शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

युक्रेन-रुस युद्ध: रुसी राष्ट्रपति पुटिन के चाहन्छन्?


  • आइतबार, चैत्र ६ २०७८
12.2K
SHARES

फाईल तस्बिर

भ्लादिमिर पुटिनले चार करोड ४० लाख नागरिकको प्रजातन्त्रमाथि युद्ध सुरु गरेर युरोपको शान्ति भङ्ग गरे।

उनले युद्धको औचित्य पुष्टि गर्न भने: आधुनिक र पश्चिमा राष्ट्रहरूप्रति झुकाव राख्ने युक्रेन रुसका निम्ति खतरा हो जसका कारण आफ्नो देशले “सुरक्षित, विकसित र अस्तित्व नरहेको” महसुस गर्न सकेन।

तर केही साता लामो बमबारी, हजारौँको मृत्यु र लाखौँ शरणार्थीहरू पलायन भएपछि प्रश्न खडा भएको छ: उनको युद्धको उद्देश्य के हो र त्यसबाट उम्कने बाटो कुन हो?

पुटिन के चाहन्छन्?

उनले सहजै र तुरुन्तै जितिने आकलनसहित जुन उद्देश्यले रुसी युद्ध सुरु गरेका थिए त्यो धुमिल बन्दै गएको देखिन्छ। “विशेष सैन्य अभियान” भनिएको यस कार्य आक्रमण हो या युद्ध भन्ने कुरामा पुटिन स्वयं प्रस्ट छैनन्।

तर के स्पष्ट छ भने उनले यस अवस्थालाई रुसी इतिहासमा निर्णायक क्षणका रूपमा हेर्छन्। रुसको भविष्य र संसारमा यसको भविष्यको स्थान खतरामा छ, विदेशी गुप्तचर प्रमुख सर्गेई नारिस्किनले भनेका छन्।

पुटिनको प्रारम्भिक उद्देश्य युक्रेनलाई कब्जा गर्नु र त्यहाँको सरकारलाई हटाउनु थियो। यस सरकारको नेटोमा आबद्ध हुने इच्छाको पनि अन्त्य गर्नु थियो।

उनले रुसी जनतालाई आफ्नो लक्ष्य “युक्रेनलाई निःशस्त्रीकरण गर्ने र त्यहाँ नाजीवादको अन्त्य गर्ने” भएको बताएका थिए। त्यसले युक्रेनको सरकारबाट आठ वर्षसम्म धम्की र नरसंहारको सिकार भएका मानिसहरूलाई बचाउने बताएका थिए।

“युक्रेनी भूभाग कब्जा गर्ने योजना छैन। हामी बल प्रयोग गरेर कसैमाथि केही लाद्ने उद्देश्य राख्दैनौँ,” उनले भनेका थिए।

रुसले बलपूर्वक क्रूर ढङ्गमा कब्जा गरेका दर्जनौँ सहरहरूमा प्रतिकार गर्न एकजुट भएका युक्रेनीहरूमध्ये कोही पनि नाजी थिएनन् र त्यहाँ कुनै नरसंहार भएको थिएन।

रुसद्वारा बमबारी जारी छ। यद्यपि शान्तिवार्ताका पछिल्ला विवरणहरूका अनुसार रुसको उद्देश्य अब युक्रेनी सरकारलाई हटाउनु होइन। त्यसको साटो युक्रेन तटस्थ बस्नुपर्ने बताएको छ।

-बीबीसी


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा