बुधबार, साउन १३ २०७८
ताजा अपडेट

प्रदीप ज्ञवालीलाई पत्रः ‘शेरबहादुरलाई जस्केलाबाट प्रधानमन्त्री बनेको भन्दा लाज लागेन’


  • बद्रि भट्टराई
  • सोमबार, साउन ४ २०७८
7.5K
SHARES

२०४७ मा पहिलो चोटि बागबजारमा केन्द्रीय कार्यालय खुल्दा मार्क्स, लेनिन एंगेल्सको मात्र तस्बिर नभई कठोर कम्युनिष्ट शासक स्टालिनको फोटो सजिएको अवस्था थियो । सो उद्घाटन कार्यक्रममा तत्कालीन नेता मदन भण्डारीले भन्नु भएको सत्यतालाई मैल स्मरण गराउनुपर्ने भयो । भण्डारीले भन्नु भएको इतिहास साक्षी छ “ २०३६ मा बहुदलको पक्षमा नलागेर हामीले गल्ती गरेका थियौ , २०१७ मा पनि कम्युनिष्टहरुले गल्ती गरेका थिए” यो स्वीकारोक्तिलाई तोडमोड गरेर कुन जनतालाई तपाईँले झुकाउन खोज्नु भएको हो ?

पुनर्स्थापित संसदको पहिलो बैठकमा तपाईँको महत्त्वपूर्ण तर्क र धारणाहरू श्रवण गर्ने अवसर पाएँ । करिब दुई तिहाइ नजिक रहेको कम्युनिष्ट घटकहरूको सरकारको महत्त्वपूर्ण परराष्ट्र मन्त्रीका रूपमा तपाईँले गर्नुभएको कार्यहरूको समीक्षा अर्को आलेखमा गर्ने छु ।
गरिमामय संसदमा सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाज्यूले विश्वासको मत माग्नु भएपश्चात् तपाईँले उठान गर्नुभएका केही विषयहरूतर्फ ध्यानाकर्षण गराउने चेष्टा गरेको छु । आशा छ यसैका आधारमा साइबर सेना वा युथफोर्सको हुँकार पक्का म माथि नआउला , किनकि तपाईँको बौद्धिकता र वाककलाले त्यसलाई पक्का छेक्नेछ ।

चिन्ता, रिस , कुण्ठालाई पिठ्युँमा राखेर आफ्ना अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको बचावटमा निस्कनु पर्दाको बाध्यताका बिच तपाईँले राख्नुभएको धारणाको सम्मान गर्दछु । २०४८ सालमा शेरबहादुर देउवाज्यूको गृहमन्त्रीका रूपमा उहाँले गर्नुभएको कार्यबाट शुभारम्भ भएको तपाईँको कथा ,कहानी सगरमाथाको उचाइ ८८४८.८६ बढेकोमा गर्व नगर्ने भन्दै प्रश्न गरेर टुङ्गाउनु भयो । इतिहासका बारेमा तपाईँका टिपोट र टिप्पणीमा केही विषयहरू छुटेको महसुस भएको कारण यो पत्र तपाई समक्ष पुगोस् भन्ने कामना सहित लेख्न बाध्य भएको छु ।
एक जनताका रूपमा र नेपाली काँग्रेसको सिपाहीका रूपमा मेरो केही प्रश्नहरूको जवाफ तपाई संग लिन चाहन्छु । सम्भव भए कतै बोलेको सुन्न पनि चाहन्छु ।

१. जस्केलाबाट प्रधानमन्त्री बन्नु भएको भन्ने शब्द शेरबहादुर देउवा माथि प्रहार गर्दा कम्तीमा तपाईँको अध्यक्षले गर्नुभएको संसदको चीरहरण प्रति एक पटक सोचौँ भन्ने हिम्मत समेत गर्न सक्नु भएन । पार्टीको भविष्यका लागि भन्दै देशलाई बन्धक बनाएर कार्यदल बनाएर पाँचतारे होटेलमा वार्ता गर्ने समय पाउने तपाईँहरूले रोग र भोकमा मरिरहेका जनताहरू सम्झिएर सम्माननीय राष्ट्रपतिज्यूलाई एक क्षण संवाद गरौँ । राजनैतिक विषय राजनीतिबाट हल गरौँ भन्ने साहस गर्नुभयो ?

२. नेपाली काँग्रेस कारण हामी २००७ सालपछि भूमिगत हुनुपर्‍यो भन्ने शब्दजाल तपाईँले जनताका अगाडी फालिरहँदा नेपाली काँग्रेसले देशको शान्ति सुरक्षा, मंहगी, स्वतन्त्र न्यायपालिका र निर्वाचनको माग गरेर २०११ सालमा सत्याग्रह गर्दा , गोर्खा परिषद् र वामहरूको सङ्गठन जनअधिकार सुरक्षा समितिको नाममा सत्याग्रहलाई कुप्रचार गरी आलोचना गर्दै भागेको सत्यता बिर्सनु भयो ।

३. २००७ सालमा प्राप्त भएको क्रान्तिको उपलब्धि स्वरूप पौष ७ गते तत्कालीन प्रधानमन्त्री मोहन शम्सेरले र दल र संघसंस्थाहरु खोल्न दिने निर्णय पश्चात् सँगसँगै अगाडी बढेको नेपाली काँग्रेस र कम्युनिष्टहरुको यात्रालाई दोषारोपण गरेर नेपाली कम्युनिष्ट आन्दोलनका नेताहरू , डा.केशर जङ्ग रायमाझी, मोहनविक्रम सिंह,पुष्पलाल श्रेष्ठ, शम्भुराम श्रेष्ठ, कमर शाह, कृष्णराज बर्मा, जयगोविन्द, साह, निर्मल लामा लगायतका नेताहरू पराजित भएको निर्वाचनको मर्म कसरी भुल्नु भयो ? मकैको तिन घोगा र हसिया चुनाव चिन्हमा ४७ स्थानमा निर्वाचन लडेर ४ सिट जितेर ३३ स्थानमा जमानत जफत भएको इतिहास तपाई जस्तो विज्ञले कसरी भुल्नु भयो ? २०१७ सालको कु पश्चात् नेपाली काँग्रेसका अधिकांश नेताहरू जेलको काल कोठरीमा पर्दा कम्युनिष्टका अधिकांश नेताहरूले खुसीयाली मनाउँदै कु को समर्थनमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव केशर जङ्ग रायमाझीले राजालाई प्रजातन्त्रको सेनानीको दर्जा दिएको विषय कसरी भुल्नुभयो ?

४. २०४८ सालमा गृहमन्त्री शेरबहादुर देउवा रहँदाका रूपमा २९ औँ दिनमा सांसद ढाल्ने खेलको सुरुवात गर्ने, सडकका रेलिङ भाँच्ने, सडकदेखि ससंद कब्जा गर्ने तुच्छ खेलको सुरुवात कसले गरेको हो ? संसदीय व्यवस्थाको त्यो क्षण नेपाली इतिहासले बिर्सन सक्ला ? ६९ सिट बोकेको पार्टीले १ सय १३ सिटको काँग्रेस माथि प्रहार गरी कर्मचारीतन्त्रलाई राजनीतिमा प्रयोग गर्ने सुरुवात गरी राजनीतिलाई बदनाम गराउने खेल तपाईँहरूबाट भएको होइन भन्न सक्नुहुन्छ ?

५. पटक पटक संसद विघटनको विषयमा नेपाली काँग्रेस माथि आरोप लगाइरहँदा अनि श्री पाँच ज्ञानेन्द्रको विषयलाई पाँच श्रीमान् भनी व्यङ्ग गरिरहँदा नेपालको संसदीय इतिहासमा आफ्ना नेताको मृत्युलाई हत्या आरोपित गरेर संसदमा प्रधानमन्त्रीको राजीनामा माग्दै सुरुवात गरेको अस्थिर राजनीतिको सिकार आज नेपाली जनता हुनु परेको सत्यता होइन र ?

६. लोकतन्त्रको पिल्लरहरु कमजोर हुँदा समस्या भयो भन्दै , ओदानमा राखेको कसौडि कुनै एउटा ओदानको खुट्टा भत्किदा भात पाक्दैन भन्नुभयो । हो पक्का पाक्दैन ,त्यो पिलर हो ढल्न सक्छ । तर लोकतन्त्रको जग भनेको संसद होइन । त्यो सांसदलाई भंग गरेर (ओदान) नै फाल्ने चेष्टा गर्दा त्यसलाई ठिक भन्नु हुन्छ ? एउटा पिल्लर कमजोर हुँदा हातमा पोल्ला, कपडाले समातेर , वा कागजले समातेर पनि भात पाक्छ । तर ओदान नै फालिदिए पछि कुन अवस्था आउँछ ?

७. निर्वाचनमा जाने कुरा अलोकतान्त्रिक कसले भनेको छ ? जनताको आँखामा धुलो राख्ने प्रयास तपाई जत्तिको नेताबाट त्यो प्रयास हुनु निकै दुखको विषय हो । नेपाल काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रत्येक पटक निर्वाचनका लागि हामी तयार छौ । सर्वोच्च अदालतको निर्णय सर्वमान्य हुन्छ भन्दा तपाईँले निर्वाचन विरोधी शक्ति भनेर कसलाई आरोप लगाउन खोज्नु भएको हो । नेपाली काँग्रेस त्यस्तो पार्टी हो । जसले प्रत्येक पटक आफू हारेर निर्वाचन र स्वतन्त्र न्यायपालिकाको पक्षमा आफूलाई उभ्याएको छ । यो इतिहास तपाईँलाई थाहा नभएको हो र ?

प्रिय प्रदीप ज्ञवालीज्यू, दुई तिहाइ हाराहारीको सरकारले आफ्ना पार्टी भित्रका नेताहरूलाई अपमान गर्दै संसदको गरिमालाई ध्वस्त पारेर ३ वर्षमा ३० अध्यादेश बाट राजनीति गर्नु कसरी जायज भन्न सक्नुभएको हो । ३ वर्ष सम्म प्रतिपक्षको रूपमा नेपाली काँग्रेसले गरेको सहयोगलाई कमजोरी ठानेर चुच्चे नक्सा, लिम्पियाधुराका विषयमा सांसदका हरेक सांसदले गर्व गर्ने विषयलाई केपी ओलीको गुणगान गाउन मात्रै प्रयोग गर्न कसरी सक्नुभएको हो । चुच्चे नक्सा पास गराउन माधव नेपाल, प्रचण्ड, शेरबहादुर अनि बाबुरामको भूमिका नभएको हो ? उनीहरूले विरोध गरेर ओली जी ले अध्यादेश बाट पारित गराउनु भएको हो र पक्का होइन । लोकतन्त्रको ,विधिको विधानको अनि सुशासनको कल्पना गर्ने भनाई व्यक्त गरिरहँदा संविधानको व्याख्या गर्ने अधिकार सर्वोच्च अदालत हो भन्ने सैद्धान्तिक विषयमा सहमति गरिरहँदा व्याख्या गलत भयो भन्दै श्री ५को सरकार जस्तै श्री पाँच न्यायाधीश हुन भन्दा तपाईँलाई पिडावोध भएन ? मेलम्चीको धारा, अनि धरहराको कथा भनिरहँदा त्यहाँको वास्तविकता तपाईँलाई थाहा नभएको हो र , पक्का होइन ।

तसर्थ आज पनि नेपालको राजनीति सहज छैन । राजनैतिक सहमति नै आजको आवश्यकता हो । यो आवश्यकता लाई मनन गर्दे जनताले देख्ने, सुन्ने अनि बुझ्ने गरेर विधि र विधानको पालना गरेर लोकतन्त्र जोगाउनु पर्ने दायित्व सबै दलहरूको हो । सत्ता र शक्तिको लोभमा वकालत गर्नेहरूको भिडमा प्रिय ज्ञवालीज्यूलाई देख्न नपरोस् भन्ने कामना गर्दछु ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा