आइतबार, माघ ९ २०७८
ताजा अपडेट

थलिएका स्कुल उठाउन सक्ने नेतृत्व कसले गर्न सक्छ ?


  • विवेक विनयी
  • बुधबार, पुष १४ २०७८
1.2K
SHARES

कोरोना महामारीबाट थलिएका नीजि विद्यालयहरु यतिखेर आफ्नो छाता संगठन प्याब्सनको स्थानीय तहदेखि केन्द्रसम्म नयाँ नेतृत्व छान्न देशैभर जुटी रहेका छन् । देशको राजधानी काठमाडौँ जिल्ला पनि आफ्नो नयाँ नेतृत्व छान्न लागेको छ ।

प्याब्सनको १५ औँ अधिवेशन चल्दै गर्दा देशको नीजि शैक्षिक संस्थाहरु कठिन मोडमा छन् । कोरोना महामारीको कारण लामो समयसम्म देश ठप्प हुँदा देशको आर्थिक अवस्थामा ठूलो धक्का लाग्यो । यसले नीजि शैक्षिक संस्थाहरुलाई पनि गम्भिर असर पार्यो ।

महामारीको कारण विद्यालयहरुले आर्थिक तथा शैक्षिक क्षति वेहोर्नु परीरहेको छ ।

प्रायजसो विद्यालयमा विद्यार्थीसंख्या घटेको कारण आम्दामी पनि घट्यो तर खर्च भने बढीरहेको छ । अर्काे तर्फ लामो समय अनलाइन कक्षा संचालन गर्दा सिकाइमा पनि उल्लेख्य कमी आयो । यी दुबै क्षतिको खाड्ल पूर्नको लागि विद्यालयहरुलाई ठूलो चुनौती छ ।

यस्तो कठिन परिस्थितिको सिमसारमा आफ्ना सदस्य विद्यालयहरु घिस्रिरहेको बेलामा प्याब्सन काठमाडौँले कस्तो नयाँ नेतृत्व पाउँला भन्ने शिक्षा क्षेत्रमा चासोको विषय बनेको छ । कोरोना संकट अझै हटेको छैन । फेरि पनि बन्दाबन्दी हुने संभावना सामुन्ने छ । यस्तो बेलामा तीन वर्षको लागि नयाँ नेतृत्व चयन गर्दै गर्दा प्रिन्सिपलहरु एवम् सम्बद्ध सबैले एउटा प्रश्न भने मनमा राख्नुपर्छः थलिएको स्कुललाई कसले उठाउँला ?

निश्चित रुपमा आर्थिक तथा शैक्षिक रुपमा थलिएका विद्यालयलाई उठाउन खास योग्यता भएको टिम आउन जरुरी छ । त्यसको लागि हरेक सदस्यले सही नेतृत्व चयन गर्ने समझ राख्नुपर्दछ । थलिएका विद्यालयहरुलाई माथि उठाउन १५ औँ अधिवेशन मार्फत निर्माण हुने नयाँ टिमका हरेक सदस्य सित कम्तिमा ४ वटा मुख्य ल्याकत हुन जरुरी छ । १) दक्ष एवम् उर्जाशील २) भिजन तथा कार्य सम्पादन ३) सामूहिक नेतृत्व ४) राष्ट्रिय शैक्षिक उन्नयन

दक्ष एवम् उर्जाशील

अबको नेतृत्वमा नेतृत्वदायी एवम् शैक्षिक दक्षता अति नै आवश्यक छ । घरमा आगो लागेको बेलमा नडराइ, नआत्ति घर र आफ्नो ज्यानलाई सुरक्षित पार्न सक्ने दख्खल भएको नेतृत्वले मात्र थलिएका स्कुलहरुलाई दिशानिर्देश गर्न सक्छ । व्यवस्थापकीय एवम् शैक्षिक दक्षता भएकाहरुले मात्र यस्तो परिस्थितिमा सहि निर्णय गर्न सक्ने छन् । अबका दिनमा विद्यालयहरुले निरन्तर र कठिन प्रयासहरु गर्नुपर्ने भएकोले नेतृत्व अत्यन्तै उर्जाशील हुन जरुरी छ । त्यसकारण अब नेतृत्वमा आउने साथीहरु सबै भन्दा पहिले शैक्षिक एवम् व्यवस्थापन क्षेत्रमा निपूर्ण जरुरी छ । साथै कठिन अवस्थामा उत्साहका साथ निरन्तर अघि बढ्न उर्जावान पनि हुनुपर्दछ ।

भिजन तथा कार्य सम्पादन

दक्ष र उर्जावान साथीहरुले प्याब्सनको रथलाई हाक्न त सक्छन् तर कहाँ र कसरी पुर्याउने भन्ने निश्चित भिजन र कार्य सम्पादन हुनुपर्छ । २०४६ साल अघि सबै राजनीतिक दलहरुको एउटै र प्रष्ट मिसन थियो–प्रजातन्त्र । उनीहरुले संयुक्त रुपमा आन्दोलन गरे र प्रजातन्त्र पनि प्राप्त भयो । त्यसपछि देशलाई कता लैजाने भन्ने दलहरु सित निश्चित भिजन भएन । जतापायो तेतै लगे । सत्ताको चास्नीमा हराए । आज सम्म देशलाई कता लैजाने अमुख भिजन छैन । प्याब्सनको नेतृत्वमा आउने साथीहरुसँग निश्चित भिजन र त्यसलाई निष्कर्षमा पुर्याउन सक्ने कार्य सम्पादनको तागत हुनुपर्छ । कागजमा कोरको भिजनलाई व्यवहारमा उर्तान सक्ने गरी कार्य सम्पादन पनि गर्न सक्नुपर्छ । अतः यो कठिन अवस्थामा नेतृत्व गणको आर्काे योग्यता भिजन र कार्य सम्पादन तागत पनि हो ।

सामूहिक नेतृत्व

निश्चित भिजन र कार्यसम्पादनको साथमा दक्ष तथा उर्जाशील नेतृत्वले प्याब्सनको रथलाई अगाडि बढाउँछ । यसरी अघि बढाउँदै गर्दा सिंगो टिमका सबै सदस्यहरु एकै साथ, एकै चालका साथ हिड्न सकेन पनि यात्रा पूरा हुन्न । एकले अर्कालाई सहयोग नगर्ने, सम्मान नगर्ने र सद्भाव नराख्ने हो भने भिजन, दक्षता, उर्जा आदि सबै भएर पनि यात्रा सफल बन्न सक्दैन । सबै सँगै हिड्ने कलालाई नै सामुहिक नेतृत्व भन्ने गरिन्छ । सबैको क्षमता, रुची र प्रभावलाई मध्य नजर गर्दै सामुहिक नेतृत्वमा सहजता पूर्वक जानसक्ने मानिसहरुले मात्र संगठनलाई सफल तृल्याउन सक्छन् । र आफु पनि सफल बन्न सक्छन् । त्यसकारण सामूहिक नेतृत्वको समझ अबको नयाँ नेतृत्वगणको लागि अर्काे महत्वपूर्ण योग्यता हो ।

राष्ट्रिय शैक्षिक उन्नयन

अन्तिम योग्यता राष्ट्रिय शैक्षिक उन्नयनको संकल्प हो । यो देशलाई समृद्ध एवम् शान्त बनाउने प्रमुख अस्त्र शिक्षा हो । शिक्षा बिना देश समृद्ध र शान्त बन्न सक्दैन । समृद्ध एवम् शान्त देशको मानचित्र हृदयको पानामा कोरेर राष्ट्रिय शैक्षिक उन्नयनको लागि लाग्ने प्रण गर्नुपर्छ । एक अटुट संकल्प लिनुपर्छ । हामीले हाम्रा विद्यालयहरुलाई उठाएर वास्तवमा देशलाई नै उठाउन चाहान्छौँ भन्ने दुरदर्शी सोच हुनुपर्छ । देश रहयो भने मात्र हामी र हाम्रो विद्यालय रहन्छ भन्ने सोच नेतृत्वमा प्रगाढ हुनुपर्छ ।
अतः अब काठमाडौँ प्याब्सनको नेतृत्वमा आउन चहानेहरु तथा ल्याउन चहानेहरुले यी ४ आयामहरुलाई बुझ्न जरुरी छ । एकपटक ऐना अगाडि उभिएर आफैँलाई प्रश्न गरौँः के म सित यस्तो कठिन अवस्थामा विद्यालयलाई उकास्न सक्ने क्षमता छ ? नेतृत्वमा ल्याउन चाहने साथीहरुले पनि सोच्नु पर्छ कि मैले चुनेको साथीले के साँच्चै प्याब्सनलाई माथि उकास्न योगदान दिन सक्छ वा ठाउँमात्रै ओगट्छ ?
प्याब्ससन सधैँ प्याब्सनिष्टहरुसँग जोडिएर अघि बढोस् । शुभकामना ।

विवेक विनयी
प्राचार्य, जुगल नवगुरुकुल
कपन, काठमाण्डाै
www.bibekbinayee.com


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा