगर्न राष्ट्रसंघले भनेको हो ।

राष्ट्रसङ्घको महासभाले प्रस्ताव पारित गर्दै फेब्रुअरीमा देशको निर्वाचित सरकारलाई सत्ताच्युत गर्ने सेनाको कदमको निन्दा गरेको छ। राष्ट्रसङ्घले निर्वाचित नेत्री आङ सान सू चीसहितका राजनीतिक बन्दीलाई मुक्ति गर्न र शान्तिपूर्ण प्रदर्शनकारीविरुद्ध हिंसक दमन बन्द गर्न आह्वान पनि गरेको छ।

‘साँच्चिकै ठूलो गृहयुद्धको जोखिम छ। ढिलो भइसकेको छ। सैन्य कदमलाई फिर्ता गर्ने अवसर साँघुरो भइरहेको छ’ म्यान्मारका लागि राष्ट्रसङ्घीय विशेष दूत क्रिस्टिन श्नानर बुर्गनरले भनिन् ।

एक सय १९ देशले उक्त प्रस्तावको समर्थन गरेका थिए । बेलारुस मात्र विपक्षमा उभिएको थियो । रुस र चीनसहितका अन्य ३६ देश मतदानमा सहभागी भएनन्। राष्ट्रसङ्घीय सुरक्षा परिषद्का स्थायी सदस्य पनि रहेका रुस र चीन म्यान्मारको सेनाका लागि दुई ठूला हतियार आपूर्तिकर्ता हुन्।

दक्षिण एशियाली देशमध्ये नेपाल, भारत, पाकिस्तान, भुटान, बाङ्ग्लादेश र श्रीलङ्काले मतदान गरेनन्। तर अफगानिस्तान र माल्दिभ्सले प्रस्तावको पक्षमा मतदान गरे। त्यसरी मतदानमा सहभागी नभएका केही देशले उक्त विषय म्यान्मारको आन्तरिक मामिला भएको बताएका थिए।

अन्य केहीले उक्त प्रस्तावले चार वर्षअघि सेनाले रोहिन्ज्या मुस्लिमविरुद्ध गरेको क्रूर आक्रमणको विषयलाई सम्बोधन नगरेको बताएका थिए। त्यतिबेला झन्डै १० लाख रोहिन्ज्याहरू म्यान्मार छाड्न बाध्य भएका थिए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा