क्रिसमसको पृष्ठभूमिमा उभिएर जिजसलाई नियाल्दा उहाँको देशनाहरुको याद घनिभूत भएर आयो । संसारमा मानिसहरु जिजसलाई दुईरुपमा लिन्छनः धार्मिक र आध्यात्मिक ।
धार्मिक भन्ने वित्तिकै चाडपर्व, जन्म, विवाह, मृत्य लगायतको कर्महरु जोडिन पुग्छ । ईसाइहरु त्यस्ता विभिन्न अनुष्ठानहरुको मुख्य भगवानको रुपमा जिजसलाई लिन्छन् । तर आध्यात्मिक रुपमा जिजसको उपस्थित फेरि भिन्न हुन्छ । त्यहाँ साधकहरु एक बुद्धपुरुषको रुपमा लिन्छन् । यर्थाथमा उनी बुद्धपुरुष नै हुन । कुनै पनि धार्मिक गतिविधिहरुसँग उनीहरु सम्बन्ध राख्दैनन् । आफ्नो साधनालाई बलपुग्ने गरी जिजसको देशनाहरु लिइन्छ ।
यो सानो आलेख पनि आध्यात्मिक पृष्ठभूमिबाट अघि बढ्ने छ ।
धर्तीका प्रभावशाली बुद्धपुरुषहरु मध्येका एक बुद्ध हुन जिजस । उहाँको देशानाले मानिसलाई जगाउँछ । एक साधक बनेर जीवन रुपान्तरण गर्न चाहानेहरुको लागि जिजसको देशना प्रभावकारी बन्न सक्छ ।
उहाँका कैयौँ देशनाहरु मनुष्य जातीको आत्मरुपान्तरणको लागि महत्वपूर्ण छन् । यहाँ एउटा देशनालाई लिन खोजिएको छ । एक प्रसंगबाट प्रारम्भ गरौँ ।
जिजसलाई भेट्न अनेकौँ मानिसहरु आउँथे । कुरा सुन्थे । दर्शन गर्थे । जान्थे । अधिकांश मानिसहरु आफ्ना बच्चालाई पनि साथै लिएर आउँथे ताकि जिजसले उनीहरुलाई स्पर्श गरेर आर्शिवाद दिउँन । केटाकेटीहरुको ठूलो भिड लाग्थ्यो । यो देखेर जिजसको सेवामा लागेका शिष्यहरु रिसाउँथे । एकपटक उनीहरुले मानिसहरुलाई केटाकेटीलाई लिएर नआउन भन्दै हपारे । जिजसले यो थाहापछि आफ्ना शिष्यहरुलाई भने कि कोही पनि वच्चालाई यहाँ आउनबाट नरोक । सबै केटाकेटीहरुलाई मलाई भेट्न छुट छ । म चाहान्छु कि उनीहरु आउन र मलाई भेटुन ।
जिजसले केटाकेटीलाई भगवानको रुपमा चित्रण गर्नुभएको छ । उहाँ भन्नु हुन्छ यदि तिमी भगवानको राज्यमा प्रवेश गर्ने हो भने केटाकेटी बनेर आउ । यसको मतलब के होला ? किन जिजसले केटाकेटी बनेर आउ भन्नुहुन्छ?
यहाँनेर भगवान र केटाकेटी शब्दलाई बुझ्ने प्रयास गरौँ । यहाँ विभिन्न धर्ममा मान्ने भगवानको कुरा जिजसले गर्न खोजेको होइन । भगवानको अर्थ यहाँ परमात्मा भन्न खोजिएको हो । परमात्मा भनेको के हो ? परम शुन्यता वा भनौँ आनन्दको जगत नै परमात्मा हो । अनुभव गर्नुपर्ने कुराहरु शब्दमा व्यक्त गर्न मुस्किल पर्छ । जिजस, बुद्ध, महाविर, नानक, ओशो, गोरख आदिले जुनकुराको अनुभूति गरेका छन् यदि हामीले पनि त्यही अनुभूति गर्ने हो भने केटाकेटी बनेर यात्रा थाल्नुपर्छ भन्ने जिजसको सन्देश हो ।
केटाकेटी शब्द यहाँ पात्रतालाई संकेत गर्न प्रयोग भएको हो । केटाकेटी कस्ता हुन्छन् ? पूर्णरुपमा अरुप्रति आश्रीत । तथापि कुनै कुराको चिन्ता हुँदैन । कुनै ज्ञानको घमण्ड हुँदैन । उपलब्धिको घमण्ड हुँदैन । अहँमबाट टाढा हुन्छन् । जस्तो सुकै भावनामा पनि बग्न सक्ने हुन्छ । त्यसैले छिनमै रुने र छिनमै हाँस्ने । छिनमै झगडा गर्ने अनि फेरि छिनमै मिल्ने हुन्छन् । छलकपट हुन्न । निर्मल हुन्छन् ।
यदि यो जीवनमा हामी परमात्मासँग साक्षात्कार गर्न चाहान्छौँ भने हाम्रो पात्रतामा केटाकेटी खेल्नुपर्छ । फुल्नुपर्छ । अक्सर हामीले प्राप्त गरेको उपलब्धि र ज्ञानले हामीलाई बाटो छेक्छ । अहम ग्रन्थीको सिकार हुँन्छौँ हामीहरु । म यस्तो । म उस्तो । मलाई यो । मेरो त्यो । म । यो म रुपी अहँकारको जालोमा हामी फसेका हुन्छौँ । त्यसकारण हामी आफुलाई सबै जान्नेसुन्ने जस्तो ठान्छौँ । अहँकारले गर्दा हामी परमात्माको राज्यमा प्रवेश पाउन साधनामा जुट्न सक्दैनौँ ।
असाहय केटाकेटी जो सबै कुरा अरुमा निर्भर छ तर चिन्तित हुँदैन त्यस्तै हामी पनि सम्पूर्ण समर्पण परमात्मालाई छोडिदिएर जीवन यापन गर्न आवश्यक छ । राम्रो र नराम्रो जे भए पनि परमात्माप्रति समर्पण भाव राख्न जरुरी छ । हामी राम्रा हुँदा मैले यस्तो गरेँ उस्तो गरेँ भनेर उफ्रन्छौँ अनि फेरि नराम्रो भयो भने हे परमात्मा तिमीले यो के गरिदियौ भनेर विलौना गर्छाैँ । यस्तो वेहोसीले हामी कहिल्यै पनि परमात्माको राज्यमा प्रवेश गर्न सक्दैनौँ । त्यसकारण लोभ, मोह, अहंकार, ज्ञान, उपलब्धि सबै कुराहरु एकातर्फ राखेर पूर्णरुपमा समर्पण भावका साथ साधना गरियो भने मात्र हामीले परम आनन्द महसुस गर्न सक्छौँ ।
जिजसले संकेत गर्न खोजेको कुरोलाई खुब गौर गरौँ । वास्तवमा जब सम्म हामीले आफ्नो पात्रतामा परिवर्तन गर्दैनौँ तबसम्म जीवन रुपान्तरण हुनै सक्दैन । साधनामा बाधक सबैकुराहरुलाई त्यागेर जुनदिन हामी निर्मल बनेर अघि बढ्छौँ पक्कै पनि हामीले परमात्माको राज्यमा प्रवेश पाउँछौँ ।
जिजसको देशनालाई बुझ्ने प्रयास गरौँ । त्यसलाई जीवनमा उतार्ने प्रयास गरौँ । आत्मविकास गरौँ । आत्मरुपान्तरण गरौँ । जिजसको आर्शिवाद सबैमा वर्सियोस् । शुभकामना ।
विवेक विनयी
लेखक, आर्चाय तथा प्राचार्य
जुगल नवगुरुकुल, कपन