ज्वानोले सयौँ किसिमका खाना पचाउन मद्दत गर्छ। संस्कृत भाषामा र चरक संहिता दुबैमा ज्वानोको गुणको बखान गरिएको छ। भारतका केही भागमा त ज्वानोले हैजालाई पनि ठिक गर्छ भन्ने विश्वास गरिन्छ।
सुत्केरीका लागि ज्वानो महत्त्वपूर्ण खाद्य मानिन्छ। यो बालबालिका, वृद्ध सबैका लागि भोजन र औषधी दुवै हो। यसमा रहेको क्याल्सियम उच्च कोटिको हुन्छ र शरीरमा सजिलैसँग पच्छ। ज्वानोमा धेरै क्याल्सियम हुन्छ। यसले हाडलाई बलियो बनाउँछ।
ग्याँस भरिँदा: तीन देखि चार चम्चा ज्वानोलाई कागतीको रसमा भिजाउने र छायामा सुकाउने । पुरै सुकेपछि यसमा अलिकति बिरे नुन हाल्ने र दिनको दुई चोटि अलिकति तातो पानीसँग चपाएर खाने । त्यस बेलामा चिल्लो, पिरो र मासु नखानु राम्रो हुन्छ ।
बच्चाहरूको नाक बन्द हुँदा : आधा मुठी जति ज्वानोलाई अलि–अलि थिचेर एउटा कपडामा बाँधेर बच्चाको सिराननिर राख्ने । त्यसको गन्धले बच्चाहरूको नाक खुल्न मद्दत गर्छ ।
चिसो लागेका बेलाः आधा चम्चा ज्वानोको धुलो र एक चम्चा बेसार एक गिलास पानीमा राखी उमाल्ने र सहन सक्ने तातो पिउने।
नाक बन्द भएका बेलाः एउटा भाँडोमा पानी हाली एक चम्चा ज्वानो पानीमा उमाल्ने र पानीको वाफ लिने।
खोकी लाग्दा : आधा चम्चा ज्वाना, दुई–तीनवटा ल्वाङ र अलिकति नुन पानीमा मिसाएर बारम्बार पिउने।
सुत्केरीलाई पनि ज्वानोको सुप बनाएर दिने चलन छ। बिरामीबाट तङ्ग्रिन लागेको बालकदेखि बृद्धसम्म सबैलाई ज्वानोले फाइदा गर्छ। कुपोषण भएका बालबालिकालाई ज्वानको सुप पिउन दिएमा उनीहरुको स्वास्थ्य राम्रो हुँदै जान्छ।