शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

पुटिनको युक्रेनलाई ठाडो सन्देश : अझै वार्ता गर्ने बेला भएको छैन !


  • मंगलबार, चैत्र ८ २०७८
14.3K
SHARES

फाइल तस्विर

रुस युक्रेन युद्धले अहिले विश्व अर्थतन्त्रलाई प्रभाव पारेको अबस्थामा विश्वका धेरै मुलुकले वार्ता मार्फत युक्रेन र रुसको युद्धलाई अन्त्य गर्नु पर्ने बताई रहेका बेला रुसी राष्ट्रपति कार्यालयले अहिले नै वार्ता गर्ने बेला नभएको भन्दै अझै युद्धमै होमिने सङ्केत गरेको छ ।

रुसी र युक्रेनी राष्ट्रपतिका बिचमा वार्ता गर्ने बेला भई नसकेको रुसी राष्ट्रपतिको कार्यालयले स्पष्ट पारेको हो । रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिनका प्रवक्ता डिमित्री पेस्कोभले दुई देशका राष्ट्रपतिबीचको भेटवार्ता अहिले गर्दा अलि चाँडो हुने टिप्पणी गरे। यो टिप्पणी सँगै अझै रुसले युक्रेनमाथि हमला नरोक्ने सङ्केत देखाएको छ ।

केही दिन अगाडि दुई देशका राष्ट्रपति बीच कुराकानी हुनसक्ने बताएका पेस्कोभले कुराकानी भने अलि पछि मात्रै हुने स्पष्ट पारे। अहिले नै उनीहरूका बीचमा वार्ता हुने गरी कुनै घटनाक्रम विकास नभएको र त्यस्तो परिपक्व वातावरण पनि बनिनसकेको उनको भनाइ छ ।

‘दुई देशका राष्ट्रपतिका बीचमा शान्ति वार्ता हुनका लागि अहिले पृष्ठभूमि तयार भइसकेको छैन’, प्रवक्ता पेस्कोभले सोमबार भने। शीर्ष तहको वार्ता हुनका लागि घटनाक्रमले एउटा मोड लिइसकेको हुनुपर्ने र पर्याप्त गृहकार्य पनि हुनुपर्ने उल्लेख गर्दै उनले ती केही पनि नभएको जानकारी दिए।

वार्तामा के के विषयमा कसरी सहमति हुनसक्छ भन्ने स्पष्ट सङ्केत नदेखिएकाले अहिले नै वार्ता गर्नु सान्दर्भिक नहुने उनको भनाइ छ । गत फेब्रअरी २५ देखि रुसले युक्रेनमाथि आक्रमण गरेपछि दुवै देशका प्रतिनिधिमण्डलका बीचमा पटक पटक वार्ता भए पनि निकास निस्कन सकेको छैन।

विश्व समुदायले पनि दुवै देशका शीर्ष नेताहरूलाई तत्काल वार्तामार्फत निकास निकाल्न र युद्ध रोक्न आग्रह गर्दै आएका छन्।रुस युक्रेन युद्ध लम्बिँदै गए विश्वमानै भोकमरी निम्तिन सक्ने बताइँदै आइएको छ । विश्व बजारमा युक्रेन र रुसबाट ठुलो परिणाममा खाद्य सामाग्रि निर्यात हुने गर्छ  । अहिले युद्धको कारण कुनै पनि बस्तु निर्यात हुन सकेको छैन भने रुसलाई विभिन्न मुलुकले नाका बन्दी समेत गरेका छन् ।

युद्धको चपेटामा परेका हज्जारौ युक्रेनी नागरिक छिमेकी मुलुकमा सरण लिन पुगेका छन्  भने युक्रेनमा ठुलो जनधनको क्षति भएको समाचार बाहिरिएका छन् । अझै युद्ध लम्बिँदै गए विश्व अर्थतन्त्र नै तहस नहस हुने विज्ञहरूको दाबी छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा