काठमाडौं । युक्रेनमाथि हमला गरिरहेको रुसलाई आफ्नो मुलुकले हतियार सहायता नगर्ने चीनले बताएको छ । साथै उसले रुस–युक्रेन युद्ध अन्त्यका निम्ति सक्दो प्रयास गर्ने प्रष्ट पारेको छ ।
रुसले चीनसँग हतियार सहायता मागेका विवरण बाहिरिरहेका बेला अमेरिकाका लागि चिनियाँ राजदूत चिङ गाङले चीनले रुसलाई हतियार नदिने बताए ।
‘युक्रेनविरुद्ध लड्न रुसलाई हामी हतियार दिँदैनौं । चीन यी दुई देशबीचको तनाव अन्त्यका निम्ति सक्दो प्रयास गर्छ,’ उनले भने ।
अमेरिकी टेलिभिजन नेटवर्क सिबिएससँगको कुराकानी गर्दै राजदूत गाङले पश्चिमा शक्तिको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरे । सार्वजनिक रूपमा पश्चिमा राष्ट्रले रुसको निन्दा गर्दा समस्या जटिल बनेको उनको ठम्याइ छ ।
रुस–युक्रेन युद्धमा चीनले रुसलाई हतियार सहयोग गर्नसक्ने आशंका व्याप्त छ । गत शुक्रबार मात्रै अमेरिकी राष्ट्रपति जो बाइडनले रुसलाई हतियार सहयोग गरेमा गम्भीर परिणाम सामना गर्नुपर्ने चेतावनी चिनियाँ समकक्षी सी जिनिपिङलाई दिएका थिए ।
टर्कीले भन्यो-‘युद्ध रोक्न रूस र युक्रेन सहमति नजिक’
रूस-युक्रेन जारी द्धन्द्ध रोक्ने सन्दर्भमा चलिरहेको वार्ता सकारात्मक रुपमा अघि बढिरहेको मध्यस्थकर्ता राष्ट्र टर्कीले जनाएको छ ।
टर्कीका विदेशमन्त्री मेब्लुत चोवाशुग्लूका अनुसार द्धिदेशीय युद्धलाई निरन्तरता दिँदै आएका दुवै देश युद्ध रोक्ने विषयमा सहमति नजिक पुगेका हुन् । ‘युद्धमा आम नागरिक मारिइरहँदा सजिलै सहमति हुन्छ भन्ने हुँदैन, तर यो अवस्थामा पनि वार्ता भने चलिरहेको छ, वार्ता सहमति नजिक पुगेको छ ।’, उनले भने । गत साता युद्धग्रस्त ती दुवै देश पुगेका चोवाशुग्लूले दुवै पक्ष सम्झौताको नजिक पुगेका दाबी गरे । युद्धमा होमिएका दुवै देशसँग टर्कीको सम्बन्ध बलियो भएकै कारण युद्धलाई पूर्णविराम लगाउन टर्की मध्यस्थकर्ताको भूमिकामा अग्रसर बनिरहेको छ ।
युक्रेनी र रूसी विदेशमन्त्रीलाई टर्कीले गत साता अंकारामा स्वागतसमेत गरेको थियो । दुवै देशको वार्ताकार समितिको सम्पर्कमा टर्की रहेको चोवाशुग्लूले जानकारी दिए । युद्धलाई अन्त्य गराउन आफ्नो मुलुकले इमान्दारीपूर्वक मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको उनले बताए । रूस र युक्रेनबीच ६ बुँदे सहमति प्रस्तावमाथि वार्ता जारी छ । टर्कीका राष्ट्रपति रेचेप तैयप अर्दोआनका विदेश नीति सल्लाहकार इब्राहिम कालिनले एक सञ्चारमाध्यमसँगको कुराकानीमा यस्तो जानकारी गराएका थिए ।