शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

पब्जीका कारण एक किशोरले आमा, दाइ र दुई बहिनीको हत्या गरेको खुलासा


  • मंगलबार, माघ १८ २०७८
11.7K
SHARES

फाईल- तस्बिर

पाकिस्तानमा एक जना किशोरले इन्टरनेटमा खेलिने गेम पब्जीका कारण आमा, दाइ र दुई बहिनीको हत्या गरेको खुलेको छ।

पाकिस्तानी समाचार पत्र द डनका अनुसार पन्जाब प्रान्तको राजधानी लाहोरमा केही दिनअघि एउटै परिवारका चार जनाको गोली हानी हत्या भएको थियो।

४५ वर्षकी नहिद मुबारक, उनका २० वर्षका छोरा तैमुर सुल्तान, छोरीहरू १५ वर्षकी महनुर फतिमा र १० वर्षकी जन्नतको शव एउटै कोठामा फेला परेको थियो। घरमा नहिदका छोरा १४ वर्षका जैन अलि मात्रै जिवित थिए। उनको शरीरमा कुनै चोट-पटक पनि लागेको थिएन।

प्रहरीले विभिन्न कोणबाट हत्याको अनुसन्धान गरेको थियो। अनुसन्धान गर्दै जाँदा १४ वर्षका अलि नै हत्या गरेको खुलेको प्रहरी अधिकारीले द डन पत्रिकालाई जानकारी दिएका छन्। अलि धेरैजसो समय आफ्नो कोठामा पब्जी खेलेर बिताउँथे। उनकी आमा पब्जी धेरै नखेल भनेर उनलाई गाली गर्ने गर्थिन्।

आफूले पब्जीमा टार्गेट पूरा गर्न नसकेपछि त्यही झोंकमा सबैलाई गोली हानेको अलिले प्रहरीलाई बयान दिएका छन्।

नहिदले आफ्नो सुरक्षाका लागि लाइसेन्स लिएर घरमा पेस्तोल राखेकी थिइन्।

अलिले सबैभन्दा पहिला आमालाई गोली हानेका थिए। त्यसपछि उनीसँगै सुतेका दुई बहिनीहरूलाई पनि गोली हानेको र आवाज सुनेर कोठाभित्र आएका दाइलाई पनि उनले गोली हानेर मारेको प्रहरी अनुसन्धानले देखाएको छ।

सबैलाई गोली हानिसकेपछि अलिले पेस्तोल लिएर ढलमा फालेका थिए। उक्त पेस्तोल प्रहरीले अझै भेटाएको छैन। पेस्तोल ढलमा फालेपछि उनी आएर आफ्नो कोठामा सुतेका थिए। उनकी आमा र बहिनी घरको तल्लो तलामा सुत्थे भने अलिको कोठामा माथिल्लो तलामा थियो।

अनुसन्धानको सुरूमा प्रहरीले अलिलाई शंका गरेको थिएन तर अरू कसैले हत्या गरेको क्लु भेटिएन। अलिको हाउभाउ पनि शंकास्पद लागेपछि प्रहरीले उनीमाथि नै अनुसन्धान थालेको थियो। अनुसन्धानबाट गोली हान्दा रगत लागेका अलिका लुगा फेला परेका थिए। त्यसपछि उनले आमा, दाइ र बहिनीलाई गोली हानेको स्वीकारेका हुन्।

लाहोरमा पब्जीका कारण भएको यो चौथो आपराधिक घटना हो। सन् २०२० यता लाहोरमा तीन जना पब्जी खेलाडीले आत्महत्या गरेका छन्। प्रहरीले उनीहरूले आत्महत्या गर्नका पछाडि पब्जी कारण रहेको बताएका छन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा