नेकपा एकीकरणको समयमा केपी ओलीले भने जस्तो दुई पाइलट मिलेर भर्ने उडान अहिलेको समयमा आएर अवतरण गर्न नसक्ने मोडमा पुगेको छ। पाइलट द्धयको पार्टी एकिकरणको समयको उल्लास तिन वर्ष पुग्दा नपुग्दै एक अर्कासंग सामान्य सिष्टाचार समेत हुन नसकी सम्वाद गर्न पनि पत्र लेख्नु पर्ने अवस्थाको श्रृजना हुनुले तमाम जनता निराश हुनुपरेको अवस्था छ । सम्वाद यदि भईहाले पनि त्यो तिक्ततामा परिणत हुन थालेको छ। यसले एकातिर जनताले स्थिरताको निम्ति भन्दै दिएको झन्डै दुई तिहाई मतको गज्जबले मजाक उडाएको छ भने अर्का तिर देश अस्थिरता तर्फ फेरी पनि धकेलिने भयो भन्ने चिन्ता थपेको छ।
धेरै लामो समयसम्म नेकपाका पार्टी कमिटि तथा जनबर्गीय संगठनहरु निस्कृय हुँदा आम कार्यकर्ता अन्योलमा छन् । सरकार तथा पार्टी सञ्चालनमा गम्भिर समस्याहरु देखा पर्दै गएका छन् । झन् भर्खरै प्रकाशित ट्रान्सपरेन्सी इन्टरनेशनलको एक रिपोर्टमा एशियाकै भ्रष्ट देशको सुचीमा नेपाल एक नम्बरमा पर्नु त्यो पनि शक्तिशाली सरकारको बागडोर सम्हाल्नु भएको सम्माननीय प्रधानमन्त्री केपी ओलीको प्रत्यक्ष संरक्षण रहेको कुरा उल्लेख हुनुले सरकार सञ्चालनमै ठुलो त्रुटी भएको भान हुन्छ।
कमरेड द्धय, तपाइँहरुले भरेको जेटको उडान अहिले कुहिरोमा हराएको काग जस्तो भएको छ। गन्तब्य नै नभेटी कता कता रुमल्लिएको छ। यो देश हाक्ने महान सारथि तपाईहरु अहिले एक अर्का बिरुद्ध जोड बल गरेर लाग्नु भएको छ। यस्ता कार्यले पार्टीलाई कहाँ पुर्याउने हो कुनै कल्पनासम्म पनि गर्नु भएको छ कि ?
प्रचण्डको प्रतिबेदनको जवाफी उत्तरमा ओलीको ३८ पृष्ठ लामो प्रतिबेदनको बुदा नम्बर २३ को अन्तिम अनुच्छेदमा म आज खुल्ला आहवान गर्न चाहन्छु । त्यागको यो शिलसिला आजैबाट सुरु गरौ । बारम्बार सरकार र पार्टीको नेतृत्व गरेका कमरेडहरुले अब जिम्मेबारी नलिऔँ र नयाँ पुस्तालाई हस्तान्तरण गर्ने घोषणा गरौँ । म यही दस्तावेजलाई अध्यक्षको जिम्मेबारी हस्तान्तरंको औपचारिक लिखत बनाउन तयार छु, के तपाई तयार हो ? भनि प्रचण्डलाई प्रश्न तेस्र्याएर निक्कै पुलकित हुनु भएको देखियो, यदि यो सफेद मजाक हैन भने सारै राम्रो प्रस्ताब गर्नु भयो तर दोश्रो पुस्ता पनि तपाईहरुकै जोड घटाउको गलत स्कुलिङ्गबाट हुर्किएको हुनाले यो पुस्ताबाट पनि प्रगतिशील सोच राख्नु अहिलेको समयमा आफ्नै खुट्टामा आफै बन्चरो हान्नु सरह हुनेछ। ओलीले गरेको प्रस्ताब आफु अफ्ट्यारोमा परेको बेला बिषयान्तर गर्नको निम्ति फालिएको नयाँ तुरूप हो भन्ने आरोप पनि तपाइलाई लाग्ने गरेको छ।
ओलीले जबाफी प्रतिबेदनको अधिकांश समय प्रचण्डको बिगत कोट्याउन समय खर्च गर्नु र १९ पेजको प्रश्नको प्रति प्रश्न ३८ पेजमा दिए भनेर मख्ख पर्नु बाहेक नविन कुरा गर्न खासै जमर्को नगर्नु भएको देखियो। यो दस्ताबेज तपाइँकै भाषामा आरोपको पुलिन्दा बाहेक अरु केहि हो भन्न सकिन्न। यसको मतलब प्रचण्डले चाँही गज्जब गर्नु भो किमार्थ हैन। पार्टी भित्र २ लाइन संघर्ष प्रष्ट देखा परेको अवस्था छ । के यो कमजोरी तपाईहरु दुबैको हैन ? एकले अर्कालाई दोष लगाएर उम्किने चेष्टा कदाचित न्यायिक हुन सक्दैन।
तपाईहरुको भाडभैलोले देशको किमार्थ हित हुदैन, झन् नेपाली कम्युनिष्ट आन्दोलनले प्राप्त गरेको यो गरिमामय ऐतिहासिक उपलब्धिलाई जोगाउन सकिएन भने देशी बिदेशी प्रतिक्रियाबादीहरुले देशमा अस्थिरताको बिजारोपण गर्न चलखेल गर्ने मनग्य प्रयास गर्ने अवस्था श्रृजित हुने प्रष्ट देखिन्छ। यो कुरा तपाईहरुलाई हामीले भनिराख्नु पर्दैन। तपाईहरु दुवै जना गुट उपगुटको मखुण्डो खोल्नुस र गम्भीर ढङ्गले मन माझामाझ गर्नुस। कुनै न कुनै निकाश अबश्य निस्किन्छ। वाद प्रतिबादमा उत्रिनु भन्दा समस्याको जरो फाल्ने कुरामा एक ठाउँमा हुनुस् अरु कुरा आफै मिल्दै जान्छन। तपाईहरु दुबैजना बर्तमान भन्दा भबिष्यमा तिरस्कृत भएको कदाचित राम्रो हुदैन। अहिलेलाई तपाईहरु मिल्नुको विकल्प छैन। देश निर्माणको यो महान अभिभारा जुन भरोशाका साथ जनमत नेकपालाइ प्राप्त भयो यसको उपहास हुन पक्कै दिनुहुने छैन।
कम्युनिष्टहरु सदैब बिधि र पद्दतिमा बिश्वास गर्दछन। पार्टीमा बिचारहरु ब्यक्त हुन्छन, छलफल हुन्छ, गहिरो बहस पैरवी मार्फत सहि विचार पार्टीको दिशानिर्देशको रुपमा अंगिकृत हुने गर्छन तर अहिले पार्टीका दुई पाइलटहरुको सुन्यता र जुँगाको लडाईले कसैलाई पनि फाइदा गर्ने संकेत दिँदैन। बिधि र पद्धतिको कुरा गर्दै गर्दा पार्टी सञ्चालनको दौरान कहानेर गल्ति भयो गम्भीर भएर सोच्नुहोस्। तपाईहरुको बेमेल अहिलेको आवश्यकता हैन। हिजोका दिनमा जरी मिलेर अगाडी बढ्नु भाको छ अब पनि मिलेर जानुस। बैठक नै बस्न नखोज्नु समस्या समाधानको सूचक हैन।
(लेखक भोज कुमार धमला जोन एकेडेमीका संस्थापक प्रिन्सिपल हुन् ।)
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।