प्रम केपी शर्मा ओली मेरा तपाईसंग कैयौं असहमती छन् र रहिरहने छन् । म तपाइको आलोचक कैले पनि होइन तर तपाइँका हालका गतिविधिले तपाई प्रति मेरो वितृष्णा बढेर गएको छ । साच्चै भन्नु पर्दा नेपाली कम्युनिष्ट आन्दोलनलाई धरासाई बनाएर आफुलाई दोश्रो जङ्ग बहादुर बनाउने सोचमा जब तपाई लाग्नु भयो तपाई प्रति मलाई घृणा जागेर आउन थाल्यो । तपाई कि त जङ्ग बहादुर नै बन्नुस कि त यसरी नजिस्कनुस् ।
तपाइको ख्याल–ख्याल देश र जनताको निम्ति निक्कै महँगो सावित हुदै गएको आभास हुदै छ। यदि तपाई केपी बा! बन्ने नै हो भने देशको केपी बा! बन्नुस दायरा फराकिलो बनाउनुस । जसरी धरहरा उठाउनु भयो अब तपाइको कुण्ठित मन पनि फराकिलो बनाउनुस् । सबै साथीहरुलाई संगै लिएर हिड्नुस् सम्भावित दुर्घटनाबाट आफु जोगिनुस र अरुलाई जोगाउनुस । मुख्य कुरो देशलाई जोगाउनुस । हामीलाई आजित नबनाउनुहोस् ।
नेकपा तपाइहरुकै कारणले सक्कियो । अब एमाले लगभग फुटाइ सक्नु भयो तर अरुमाथि आक्रमण गर्न भने छोड्नु भएको छैन । देशलाई नजानिँदो गरि चक्रब्युहमा पारेको कलंक तपाईमा लाग्नु हुदैन भन्ने मेरो चिन्ताको बिषय होर्। न रहे बाँस न रहे बासुरी’ भन्ने टुक्कालाई चरितार्थ गर्न उद्दत तपाईका पाइलाहरु रोकेर एक पटक ठण्डा दिमागले सोच्नुस त! तपाई प्रती कत्रो अभिभारा छ ? तपाई किन हो किन स्वार्थ केन्द्रित भएको पट्टकै सुहाएको छैन । यसो गरिरहँदा जित कसैको हुदैन भन्ने कुराको हेक्का तपाईमा पक्कै पनि छ त्यो मैले भनि रहनु पर्दैन। त्यसैले सबैले जित्ने गरि हिड्दा सबैको भलो नै होला ।
सरकार जन अपेक्षा अनुसार काम गर्न जताततै चुकेको छ तर पनि आफुलाइ जनपक्षीय काम गरेको देखाउन र भ्रमको खेती गर्न ब्यस्त छ । जनताले दिएको दुइ तिहाई मतलाई धुजा धुजा बनाई सिमित आसेपासेहरुको भरण पोषणमा लिन छ । आफ्नो सत्ता जोगाउन जो सुकैसंग जस्ता सुकै सम्झौता गर्न पनि पछी नहटी नेपालको सार्बभौमिकता माथि दुरगामी असर पर्ने गरि आफुलाई उग्र राष्ट्रवादीको कित्तामा उभ्याउनमा तल्लिन र आफै पुलकित छ । महंगी, भ्रष्टाचार, बेथिती र दण्डहिनता घट्नु त कता हो कता सरकार आफै भ्रष्टचारिलाई काखी च्यापेर पुरस्कृत गर्दै छ भन्ने आरोप तपाईलाई लाग्ने गरेको छ र यि आरोपहरुलाई मिथ्या सावित गर्नु पर्ने चुनौती तपाई सामु जस्ताको त्यस्तै छन् ।
जनताका रोग र भोकका समस्या जिउकातिऊ छन्, राजनैतिक कुसंस्कारको सिकार बनेका छन तर पनि जनताले धैर्यता गुमाएका छैनन् । २५ जना भन्दा धेरै सामुहिक रुपमा नहुनु भन्ने तर तपाई आफै सयौँको संख्यामा मास जम्मा पारेर भेला र उद्घाटनका कार्यक्रममा ब्यस्त भएको देख्दा अरुको उपहास गरेको जस्तो लाग्छ । बालबालिकामा कोरोना संक्रमणको जोखिम बढी छ भनेर विद्यालयहरु बन्द छन् तर अधिकांश बालबालिकाहरु सडकमा खेल्न ब्यस्त छन् । उनीहरुलाई कोरोनाको कहरले छोएको छैन । सिमित संस्थाहरु बन्द गरेर कोरोना नियन्त्रण गर्न नसकिने कुरा सर्वबिदितै छ।
कोरोनाबाट जोगिने हो भने सरकारले तुरुन्त अन्तराष्ट्रिय नाका सिल गर्नु पर्यो । १५ देखि २० दिन कति हुन्छ राष्ट्रको नाममा सम्बोधन गर्दै घर बाहिर निस्कन प्रतिबन्ध लगाउनु होस् । यो राष्ट्रिय संकटको बेला राज्यको दरो उपस्थिती छ भन्ने भान हुने गरि काम गर्नु पर्यो । राज्यको श्रोत साधनले नभ्याउने गरि कोलाहल हुने अवस्था आउनु पूर्व नै सरोकार वालाको ध्यान जानु पर्छ । भन्नेले भन्दै गर्छन, काग कराउदै गर्छ पिना सुक्दै गर्छ भने झैँ जनताको स्वास्थ्य जोगाउने कुरालाइ केन्द्रमा राखेर काम गर्नु पर्यो ।
हामी सबै जोखिममा छौँ । हात्ती आयो हात्ती फुस्सा हुनु भएन । गफ हैन काम गर्नु पर्यो सरकार !