शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

फकिरको अनसनले निम्त्याएको तरङ्ग !


  • सोमबार, असोज २६ २०७७
35.9K
SHARES

सरकारको निर्णय सार्बजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले यो महामारीमा अहिले अनसन बस्ने बेला हैन भन्नु भएछ। शायद डा. गोविन्द केसीको स्वास्थ्यलाई मध्यनजर गरेर उहाँको प्राण रक्षाको निम्ति सदासयता राख्नु भएको होला ।यसमा मेरो केहि टिका टिप्पणी छैन। व्यक्तिगत रुपमा न त म डा. केसीलाई चिन्दछु न त उहासंग मेरो केहि लिनु दिनु नै छ। चिकित्सा शिक्षा सुधारको माग राखेर अनसन बसी रहने डा. केसीसंग म पनि हैरान छु । माखो मर्ने वाला छैन यी डा. किन घरि-घरि यसरी लम्पसार परि रहन्छन् भनेर। शायद लोकतन्त्रको सुन्दर पक्ष संविधानको हक सबैले प्रयोग गर्न पाउने भएर होला यिनलाई पनि अनसन बस्न मन लागि रहने।
फकिर अनसन बस्छन्, उता छोटे राजाहरु निस्फिक्र मोज मस्ती लिने छन्। यिनको शैलीको यहाँ कसैलाई पर्वाह छैन।

कुरा रह्यो महामारीको बेला अनसन बस्ने। हो परराष्ट्रमन्त्रि प्रदिप ज्ञवालीको भनाईसंग शत प्रतिशत सहमत जनाउदछु। यो अनसनमा बस्ने बेला पटक्कै हुँदै हैन। उनले एक माथि अर्को गल्ती गरिरहेका छन्। उनले त यस्तो अफ्ट्यारो बेलामा सरकारको विरोध नगरिकन समर्थन जनाउनु पर्थ्यो र पो उनी पनि अरु जस्तै लाभको पद इज्जत अनि राज्यद्वारा दिइने पदवीको निम्ति सिफारिसमा पर्थे। सरकारले हाई हाई गर्दथ्यो। सफल भन्दा असफल हुनेहरु सम्मानित हुने बेलामा यी डा. साबको रडाको पटक्कै मन नपर्ने खालको छ। हैन सर्बसाधारणले दुःख पाको हेर्न सक्ने हिम्मत यिनमा छैनकि क्या हो ?

डा. केसी कुरो बुझ्दैनन् यहाँ जनताले हिरो बनाउदैमा केहि हुदैन। अहिलेको सरकारको नजरमा हिरो बन्नलाई त केहि महामहिमहरुको वरिपरि उनीहरुलाई सुमेरु पर्वत बनाएर परिक्रमा गर्नु पर्दछ। यी डा. साब वास्तवमै भेडा जस्ता छन्। न त पर्बत चिन्दछन् न त परिक्रमानै गर्दछन। अनि कसरी हुन्छ यिनको उन्नती प्रगती। यी फकिरलाई किन यति धेरै देश र जनताको चिन्ता भाको होला।

सरकार छ, डा. साब चिन्ता नलिनुस ‘खुशी नेपाली सम्बृद्ध नेपाल’ यही सरकारको जनप्रिय नारा हो। सरकारलाइ निस्फिक्री काम गर्न दिनुसन्। सधै सरकारको तगारो बनेर बसेर के हुन्छ। बिना काममा दुखः नबेसाउनुस् ! सरकारलाइ सके जति जनमतको खिल्ली उडाउन किन दिनु हुदैन। तपाई जस्ता फकिरको कुरा एउटा कानले सुनेर अर्को कानले बिर्सिन किन दिनु हुदैन।

तपाइलाई मेरो बिनम्र अनुरोध छ यस्ता सरकार विरोधी काम नगरिदिनुस। तपाई सरकारले गरेको कामको रमिते नबनेर किन आफै रमिता देखाउनु हुन्छ ? कि तपाइलाई लगभग दुइ तिहाई जनमत प्राप्त सरकारको कदर गर्न आउदैनर ? कि तपाइलाई चलन चल्तीको संस्कार थाहा छैन ? कानमा तेल हालेर निस्फिक्री बस्नु पर्ने बेलामा अनसन बसेर सत्तासिनहरुको मथापच्छे गर्ने रहर बिस्तारै कम गर्दै जानुस। यसैमा तपाइको भलाई हुन्छ।
सरकारले त पुरै देशको सम्वृद्धिलाई मध्यनजर राखेर काम गर्नु परेको छ। सरकारको अहिलेको प्राथमिकता जाबो एउटा फकिरले अनसन बस्यो कि बसेन भनेर लेखाजोखा गर्ने होइन। यो लोकतन्त्र हो यी फकिर जस्तै सरकारलाई पनि आफ्ना काम बिना हिच्किचाहट गर्ने अधिकार छ।
झन् हाम्रा सम्माननीय प्रधानमन्त्री ज्यूलाई त आफ्नो कार्यकारिणी अधिकार प्रयोग गरि कसैलाई मन्त्रि, सल्लाहकार, अनि राजदूत आफु खुशी फुत्त फुत्त नियुक्त गर्न सक्नुहुन्छ। के टाउको दुखाउनु, के खेदो खन्नु। खेदो खन्नुको अर्थ पनि छैन। उहाँले सहि ठानेका कुरालाई हामीले बेठिक लागेर हुदैन।
विभिन्न कालखण्डमा नेपाली जनताको कष्टकर बलिदानीले मार्गनिर्देश गरेको रोडम्याप यथास्थितिमा गतिशिल हुने अवस्था छैन। सत्तासिनहरुको अदुरदर्शी, अपारदर्शी र आत्मा केन्द्रित विवेकहीन चेतन सुन्यताले देश भ्रष्ट दलालहरुको चंगुलमा फस्दै जाने खत्तरा दिन प्रति दिन बढेर गएको छ। त्यसैले अबको डिस्कोर्ष यथास्थितिमै रहने र देश दुरगामी दल-दले भासमा फसेको हेर्ने की जन अपेक्षा अनुसार सहिदको सपना साकार पार्ने जन उत्तरदायी निस्कलंक नेतृत्वको विकास गरि अघि बढ्ने भन्ने कुरामा केन्द्रित हुन जरुरी छ। राजनीति जबसम्म समाजसेवा नबनी नेतृत्वको गरिखाने भाडो बन्दछ तबसम्म जनताले पाउने भनेको सास्ती नै हो।
नेपालमा अहिले बेथिथी कुन ठाउमा छैन र कैलेसम्म के-के को निम्ति अनसन बसिरहनेर ? जनताको छैठौँ इन्द्रिय खुलेको दिन तपाईहरुको सत्ताको डोरी चुडाउदै र तपाइहरुले जरा गाडेर दुषित बनाएको यो भूमि गंगा जलले सिंचित भई पवित्र हुन प्रतिक्षारत छ। आफ्ना शैली बदल्नुस, अझै समय घुर्केको छैन। देशमा सुशासन, अमनचैन, भएको हेर्ने रहर सबैमा छ।

(लेखक भोज कुमार धमला जोन एकेडेमीका संस्थापक प्रिन्सिपल हुन् ।)


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा