मनोरोग भनेको मनको रोग हो । जब हामीमाथि तनाव हावी भई त्यसले हाम्रो दैनिकीलाई असर पार्छ भने त्यो मनोरोग हो।
सामान्य तनाव सबैलाई हुन्छ । तनाव नहुने मानिस हँुदैन । तर, त्यही तनाव बढी हुनु भनेको रोग हो । कहिले विभिन्न कारणले मनोरोग हुनेगर्छ भने कहिलेकाहीँ बिनाकारण निराशापन छाउँछ ।
अझै पनि हाम्रो समाजमा तनाव वा निराशापन देखिएमा मानसिक रोगकै संज्ञा दिने गरिन्छ । तर, त्यसो होइन।
डिप्रेसन कम कडा खालको मानसिक रोग हो । हाम्रो मन मस्तिष्कले हामीलाई सामान्य तरिकाले चलाइरहेको हुन्छ । तर, कहिलेकाँही विशेष कारणले मन दुःखी भयो र त्यही दुःखको अवस्था लामो समयसम्म रहिरह्यो भने त्यसलाई डिप्रेसन भनिन्छ।
मन दुःखी, उदास भयो भने केही समयमा सामान्य अवस्थामा फर्किहाल्छ । तर मन सामान्य रुपमा फर्किएन अनि दुई हप्तासम्म उदासी कायम रह्यो र अरु लक्ष्यण पनि देखिए भने डिप्रेसन भएको हुन सक्छ।
उदास, दुःखी, बोर वा दिक्दार अनुभव हुँदैमा डिपे्रसन भएको बुझ्न मिल्दैन। तर, यसरी उदास अनुभव हुनु मनोरोगको प्रमुख लक्षण भने अवस्य हो। मनोरोगको लक्षण मानिने उदास अनुभवलाई धेरैले रोगकै अंश हो कि प्रतिकूल परिस्थितिको स्वाभाविक प्रतिक्रिया भनीे छुट्याउन सक्दैनन्। जसले गर्दा समस्याको पहिचान र उपचारमा कठिनाइ हुनेगर्छ।
डिप्रेसनका बहुसंख्यक रोगीमा यो समस्याको न निदान हुन्छ, न उपयुक्त उपचार नै। त्यसैले जुनसुकै समाजमा मनोरोगका बिरामीको संख्या अत्याधिक हुनेगर्छ। विश्व स्वास्थ्य संगठनले संसारमा मानव जातिलाई सताउने १० मुख्य स्वास्थ्य समस्यामा मनोरोगले निकट भविष्यमा नै उच्च रक्तचापलाई उछिनेर पहिलो हुने प्रक्षेपण गरेको छ। यति भयावह अवस्थातर्फ उन्मुख हुँदा पनि मनोरोगबारे जागरुकता देखिँदैन। यसलाई प्राथमिकतामा पारिएको छैन। मनोरोगको प्रमुख हिस्साका रुपमा रहेको डिप्रेसनबारे हाम्रो समाजमा उतिधेरै छलफल र बहस हुने गरेको छैन। जसको फलस्वरुप यो रोग भुसको आगोजस्तो फैलिँदै गइरहेको छ।
डिप्रेसनका प्रमुख लक्षण
उदासिनता,
इच्छाशक्तिको अभाव
शारीरिक कमजोरी
ध्यानको कमी
कमजोर आत्मविश्वास
हीनताबोध
पश्चाताप
निन्द्रा नलाग्ने
बोल्न मन नलाग्ने
मन खुसी नहुने
पहिला आफूलाई जे कुरामा खुसी र आनन्द लाग्थ्यो पछि त्यो नहुने
टाउको दुख्ने
मुटु काम्ने
एक्लै बसेर रुन मन लाग्ने
खानामा अरुची हुने, आदि ।
उपचार गरे निको हुन्छ
डिप्रेसन भई तनाव देखिन थालेको छ भने पनि त्यो बिस्तारै घट्दै जानुपर्छ, बढ्दै गयो भने समस्या हो ।
डिप्रेसन भइसकेपछि समयमै उपचार गरियो भने निको हुन्छ । उपचार नगरी बस्यो भने लक्षण बढ्दै–बढ्दै जान्छ र जटिल बन्छ । आत्महत्या गर्ने सोचाइ आउन थाल्छ । दैनिक जीवनमा असर पर्छ । सामाजिक, आर्थिक, पारिवारिक र व्यावसायिक जीवनमा असर पर्छ । त्यसैले समयमै उपचार गरेर निको हुनेतर्फ लाग्नुपर्छ ।
औषधि नियमित र पूरा डोज खानुपर्छ
कसैलाई मनोरोग भयो भने त्यो मानसिक रोग नै हो भन्ने सोच बदल्नुपर्छ । डिप्रेसन भयो भने जीवनभर औषधि खानुपर्छ भन्ने गलत सोच छ । त्यस्तो होइन । केही समय औषधि खाएपछि यो रोग कम हुँदै जान्छ र औषधि लिइरहनुपर्दैन । तर, सही ठाउँमा सही उपचार हुनुपर्छ । हामीले औषधि र परामर्श (साइको थेरापी) पद्दतिबाट बिरामीको उपचार गर्छौं।
परिवारमा कसैलाई मनारोग भयो र औषधि खानुपर्ने छ वा खाइरहेको छ भने पूरा मात्रामा औषधि खानुपर्छ । औषधिले माथि भनेका रसायन तत्वको सन्तुलन मिलाएर नै तनाव कम गर्न सहयोग पुग्छ।
मनोरोग लागेको व्यक्तिलाई घरमा मानिसले चाहिनेभन्दा बढी ख्याल गर्छन् । ख्याल गर्नु राम्रो हो, तर त्यो पनि बढी भयो भने अर्को तनाव थपिन सक्छ।
उपचार विधि
डिप्रेसनको उपचार बहुआयामिक हुने गर्छ। यसमा तनावको समाधान, यसको बहन गर्ने क्षमता, सीप र कला अभिवृद्धि गर्ने मनोवैज्ञानिक विधि उपयोगी हुन्छ। अरु व्यक्तिसँग गलत र अनुपयुक्त अन्तरक्रिया र एकआपसको कलह पनि डिप्रेसनको पृष्ठभूमि तयार पार्न सक्छ। डिप्रेसन भएपछि पनि कतिपय बिरामीको अन्य व्यक्तिसँगको सम्बन्धमा चिसोपन आउन सक्छ। अतः यस्ता व्यक्तिको अरुसँगको सम्बन्ध सुमधुर बनाउने र सरसल्लाह अनि सहयोगको वातावरण बनाउने तरिका उपचारको अभिन्न पाटो हुनेगर्छ। उदास हुने व्यक्तिहरुको सोच, विचार र व्यवहारमा हावी हुने विकृतिलाई सुधार गर्ने मनोवैज्ञानिक तरिका पनि बिरामीहेरी आवश्यक पर्न सक्छ।
अहिले बिरामीको लक्षण र आवश्यकता हेरी विविधखालका लक्षण कम गर्ने औषधि पाइन्छन्। रोग निको पार्ने र पछि हुनबाट रोकथाम गर्ने गुण भएका भरपर्दा र सुरक्षित धेरै औषधिको विकास भइसकेको छ। कडा डिप्रेसनमा चिकित्सकको सल्लाहमा बिजुलीको ‘सेक’ दिने उपचार पनि अति उपयोगी र सुरक्षित मानिन्छ। उपचारबाट लक्षण हटेपछि पुनस्र्थापनाका कार्यक्रम आवश्यक हुन्छ। मनो परार्मश (साइको थेरापी) ले मात्र पनि बिरामीको उपचार गर्न सकिन्छ । मानिसको नकारात्मक सोचाइलाई कसरी बदल्न सकिन्छ भन्ने कुरा सिकाइन्छ । -एजेन्सीको सहयोगमा