रूसले युक्रेनमाथि आक्रमण गरेको तीन साता बितेको छ। बलियो रूसले सानो र कमजोर छिमेकी युक्रेनमाथि आक्रमण गरेपछि संसारका धेरै मुलुकले रूसको आलोचना गरेका छन्। रूसको विरोध सरकारी स्तरमा मात्र नभई नागरिक स्तरमा पनि भइरहेको छ।
नेपालका दुई छिमेकी भारत र चीन भने रूसको विरोध नगरी यो मामलामा तटस्थ बसेका छन्। रूसी आक्रमणको विरोध नगरेर उनीहरूले अप्रत्यक्ष रूपमा रूसकै पक्ष लिएका छन्।
नागरिकस्तरमा भने ठूलो संख्यामा चिनियाँ र भारतीयहरूमा युक्रेनप्रति सहानुभूति छ। साउथ चाइना मर्निङ पोष्टका अनुसार ब्ल्याकबक्स रिसर्चले हालै भारत, चीन, अष्ट्रेलिया र सिंगापुरमा गरेको सर्वेक्षणमा ९१ प्रतिशत भारतीय र ७१ प्रतिशत चिनियाँले युक्रेनप्रति सहानुभूति राख्ने देखाएको छ। अष्ट्रेलिया र सिंगापुरमा युक्रेनप्रति सहानुभूति राख्नेहरू ९५ र ८६ प्रतिशत छन्।
सर्वेक्षणमा चीनका विभिन्न सहरबाट १८६१, भारतबाट १६८८, सिंगापुरबाट १७११ र अष्ट्रेलियाबाट १६६० गरी ६ हजार ९ सय २० मानिस सहभागी थिए।
यी मुलुकमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनप्रति सकारात्मक धारणा भएका मानिस निकै कम छन्। चार प्रतिशत भारतीयले मात्रै मस्कोबारे आफू सकारात्मक रहेको बताएका थिए। चीनमा ८, अष्ट्रेलियामा ११ र सिंगापुरमा ५ प्रतिशतमा रूसीप्रति यस्तो धारणा पाइयो।
चिनियाँहरूले कतिले जवाफ दिन चाहेनन् भने कतिलाई युक्रेनमा खास के भइरहेको छ भन्ने जानकारी नभएको पाइयो।रूसमाथि लगाइएको आर्थिक प्रतिबन्धको १५ प्रतिशत चिनियाँ र ४१ प्रतिशत भारतीयले समर्थन गरेका छन्। अष्ट्रेलिया र सिंगापुरमा भने यो ७८ र ६० प्रतिशत छ। यी दुबै देशले रूसमाथि आर्थिक प्रतिबन्ध घोषणा गरेका छन्।
युक्रेनमाथिको आक्रमणका लागि १० प्रतिशत चिनियाँले मात्रै पुटिनलाई जिम्मेवार ठान्छन् भने ६० प्रतिशत भारतीय, सिंगापुरका ६९ प्रतिशत र अष्ट्रेलियाका ८२ प्रतिशतले यसमा पुटिनलाई जिम्मेवार देखेका छन्।
चारै देशका निकै कम मानिसहरूले मात्रै मानिसहरूले युक्रेनमाथि रूसी आक्रमणले तेस्रो विश्वयुद्ध हुने ठानेका छन्। भारत र चीनका धेरै सहभागीले भने यो मामिलामा आफ्नो देश तटस्थ बस्नुपर्ने जवाफ दिएका थिए।