फेसबुक मेटाको शेयरमा भएको गिरावटका कारण कम्पनीका सीईओ मार्क जुकरबर्गले ३१ अर्ब डलर गुमाएका छन् । त्योसँगै विश्वका अर्बपतिहरूको सूची ब्लुम्बर्ग बिलेनियर सूचीमा उनको स्थान तीन तह झरेको छ ।
ब्लुम्बर्ग बिलेनियर इन्डेक्स अनुसार उनी अहिले विश्वका अर्बपतिहरूको सूचीमा १०औं नम्बरमा छन् । त्यो भनेको ओरेकलका सहसंस्थापक ल्यारी इलिसनभन्दा पछाडि र भारतीय अर्बपति मुकेस अम्बानीभन्दा केही करोड डलरले अगाडि हो । अर्बपतिको सूचीमा टेस्ला सीईओ एलन मस्क ठूलो अन्तरले पहिलो नम्बरमा छन् ।
मुनाफा तथा प्रयोगकर्तामा समेत गिरावटको रिपोर्ट सार्वजनिक भएसँगै मेटाको शेयर मूल्यमा भारी गिरावट आएको थियो ।
कम्पनीको शेयर मूल्यमा २६ प्रतिशतले गिरावट आयो र मेटाले एकाएक २ खर्ब ४० अर्ब डलर गुमायो । मेटाले गुमाएको यो रकम ओरेकल, सिस्को तथा डिज्नेलगायतका कम्पनीको कुल बजार मूल्यभन्दा पनि बढी हो ।
३७ वर्षीय जुकरबर्गसँग मेटा कम्पनीको ३९ करोड ८० लाख कित्ता शेयर छ । जुन कम्पनीको कुल शेयर हिस्साको १४.२ प्रतिशत हो ।
कम्पनीको शेयर मूल्यमा गिरावटपश्चात् हाल जुकरबर्गको सम्पत्ति ८९ अर्ब ६० करोड डलरमा झरेको छ । जुकरबर्गलाई भारतीय अर्बपति तथा एसियाका सबैभन्दा धनी व्यक्ति मुकेस अम्बानीले पछ्याइरहेका छन् । जुकरबर्गको भन्दा अम्बानीको सम्पत्ति ४० करोड डलरमात्रै कम छ ।
फेसबुकको शेयर मूल्यमा गिरावट जारी भएमा उनलाई अम्बानीले उछिन्ने र जुकरबर्ग टपटेन अर्बपतिको सूचीबाट बाहिरिने जोखिम बढेको छ ।
-एजेन्सी
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।