शनिबार, साउन ९ २०८३
ताजा अपडेट

विरासत मात्र हैनन् ‘प्रकाशमान’


  • शुक्रबार, साउन १५ २०७८
50.4K
SHARES

प्रकाशमान सिंह तथा लेखक दामोदर (बद्रि) भट्टराई

नेपाली काँग्रेसको आसन्न १४औँ अधिवेशनका लागि पार्टीको जिम्मेवारीका लागि पूर्व महामन्त्री एवं प्रभावशाली नेता प्रकाशमान सिंहले उम्मेदवारी घोषणा गरिसकेका छन् । प्रकाशमान सिंह नेपाली प्रजातान्त्रिक आन्दोलनका लौह पुरुष, सर्वमान्य नेता गणेशमान सिंह तथा महिला सशक्तीकरण तथा महिला आन्दोलनकी मसिहा मंगलादेवी सिंहका छोरा हुन । यो पारिवारिक विरासत उनको रगतको नाता हो । के नेपालको राजनीतिमा प्रकाशमान सिंह रगतको नाताबाट स्थापित भएको नाम मात्रै हो । यस विषयमा धेरै पटक बहस भएको छ । यो मात्रै होइन प्रकाशमान सिंहका विषयमा दोस्रो विषय भनेको काठमाडौँ केन्द्रित राजनीति गर्ने नेताका रूपमा पनि आलोचकहरूले प्रश्न उठाउने गरेका छन् ।

तेस्रो काठमाडौँका नेता भएका कारण नेवार समुदायसँग उनको सामिप्यता बढी रहने गरेका छन् भनेर उनका आलोचकहरूले भन्ने गरेका छन् । आज प्रकाशमान सिंहका आलोचकहरूले उठाई रहने यस्ता विषयहरूमा केही लेख्नु सान्दर्भिक रहेको ठान्दछु । केन्द्रीय राजनीतिको नेतृत्वमा आउने चाहने नेताहरूका लागि प्रशंसक र आलोचक दुवै सम्पत्ति हुन भन्ने ध्येयको जानकारी भएका प्रकाशमान सिंहका जीवनका अनेकन् पाटाहरूलाई अधिकांश राजनीतिज्ञहरूले नजिक बाट बुझेका छन् । यसका बाबजुद आसन्न १४ औँ अधिवेशनमा प्रकाशमान सिंहले घोषणा गर्नुभएको सभापति पदको उम्मेदवारीलाई मतदाता (महाधिवेशन प्रतिनिधीहरुले) अनुमोदन गर्छन् वा गर्दैन त्यो समयले बताउला ।

पुस्तान्तरण र नेपाली काँग्रेसको दोस्रो पुस्ताका रूपमा सिंहको सभापति उम्मेदवारी अन्य उम्मेदवारका रूपमा भन्दा केही परिपक्व, स्वाभाविक र आवश्यक पात्रका रूपमा रहेको छ भन्ने ध्येय यस लेखको रहेको छ । पार्टी निर्वाचन हारजित होइन, यो जिम्मेवारीको लागि पात्र चयन मात्रै हो सिंह प्रत्येक दिन आफ्ना नजिकका र उनलाई सहयोग गर्छु भन्ने शुभचिन्तकहरूलाई बत्ताइरहेका हुन्छन् । विरासत भाग्यमानीले पाउने हो । पहिचान मेहनतको कारण हो ।

कुनै पनि सन्ततिको पहिचान उसको पिता पुर्खा बाट नै प्राप्त हुन्छ । आफ्नो अघिल्लो पुस्ताले गरेको कर्मका आधारमा पनि उसको पहिचान जोडिएको हुन्छ । अघिल्लो पुस्ताको सत्कर्म दुष्कर्मको केही फल पछिल्लो पुस्ताले पाउँछ । यसमा प्रकाशमान सिंह भाग्यमानी हुन । कि उनी नेपाली राजनीतिका लौह पुरुष, र संर्घषशिल महिला नेतृको सुपुत्र हुन । के यही कारण नेपाली राजनीतिमा प्रकाशमान सिंह चर्चामा आएका हुन ? पक्का होइन । विरासतका कारण एकै पटक राष्ट्रिय राजनीतिमा अवसर पाएका हुन ? पक्का होइन । लौह पुरुषको छोरा अनि वडाकाजीको नाति राजसी सानमा हुर्कन पर्ने हो, सामान्य बुझाई यही हुनु स्वाभाविक हो । तर प्रकाशमान सिंहले भोग्नु र अनुभूत गर्न पाएको जीवन फरक छ ।
जति पटक गणेशमान सिंह र मंगलादेवी सिंहले राणा, र दरवारियाहरुको यातना भोग्नु पर्थ्यो, त्यति नै उनको बालापन र किशोरावस्था कष्टकर हुनु स्वाभाविक थियो । कहिले जेलको काल कोठरी भित्र रहेको बाबुको अवस्था कहीँ भूमिगत हुनुपर्दाको पिडा अनि कहिले प्रजातन्त्रका खातिर आवाज उठाउँदा देश निकाला हुनुपर्ने उद्घोषका पिडा , यही पिडामा हुर्किएको जीवन हो प्रकाशमान सिंह ।

बालापनदेखि नै राजनीतिक वातावरण हुर्किएका सिंहमा किशोर अवस्था बाट नै राजनैतिक चेतना प्रष्फुटित भइसकेको थियो । समाज परिवर्तनको संवाहक बन्ने हुटहुटी अनि जाज्वल्यमान गणेशमान सिंहको नेतृत्वबाट प्रभावित सिंह २०३६ सालको जनआन्दोलनमा नेपाल विद्यार्थी संघको काठमाडौँ जिल्ला अध्यक्ष बने । जति वेला नेविसंघले देशव्यापी आन्दोलनको घोषणा गरेको थियो ।त्यसको अग्र मोर्चामा रहने मध्येका एक हुन । अध्ययनसँगै राजनीतिको चौघेरामा रहेका सिंह एक असल विद्यार्थी पनि थिए । तथ्याकं शास्त्रमा विशिष्ट श्रेणीमा स्नातकोत्तर गरेका सिंहले पाइलट अध्ययन गर्नका लागि छात्रवृत्ति समेत पाएका थिए । तर पञ्चायती शासक र दरबारीयाहरुले गणेशमान सिंहको छोरो पाइलट पढ्न जाने भन्दै उक्त अवसर उनी बाट खोसे । समाज परिवर्तन र सामाजिक न्यायका लागि लड्दा पाएको प्रत्येक चोटलाई सिंहले आफ्नो परीक्षा मान्दै अगाडी बढे । २०३८ सालमा गणेशमान सिंहज्यू कारावास हुँदा प्रकाशमान सिंहलाई विदेश गएर बस्न धेरैले सुझाएका थिए, तर सिंह आफ्नो अध्ययनको सिलसिलामा गर्नुपर्ने इन्ट्रनका लागि जुम्ला तर्फ लागे र अध्यापन गराउन थाले । यो विषम अवस्था बाट हुर्किएको एक युवक कसरी विरासतको राजनीति मात्रै केन्द्रित भएको मान्न सकिन्छ ।

जुम्ला बाट र्फकिएपश्चात गणेशमान सिंहज्यूको नेतृत्वमा २०४६ सालको परिवर्तन हुँदा उनले काठमाडौँ जिल्ला कार्यसमितिको अध्यक्ष पदमा रहेर पार्टीको नेतृत्व सम्हालेका थिए । २०३६ को निर्दल र बहुदलीय व्यवस्थाको लडाइँमा विद्यार्थी नेताको रूपमा अग्रपङ्क्तिमा रहेका सिंह २०४६ सालको आन्दोलनमा काठमाडौँको पार्टी प्रमुख भएर आन्दोलनमा होमिएका थिए । त्यो पात्र कसरी विरासतको राजनीतिमा केन्द्रित भएको मानिन्छ ।

बाल्यकाल बाट नै राजनीतिक परिवारमा हुर्किएका सिंहले किशोर अवस्थाबाट भोग्नु परेको अनेकन् पिडा, यातना र कष्टकर जीवनका बिचमा उनी लौह पुरुष र महिला सशक्तीकरणकी अग्रणी नेतृ मंगलादेवी सिंहका छोरा हुनु । उनको लागि अहोभाग्य हो । तसर्थ भाग्यमानी छोरा प्रकाशमान सिंह हुन । त्यस सँगै वंशाणुगत गुण भए झै आफ्नो बाल्यकाल, किशोरावस्था र युवा अवस्थामा अनेकन् हन्डर, ठक्कर, यातना अनि पिडाका बिचमा संघर्षरत रहँदै काठमाडौँको हर प्रकारको सुख, सुविधा अनि अवसरलाई लत्त्याएर राजनीतिबाट देशलाई परिवर्तन गर्न सकिन्छ । त्यो गरेर छाड्ने प्रतिज्ञा सहित उभिएको अर्को एक उज्यालो नाम हो प्रकाशमान । जसले २०३६ र २०४६ सालको आन्दोलनमा आफूलाई केबल गणेशमान सिंह र मंगालदेवी सिंहको छोराको रूपमा मात्रै राखेन एक असल र सक्षम युवा नेतृत्वको रूपमा पनि आफूलाई स्थापित बनायो । तसर्थ र भाग्यमानी छोराको रूपमा प्रकाशमान सिंह विरासतका पात्र हुन । तर कर्म , संघर्ष, यातनाको बिचमा स्थापित नाम हो प्रकाशमान ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा