नेपालको संबिधान २०७२ को धारा ३५ ले ब्यबस्था गरेको स्वास्थ्य सम्बन्धि हकको यो सरकारले गज्जबले मजाक उडायो। धारा ३५ को (१) मा प्रस्ट भनिएको छ कि ‘प्रत्येक नागारिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य
सेवा बाट बन्चित गरिने छैन।’ तर सरकार भन्छ यो महामारीको उपचार नगारिक आफैले गर्नु।
हामी दायित्व लिन सक्दैनौ। सक्दैन जस्तो पनि लाग्छ किन कि यो सरकारलाई संक्रमितहरुको संख्या गन्दैमा फुर्सद छैन। यो संख्या गन्ने काम पनि सारै गारो छ। जनस्तरमा यसो गुनासो आको मात्रै के थियो हैन हुनेहरुले चाहि आफै गर्नु नहुनेको निम्ति चाहिँ सरकार छ भन्न भ्याई
हाल्ने यो सरकारको वाहावाहि गरौ कि गालि आफै अफ्ट्यारोमा परे।
अरे सरकार हुनेखानेहरुको त के कुरा गर्नु यिनलाई रोग लाग्यो भने तिमिले कल्पनानै नगरेको रकम खर्च गरेर उपचार गर्छन। यिनीहरुलाई जुनसुकै अस्पतालका बेडहरु तुरुन्त उपलब्ध हुन्छन्। अझ नर्स र डाक्टरको निरन्तर सेवा यिनीहरुको घरमा अटुट रहन्छ। ति सरकारी अस्पतालमा राति नै लाइन बसेर टोकन लिएर बल्ल बल्ल उपचार प्राप्त गर्न खोज्ने निमुखाहरु जो निशुल्क सिटामोल पाउदा पनि धन्यबाद सरकार भन्छन् तिनीहरुलाई नै टोकसो गर्नु राम्रो भएन। के तिमीलाई भोट हाल्ने जनतालाई दिने संमान तिम्रो यही हो त?
गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा सबै नागरिकको पहुच शुनिश्चित गर्न पहल कदमी चाल्नु त कता हो कता उपचार आफै गर्नु भन्यो जिम्मेबारीबाट पन्छियो क्या गज्जब। कोभिड-१९ को रोकथाम र नियन्त्रणका लागि आवश्यक पर्ने आइसियु, एचडीयु, र भेन्टिलेटर लगाएत अत्याबसेक मेसिनको जोडजाम गरि जनतालाई राहात पुग्ने गरि काम गर्नु पर्ने बेलामा पार्टीको आन्तरिक किचलो र सत्ता दम्भ भित्र चलखेल गर्नेहरुले यथेष्ट मौका पाउदा फेरी पनि मारमा पर्ने त यिनै सोझा-साझा जनता।
लगभग सात महिना बन्दि बनाएर आर्थिक संकटको दलदले भासमा जनतालाई फसाएर हातमुख समेत जोड्न धौ धौ भएको अवस्थामा दशैँ भत्ता हाल्न लगाएर मैले त फिर्ता गरे भन्नेहरुको लर्को देख्दा त झन् उदेक लागेर आउछ। जनतालाई कहिले सम्म उल्लु बनाई रहने।
हुन त हो यो ओली राजमा जनयुद्धका सुप्रिम कमरेड पनि माछो माछो भ्यागुतो बनिरहेको अवस्थामा सर्बसाधारण जनताले अरु कुराको अपेक्षा गर्नु नै बेकार जस्तो लाग्छ। सुप्रिम कमरेड तपाइको यो सन्नाटा के को लागि? जनपक्षीय काम गर्नको निम्ति तपाई त सारै चतुर मान्छे तपाइलाई के ले छेकेको छ? सरकारले गरेका गल्ति किन चिरफार गरेर जनता सामु राख्न सक्नु भएको छैन। तपाइलाई इतिहासले निरिह साबित गर्नु हुदैन। पौठाजोरी खेल्दाको इतिहास हातलाग्यो सुन्य भएर डराई रहनु भएको त हैन? तपाईले प्राप्त गर्ने र गुमाउनु पर्ने सायदै अब केहि बाकि छ र! हरेक पटक आँधी तुफान सृजना गर्न सक्ने मान्छे देश र जनता निक्कै कठिन अवस्थामा भएको बेला तपाइँ चुपचाप बसेको पटक्कै सुहाएन।
आफैले भोट हालेर झन्डै दुईतिहाई मत दिएको सरकारलाई के भनेर गालि गरौ लज्जाबोध हुन्छ। चाडबाडको बेला छ तर पनि मन खिन्न छ। किन हो किन खुसि हुन सकीरहेको छैन। रहर छ गृह जिल्ला जाउँ परिवार जन संग खुसी साटौ, अग्रज संग आशिर्बाद थापौ तर सकीरहेको छैन।
जसोतसो गैहालियो भने पनि कर्मथलो बनाएको यो सहर काठमान्डू प्रवेश गर्न सक्दिन भन्ने डर छ। किन किन यो सरकारको बिश्वास लागिरहेको छैन। यो सरकार साच्चै बिबेकहीन छ। कोरोना जोखिम उच्च भएकोले काठमान्डू केहि समय प्रवेश निषेध गरिएको छ भन्ने सुचना आउछकि
भन्ने कुरा अन्तरमनमा खेली रहन्छ। अहिले मेरो अवस्था अगुल्टो हानेको कुकुर बिजुली चम्किदा तर्सिएको जस्तो भएको छ।
माफ गर्नुस बुबा आमा असुरक्षित यात्रा गरेर तपाईहरुको पनि स्वास्थ्यलाई जोखिममा पार्न चाहिन। यसपटकको आशिर्बाद फोनमै दिनुहोला।
(लेखक भोज कुमार धमला बौद्ध, नयाँबस्तीमा रहेको जोन एकेडेमीका संस्थापक प्रिन्सिपल हुन् ।)