शुक्रबार, असोज ८ २०७८
ताजा अपडेट

पैसा र पदको दम्भ मान्छेको पहिचान हैन, व्यवहार र बोली बचन सहितको मेहनतले मान्छे सफल बन्न सक्छ

भ्रष्ट भएर प्रस्ट नबोली जीवन बाच्नु के बाच्नु भ्रष्ट नभई प्रस्ट बोलेर जीवन बाच्नु पो बाच्नु हो


  • पुष्पा घिमिरे
  • शुक्रबार, भाद्र ४ २०७८
8.5K
SHARES

केही लेख्न मन छ,तर समाजले सधैँ पैसा कमाउनेलाई मात्र अब्बल ठान्छ, साथी भाइले पनि त्यही त हो पैसा पद प्रतिष्ठा पावर लाई ठुलो ठान्छन् । ईमान्दारी र सरल बोली बचनलाई लामो समय सँगै काम गरेका आफ्नै साथीहरूले त गन्दैनन् अरूको के कुरा गर्नु बहिनी, एक सरकारी कामबाट अवकाश प्राप्त अङ्कलको गुनासो हो यो ।

अवकाश प्राप्त जीवनपछि पनि प्रईभेटी जागिर गर्दै छु । म राम्रै पढ लेख मान्छे हुँ, त्यो जमानामा बिकम पास गरेर जागिर तिर लागेको हुँ । साथीहरू चाकडी चाप्लुसी गर्दै माथिल्लो पोस्टमा पुगे पैसा पनि मनग्गे कमाए तर ईमान्दारीता कमाउन सकेनन् । तिनीहरूले गलत तरिकाले कमाएको पैसाले अहिले उनीहरूलाई पोल्दै छ कहिले अख्तियारको चिठी कहिले अदालतको हाजिरी ।

पैसा कमाए झलक्क हेर्दा म सँगै जागिर गरेकाहरूको महल थियो गाडी थियो के थिएन तर अहिले दिनदिनै तनाव मात्र छ । लुकेर जिन्दगी बिताउँछन् । मुस्कुराउँदै ती अङ्कल भन्नु हुन्छ उनीहरू भन्दा म कयौँ गुणा सफल हुँ । पेन्सन आउँछ खानलाई पुग्छ । गलत गरिएन अदालत र अख्तियारले छोएन शत्रु कमाइएन गृहस्थी जीवनमा यो भन्दा ठुलो सफलता के हुन्छ र ?

उहाँ मुस्कुराउँदै भन्नु हुन्छ, मैले चाकडी पनि गरिन पैसातिर लागेर मनलाग्दी पनि गरिन त्यसैले जिवन रहुन्जेल इमानदारि काममा लागे मैले पैसा कमाइन तर इमान कुनै पैसावालाको भन्दा कम छैन । त्यसैले म यो साठीको वसन्त पार गर्दै गर्दा सफल जीवन बाचेजस्तो लाग्छ ।
भ्रष्ट भएर प्रस्ट नबोली जीवन बाच्नु के बाच्नु भ्रष्ट नभई प्रस्ट बोलेर जीवन बाच्नु पो बाच्नु हो । सरकारी जागिरबाट अवकाश प्राप्त एक जना परिचित अङ्कलले भनेको कुरा मैले प्रस्तुत गरेकी हुँ । बडो घत लाग्दो छ कुरा ।

उहाँलाई मनमा पथ भ्रष्ट कर्मचारीले गरेको अमानवीय व्यवहार खट्किएको रहेछ । तर कसलाई सुनाउने उनको आवाज त्यसै त्यसै अड्किएको रहेछ । इमानदारी काम गरेर माथिल्लो पदमा नपुगे पनि मैले सफल जीवन बिताए बैनी भनेको सुन्दा मलाई ती अङ्कल प्रति बडो सम्मान जाग्यो ।

मैले उनीसँग कुरा गर्दा सत्य र इमानदारी मान्छे नै सफल हुन्छन् भन्ने बुझे तर मलाई कसरी सफल भइन्छ भन्ने बुझ्नु थियो त्यो कुरा सबै पाउन सकिन । अनि सरासर घर फर्के केही सफल व्यक्तिहरूको जीवनी गुगलमा सर्च गरेकी छु र यो लेखनीमा तिनै सफल व्यक्तिहरूलाई भरेकी छु ।

सुरुमै निचोडमा पुगेकी छु परिश्रम र धैर्यता विना कुनै मान्छे सफल हुँदैन त्यसमाथि इमानदारी र सरल सबैले मन पराउने व्यवहार गर्ने हो भने मान्छे साँच्चै मान्छे बन्छ ।

एक जना पत्रकारले विश्व प्रसिद्ध वैज्ञानिक अल्बर्ट आईन्सटाईनलाई सोधे तपाईँको सफलताको रहस्य के ? आईन्सटाईनले मुस्कुराउदै दुई शब्दमा जवाफ दिए परिश्रम अनि धैर्यता ।

आईन्सटाईनको जीवन नियालेर हेर्दा जीवको सुरुवाती दिनहरू अति नै नराम्रा थिए । स्कुललाई जेल जस्तै सम्झने उनलाई टिचर तथा साथीहरूले मन्द बुद्धी उपनाम दिएका थिए ।
यस्तो उपनाम पाएका उनी विश्व प्रसिद्ध होलान् भनेर कसैले सोच्ने कुरै भएन अझ गणित शिक्षकले त आईन्सटाईनलाई सात जन्ममा पनि गणित सिक्न नसक्ने भविष्यवाणी गरेका थिए ।

अब सोचौ त यस्तो मान्छे कसरी विश्व प्रसिद्ध हुन्छ ? तर उनको निरन्तर परिश्रम र धैर्यताको अगाडि सबै फिक्का साबित भए । मेहनत र धैर्यताको कारण त्यस्तो मन्द बुद्धि भएको भनिएका बालक १२ बर्से उमेरमा युग्लिडको ज्यामिति र १६ बर्से उमेर सम्म ईन्टिग्रेट क्याल्कुलसको ज्ञाता भइसकेका थिए ।

अझ यो भन्दा बढी मेहनतका कारण सन १९०५ मा फोटो ईलेक्टो ईफेक्ट, प्रतिपादन गरेबापत भौतिक विज्ञानमा नोबेल पुरस्कार पाएका थिए । उनले प्रतिपादन गरेको सापेक्षतावादको (The Theory of relativity ) सिद्धान्त ले संसारमै तहल्का मच्चायो ।

यस्तो मन्द भनिएको मान्छे,विश्वविख्यात भयो । अब हरेक बुवा आमाले सोच्न जरुरी छ कि, ईक्जाममा नम्बर थोरै ल्याएर अथवा युनिभर्सिटी टप नगर्दैमा मान्छे बिग्रने हैन । हरेक व्यक्तिले क्षमता जन्मँदै लिएर आएको हुन्छ । क्षमता विहीन मान्छे धर्तीमा भेटिँदैन तर उचित ठाउँमा उचित क्षमता देखाउन नसक्दा मात्र मान्छे पछि परेको हो । तर नपढेर अङ्क कम ल्याउँदैमा मान्छेलाई यसको अस्तित्व संसारमा छैन भनेर भन्न मिल्दैन मात्र हैन मिल्दै मिल्दैन ।

अर्का विश्वविख्यात आविष्कारक थोमस एल्बा उडिसनले पनि आफ्नो औपचारिक शिक्षा पुरा गर्न सकेनन् तर मेहनत र स्वध्यानबाट १०९३ वटा आविष्कार गरी सबैभन्दा धेरै आविष्कार गर्ने आविष्कारकको रूपमा चिनिन पुगे ।

१२ बर्से सानै उमेरमा रेलवे स्टेसनमा पत्रिका बेचेर भोक मेटाउन बाध्य उनी मेहनतका कारण पत्रीकाको समेत सम्पादक भएका थिए । गरिबीले उनको लक्षलाई रोकेन उनले रेलको डिब्बालाईनै आफ्नो प्रयोगशाला बनाए । भनिन्थ्यो उनी यती धेरै मेहनत गर्दथे आफ्नु नाम समेत बिर्सिन्थे । ईलेक्टीक ल्याम्प बनाउँदा उनी ९९९ पटक असफल भएको तर मेहनत र धैर्यतालाई नछोडेका कारण उनी हजारौँ पटकमा सफल भएका थिए र सन १९७३ म यही ल्याम्पबापत नोबेल पुरस्कार समेत पाएका थिए ।

त्यसै गरि अर्की वैज्ञानिक म्याडम म्यारी क्युरी पनि मेहनत र धैर्यताको कारण सफल व्यक्तित्वमा गनिन्छिन् । महिला भएकै कारण पोल्यण्डमा उच्च शिक्षाबाट वञ्चित उनी उच्च शिक्षाका लागी बिदेसिएकी थिइन । तर गरिबीले डेरा जमाएको थियो उनको जीवनमा । खान सम्म कठिन हुँदाहुँदै पनि मेहनतका कारण सन १९०३ मा Radio activity मा अनुसन्धान गरेबापत नोबेल पुरस्कार जितिन । बिचमै उनका पतिको मृत्यु भयो तर लगावलाई निरन्तरता दिँदै गइन । फेरि सन १९११ मा Radium and polonium पत्ता लगाएबापत रसायन शास्त्रमा नोबेल पुरस्कार जितिन । यसरी कठिन परिस्थितिमा पनि मेहनत नछोडेका कारण २ बिदामा नोबेल पुरस्कार जितिन ।

अरू प्रशस्तै उदाहरण भन्न सकिन्छ,अमेरिकाका जर्ज वासिङ्टन,अब्राहम लिकंन,फ्रान्सका नेपोलियन बोनापार्ट जस्ता व्यक्तिहरू पनि मेहनतकै कारण सफलता चुमेका हुन । यस्तै पेले,म्यरोडोना,मेसी,रोनल्डो जस्ता खेलाडी जहा छन् सबै मेहनत रधैर्यतको कारण नै शिखर चुमेका छन् । त्यस्तै विलियम सेक्सपियर,रवीन्द्रनाथ टैगोर,लक्ष्मीप्रसाद देवकोटा जस्ता प्रसिद्ध लेखक हरु पनि मेहनतकै कारण शिखरमा पुगेका हुन । माइक्रोसफ्ट कम्पनीका मालिक बिल गेट्स पहिले कलेजबाट आउट भए तर मेहनत र धैर्यता गुमाएनन् लगातार धनिक पहिलो दोस्रो नम्बर मा पर्न सफल छन् ।

यसरी संसारका जति पनि चर्चित वैज्ञानिक,व्यापारी,कलाकार,साहित्यकार,खेलाडीहरू को उदाहरण प्रस्तुत गरेपछि एउटा कुरा स्पष्ट भन्न सकिन्छ यिनीहरू सबै जीवनको सुरुमा कमजोर छन् अभावमा छन् । तर कडा परिश्रम मेहनत र धैर्यताका कारण शिखर चुमेका छन् । त्यसैले यस्ता सफल व्यक्तिबाट सफलताको रहस्य सिक्न जरुरी छ ।

हाम्रोमा चलन छ स्कुलमा राम्रो अङ्क ल्याएन भने मान्छे खतम भयो तर त्यसरी मान्छे खतम भयो भन्न काहा पाइन्छ र ? मन्द बुद्धि भनिएकाहरू विश्व प्रसिद्ध हुन्छन् भने तपाई हामी मन्द बुद्धिका पनि हैनौ, त्यसैले हरेक विद्यार्थी र हरेक मान्छेलाई उसको पढाई र नेचरले सफल र असफल भन्न सकिँदैन ।

औपचारिक शिक्षा लिँदै नलिएकाहरू पनि सफल हुन सक्छन्,धुरन्धर पढेकाहरू पनि असफलतामा लटपटिएका हुन सक्छन । त्यसैले मेहनत र धैर्यतामा विश्वास राख्दा जीवन सफल हुन्छ भन्ने कुरा यथार्थ हो ।

यो सत्य हो मेहनत र परिश्रमले मान्छे बदलिन्छ । नपत्याउने खोलाले बगाउँछ । जान्दै नजान्ने भनेर हेप्न खोजिएका हरू आफूलाई म पो जान्ने हुँ भन्ने भन्दा धेरै जान्ने हुन सक्छन् । त्यसैले मान्छेलाई कमसेकम मान्छेको व्यवहार गर्नु पर्छ । घर अफिस समाज अहिले पैसा र पावरको दम्भले अन्धो बन्दै छ यो गलत हो ।

मान्छे मान्छे जस्तै बन्नु पर्छ । सानालाई माया र ठुलालाई आदर गर्ने बानी हुनु पर्छ । डोमिनेट गरेर मान्छेको अस्तित्वमा प्रश्न उठाउनेहरू मान्छे हैनन् जस्तो मलाई लाग्छ । त्यसैले मान्छे बनेर बाचौँ मेहनत गरेर काम गरौँ सफलताले आफै पछ्याउँछ । मेरो बिचारमा पैसा र पदको दम्भ मान्छेको पहिचान हैन, व्यवहार र बोली बचन सहितको मेहनतले मान्छे सफल बन्न सक्छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा