धेरै मानिस छन्, जसको दैनिकी एक कप कफीबाट सुरु हुन्छ । तर, यस्ता मानिसहरूलाई आफ्नो दैनिक उत्पादन क्षमतामा कफीले असर पुर्र्याएजस्तो लाग्छ । वास्तवमा धेरै अनुसन्धानले कफी स्वास्थ्यका लागि फाइदाजनक रहेको पुष्टि गरेको छ ।
ठूला सहरमा मात्र होइन, साना सहरमा पनि कफी सप खुल्न थालेका छन् । जहाँ साथीभाइ, पत्रकार, साहित्यकार, कलाकारको समूह भेला हुन्छन् र गफ गर्छन् ।
कफीको सामाजिक फाइदा त सबैलाई थाहा छ, तर यो स्वास्थ्यका लागि कति लाभदायी छ ? यो कुरामा कम मानिस मात्र कुरा गर्छन् ।
कफी असरदार छ ! मिथ वा सत्य ?
दिनमा तीन वा चार कप कफी स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । अनुसन्धानअनुसार चिनी नराखेको कालो कफी ज्यादा स्वस्थकर मानिन्छ । कफीसँग हलुका स्न्याक्स लिनु नै राम्रो मानिएको छ ।
लन्डन विश्वविद्यालयको साइन्स टेक्नोलोजी विभागले कफीको असरमा एक रिपोर्ट तयार पारेको छ । पछिल्लो रिपोर्टअनुसार कफीको हरेक कपले मधुमेहको खतरालाई ७ प्रतिशतसम्म कम गर्छ ।
त्यस्तै, कफीमा पाइने क्याफिनले स्वास्थ्यलाई पार्किन्सन्स रोगबाट बचाउन सहयोगी भूमिका खेल्छ । अनुसन्धानकर्ताले यो तथ्यलाई शतप्रतिशत भने मानेका छैनन् ।
रिपोर्टअनुसार कफी पिउने व्यक्तिलाई मिर्गाैलाको क्यान्सर हुने सम्भावना कम हुन्छ । तर, अन्य क्यान्सरबाट बचाउन कफीको कस्तो भूमिका हुन्छ त्यो भने अनुसन्धानबाट खुलेको छैन ।