देशको समसायिक राजनीति तथा सरकार नेतृत्वमा केन्द्रित हुँदै केटिएम खबर डट कमले नियमित स्तम्भका रुपमा विशेष सम्वादलाई जोड दिँदै आएको छ । सोही क्रममा नेपाल परिवार दलका अध्यक्ष, युनिभर्सल पिस फेडेरेशन (युपिएफ) का नेपाल प्रमुख, पूर्व मन्त्री एकनाथ ढकालसंग केटिएम खबरका लागि श्याम कार्कीले नेपाल परिवाल दल गर्ने गतिविधि तथा देशको समसामयिक राजनीतिक विषयमा केन्द्रित हुँदै विशेष सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित अंशः
यहाँको वर्तमान जोड के–के कुरामा छ ?
एउटा राजनीतिकर्मी भएको नाताले देशको समसामयिक राजनैतिक गतिविधिमा चाँसो र राजनीतिक गतिविधिलाई सहि दिशानिर्देश गर्नका लागि विभिन्न राजनैतिक दलहरुसंग छलफल, सहकार्य, अन्तरक्रिया, सम्वादलाई अगाडी बढाइरहेको छु । यसको साथ–साथै नेपाल परिवार दलले पनि विभिन्न क्रियाकलापहरु सञ्चाल गरिरहेको छ र हामीले केहि दिन अगाडी मात्र सात वटै प्रदेशको प्रदेश–काठमाडौँ सम्पर्क समितीको कार्यक्रम सम्पन्न गर्यौ र त्यो मार्फत पार्टीको धारणा पनि सार्वजनिक गरेका छौँ । नेपाल परिवार दल ‘नेपाल एक घर हिमाल, पहाड तराईका सम्पुर्ण नेपाली एउटै परिवार’ भन्ने एउटा महान उद्देश्यका साथ स्थापित लोकतन्त्रवादी, राष्ट्रवादी, शान्तिवादी पार्टी भएको कारण हामीले पछिल्लो राजनीतिक घटना क्रममा पनि दलहरु विचको सम्वाद, सहमती, छलफलबाट नै हामीले उपयुक्त निष्कर्ष निकाल्नु पर्छ भन्दै आएका छौँ । त्यही नै आवाज र सन्देश मैले सक्दो देशका प्रमुख राजनीतिक दलहरु र अन्य सबै राजनीतिक दलहरुका साथीहरुसंग छलफल गर्दै आएको छु र त्यो सन्देश पुर्याउने काम गरिरहेको छु । आम नागरिकका लागि नेपाल परिवार दलले के गर्छ ?
राजनीतिक दल भनेको समाज सेवाको लागि, मानव उत्थानका लागि, राष्ट्रिय उत्थानका लागि स्थापना गरिने हो । खासगरि नेपाल परिवार दलले पनि नेपालको समष्टिगत रुपान्तरण गर्नका लागि र संविधान निर्माणमा पनि योगदान गरेको राजनीतिक दल भएको कारण नेपालको संविधानले जुन नयाँ नेपालको परिकल्पना गरेको छ । समावेशी, समानुपातिक प्रतिनिधित्वको जुन परिकल्पना गरेको छ । तमाम नेपालीलाई हक, अधिकार सम्पन्न बनाउँदै आर्थिक उन्नतीको बाटोतर्फ बढाउने अथवा कतिपय राजनीतिक दलको भनाईमा समाजबादको बाटोमा अगाडी बढाउने परिकल्पना गरेको छ । तिनै परिकल्पनालाई साकार बनाउँनका लागि हाम्रो पार्टीले जनचेतनामुलक तथा अन्य विभिन्न प्रकारका कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । आम पार्टीबाट जनताले परिणाम खोजिरहेका छन्, यसमा नेपाल परिवार दलबाट आम नागरिकले के अपेक्षा गर्ने ?
अवश्य पनि नागरिकले ठुलो त्याग र बलिदानमार्फत संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल प्राप्त गरेका छन् । त्यसबाट विगतका पुराना सत्ता/सरकारले दिन नसकेका कुराहरु यो नयाँ व्यबस्थामा नयाँ सरकारले दिन्छ भन्ने आम नेपाली दाजुभाई, दिदीबहिनीहरुको अपेक्षा छ । अपेक्षा अनुसार केही परिणामहरु त हामीले देखेका छौँ जस्तो लाग्छ मलाई । काम नै नभएको भन्न हामीले मिल्दैन किनकी पछिल्लो निर्वाचन भईसके पछि यो सरकार प्रमुखको काम भनेको संविधानलाई कार्यन्वयन गर्नु नै थियो । संविधान कार्यन्वयन गर्नका लागि पहिलो स्टेप भनेको हामीले संविधानमा आधारित रहेर विभिन्न ऐन, कानुनहरु निर्माण गर्नु पर्ने थियो । दर्जनौँ ऐन, कानुनहरु अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली जीको नेतृत्वको सरकारले निर्माण गरेको छ । त्यसको साथ–साथै विविध विकास, निर्माणका काममा पनी उहाँले विभिन्न नयाँ कामहरुको थालनी गर्नु भएको छ । कतिपय परिणामहरु देखिएका छन् । कतिपय परिणामहरु आउँन बाँकी छ । यत्ति हुँदा–हुँदै पनि जनताले जे चाहेको हो त्यो अनुसारको परिणाम आएको छैन । त्यसको मुलभुत कारण भनेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ जसलाई नेपाली जनताले झण्डै दुई तिहाईको बहुमत दिएको थियो राज्य सञ्चालनका निम्ति । उहाँहरु विचको आन्तरिक द्धन्द, शक्ति संघर्षको कारणले गर्दा नेपालको राजनीति अलमलियो । जसको हातमा सत्ताको स्टेरिङ्ग छ उ नै झै–झगडा, अलमलमा पर्न थालिसके पछि देशको समष्टिगत रुपमा विकास, निर्माणमा पनि अवरुद्ध हुनु स्वभाविक नै हो । तर त्यसका वावजुत पनि केही सकारात्मक परिणामहरु आएका छन् भन्ने मलाई लाग्छ । नेकपा भित्रको लडाई सत्तारुढ दल नेकपा एमालेमा सरेको छ, यसलाई नेपाल परिवार दलले कसरी हेरेको छ ?
नेपाल परिवार दल कुनै पनि देशका राजनीतिक दलहरु जति बलियो हुन्छन् त्यो देश त्यति बलियो हुन्छ, राष्ट्रियता त्यती बलियो हुन्छ र दलहरु मिलेर नै देशको रुपान्तरण गर्नु पर्छ भन्ने मान्यता राख्छ । त्यसले गर्दा यत्रो जनविश्वास, जनादेश प्राप्त राजनीतिक दलमा एउटा विवाद श्रृजना भएर नेताहरु एक आपसमा हिलो छ्यापा छ्यापको स्थिति हुनु र अहिले पार्टी करिब–करिब अनौपचारिक रुपमा विभाजनकै लाईन कोरिसक्नु जुन अवस्था श्रृजना भएको छ यसमा नेपाल परिवार दललाई दुःख लागेको छ । हुन त नेपाल परिवार छुट्टै दर्शनमा आधारिक राजनीतिक पार्टी हो । हामी अग्रपंक्ती लोकतन्त्रमा विश्वास राख्छौँ । अग्रपंक्ति लोकतन्त्र भनेको वामपन्थि अथवा परम्परावादी प्रजातान्त्रिक विचार मात्र हैन । यि दुवैमा भएका असल कुराहरुलाई ग्रहण गरेर परिवर्तनलाई आत्मसाथ अगाडी बढ्ने सोच भनेको अग्रगामी सोच अथवा अग्रपन्थि लोकतन्त्र हो ।
हाम्रो पार्टीले स्थापना कालदेखि नै नेपालमा एउटा वैकल्पिक लोकतान्त्रिक शक्तिको आवश्यकता छ भन्दै आएको छ किनकी देशका कांग्रेस, कम्युनिष्ट पार्टीहरुले जे जति गर्नु पर्ने हो उहाँहरुले गरिसक्नु भयो । कुनै पनि पार्टीले के–कति गर्ने भन्ने सिमा हुन्छ । त्यसले गर्दा उहाँहरुले गर्नु भएको असल कामहरुलाई सम्मान गर्दै र उहाँहरुको गल्ति कमजोरीहरुबाट पाठ सिकेर नेपालमा हामीले बृहत राजनीतिक ध्रुविकरण गर्नु पर्छ र त्यसको साथै एउटा नयाँ वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्नु पर्छ भनेर नेपाल परिवार दलले भन्दै आएको हो । त्यो कुरो विस्तारै पुष्टी हुँदै आएको छ भन्ने लाग्छ । विगतमा नेपाली कांग्रेसले पनि स्पष्ट बहुमत ल्याएको हो । सरकार सञ्चालको क्रममा क्रुटी गरेको कुरा इतिहासले बताइ सकेको छ । देशको विकासको जग भने नेपाली कांग्रेसले हालेको हो । त्यो जग हाज कति देखियो अथवा विकास भयो भन्ने कुरा त वर्तमान परिणामले देखाइ रहेको छ र कम्युनिष्ट पार्टीले पनि बहुमत ल्याएको हो । त्यो कम्युनिष्ट पार्टीले पनि सत्ता/सरकार सञ्चालन गरेका छन् । उनीहरुले सकेनन् । समस्या के मा रहेछ ? कि संसदिय प्रणालीमा समस्या हो ?
प्रणाली भनेको साधन हो, साध्य हैन । तपाईले विश्वमा हेर्नु हुन्छ भने अहिले हामी संघिय लोकतान्त्रिक गणतन्त्रमा छौँ । हाम्रो जस्तै प्रणाली भएका मुलुकहरुको विकास भएको छ । भारतको विकास भएको छ । अमेरिका पनि संघिय प्रणालीको मुलुक हो त्यहाँ पनि विकास भएको छ । कत्तिपय देशहरु एकात्मक राज्य प्रणाली भएका छन् । कोरिया, जापान, बेलायत जहाँ एकात्म राज्य प्रणालीबाट पनि विकास भएका छन् । त्यसले कुनै प्रणालीकै आधारमा विकास हुने र नहुने भन्ने कुरा चाँही हैन । महत्वपुर्ण कुरा भनेको प्रणाली हाक्ने कस्ता व्यक्तिहरु भन्ने कुरा महत्वपुर्ण हो । त्यसले गर्दा राजनीतिक प्रणालीको परिवर्तन भए पनि शासन व्यबस्था परिवर्तन भए पनि नेपालमा राजनीतिक संस्कारको परिवर्तन भएन ।
पञ्चायतकालिन कोटमा अथवा हिजो संसदिय व्यबस्थाको कोटमा गणतन्त्रको लोगो लगाएर शासन गरियो । त्यसले गर्दा नेतृत्वको सोचमा मुलभुत रुपमा परिवर्तन नआएको कारण अहिलेको अवस्था हो । यसको समाधानको उपाए भनेको अब नयाँ विचार, नयाँ नेतृत्व, नयाँ युवा नेतृत्वहरु अगाडी आउनु पर्छ । त्यो नेतृत्व नेपालका प्रायः सबै राजनीतिक दलहरु हुनुहुन्छ । उहाँले आट, संकल्प गरेर, पार्टीभन्दा माथि उठेर राष्ट्रलाई केन्द्रमा राखेर नयाँ ध्रुविकरणको अहिले आवश्यकता छ । त्यो भयो भने फेरी अहिलेको संविधानमा नै टेकेर नेपाललाई एउटा समुन्नत मुलुकको रुपमा विकास गर्न सक्छौँ । थप तथा भिडियो कुराकानी हेर्नका लागि तलको युटुब लिंकमा क्लिक गर्नुहोस्ः
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।