शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

‘निजी विद्यालयका शिक्षक कर्मचारीले तलबभत्ता नपाउने हुन त ?’


  • शनिबार, असार २० २०७७
23.8K
SHARES

यस बर्ष शैक्षिक सत्र सुरु हुन सकेको छैन । कोरोना महाब्याधिका कारण विश्व नै अस्तब्यस्त छ । कोरोना जिवाणुको गोलोगोलो सेलको फोटो देखाएर यसलाई ब्यापार गर्नेहरुको राज्य छ संसार भर । अहिले विश्वमा यो ब्यापार ब्यापक मात्रामा फस्टाएको छ । सारा संसार बन्द छ । ब्यापार, ब्यवसाय, शिक्षा, रोजगारी सबै बन्द छ तर कोरोनाको जिवाणुको गोलोगोलो सेलको ब्यापार फष्टाएको छ विश्वमा । कोरोना ब्यापारमा हाम्रो देशका केही पहुँचवालाहरुको धन्दा पनि दिन दुईगुना रात चौगुनाका दरले मौलाएको छ ।

सिमित आम्दानीको श्रोत हुने वर्गहरु अत्ताल्लिएका छन् । सय दिन नाघेको लकडाउनको पीडाले भुईमान्छेका सपनाहरु चकनाचुर हुँदैछन् । आत्महत्याको बाटो तर्फ लम्कदैछन् । तर रङ्गीचङ्गी कोरोना जिवाणुको गोलोगोलो सेलको ब्यापार गर्ने आसमानी सम्भ्रान्त ब्यक्तिहरुले भुईमान्छेको पीडा देख्ने कुरै भएन । यो महाब्याधिको आर्थिक र सामाजिक असरले सम्भ्रान्त वर्गलाई छुनसकेको छैन । छुनसक्ने ल्याकत पनि यस महाब्याधिको देखिदैन । किनकि यो वर्ग भईमान्छे होईन । यिनीहरु आसमानी मान्छे हुन ।

लकडाउनले सय दिने उत्सब मनाई रहेका बेला देशभरमा निजी क्षेत्रबाट सञ्चालित सात हजार विद्यालयमा अध्ययनरत बाईस लाख भन्दा बढी विद्यार्थीहरुलाई अध्यापन गराउने दुई लाख भन्दा बढी शिक्षक तथा कर्मचारीहरुले यो अवधिको तलब तथा भत्ता पाएका छन् त ? लकडाउनको सुरुवाति चरणमा कनिका छरेझै केही राहत बाड्ने नाटकको मञ्चन भएको थियो मुलुकमा । सहृदयी घरधनीले घरभाडाको छुट दिने स्वःतस्फुर्त घोषणा पनि गरे । तर समय लम्बिदै जाँदा परिस्थिति पनि बदलिँदै गएको छ । राहत बाडनेहरु अलप भएका छन् यस धर्तीबाट । सहृदयीहरुको घोषणालाई बल दिनेहरु निस्किएनन् समाजमा । उनीहरुको आवाजको बल पु¥याउने कोही भएनन् समाजमा, एक्लो बृहस्पति झुट्टा भनिए झै भए उनीहरु । यही महाब्याधिकै कारण थुप्रै निजी ब्यवसायहरु तलाउको पानीमा परेकको थोपा बिलिन भए झै बिलिन भए र हुँदैछन् यो मुलुकमा । निजी विद्यालयहरु पनि यही चरणबाट गुज्रिरहेका छन् अहिलेको अवस्थामा । कतिपय निजी विद्यालयहरुको अस्तित्व यो महाब्याधिको प्रकोप पश्चात रहन्छ कि रहँदैन ? आफैमा यो यक्ष प्रश्न भएको छ ?

निजी विद्यालयहरुमा आश्रित दुई लाखभन्दा बढी शिक्षक कर्मचारीले यो अवधिको तलब भत्ता पाउने कि न पाउने ? पाउने भए कहिले पाउने ? विद्यार्थीहरुबाट शुल्क नउठेको अहिलेको अवस्थामा उनीहरुले आफ्नो तोकिएको सिमित आम्दानीको श्रोत बन्दा हुँदा कसरी गुजारा चलाई रहेका छन् ? उनीहरुको दैनन्दिनी कसरी चलिरहेको छ ? यो प्रश्नको उत्तर खोज्ने साहस कसले गर्ला ?

मूलत निजी विद्यालयहरु विद्यार्थीहरुबाट उठाईने शुल्कबाट सञ्चालन भएका हुन्छन् । अभिभावकले तिर्ने विद्यार्थीहरुको शुल्कनै आम्दानीको प्रमुख र अन्तिम श्रोत हो । यो श्रोत बाहेक विद्यालयहरुको अन्य आम्दानीको श्रोत छैन । यो नै यथार्थ हो । अहिले यो श्रोतको मुहान सुकेको छ । चैत्र बैशाख महिनाको खडेरीले सुकेको खोल्सा, खहरे जस्तो भएको छ निजी विद्यालयको आम्दानीको श्रोत । अनि यसमा आश्रित शिक्षक तथा कर्मचारीहरुको अवस्था तिनै सुकेका खोल्सा, खहरे माथि आहार खोज्दै हिँडने कमिला झै भएको छ अहिलेको अवस्था ।

कोरोना महामारीकै अवस्थामा पनि नियमित आम्दानी हुनेहरुको वर्ग पनि ठूलै छ । निजामती, जङ्गी, प्रहरी, सरकारी विद्यालयका शिक्षक कर्मचारी, स्थास्थ्य क्षेत्रमा कार्यरत कर्मचारी, सरकारी संस्थानहरुका कार्यरत कर्मचारी, बिदेशि नियोगहरुमा कार्यरत कर्मचारी लगायत यस्ता थुप्रै संघसंस्थाहरु छन् जसमा नियमित तलब तथा सुबिधा बितरण भई रहेको छ । यद्धपि कतिपय यी संस्थाहरु पनि लकडाउनको समयमा बन्द प्राय नै थिए । तर यहाँका कर्मचारीहरुको आय श्रोतमा खासै समस्या देखिएन । यस्ता संस्थाहरुमा कामगर्ने बहुसंख्यक अभिभावकका सन्तानहरु निजी विद्यालयमा नै अध्ययनरत छन् । तर पनि निजी विद्यालयहरुमा नियमित आम्दानी गर्ने वर्गले पनि तिर्न बुझाउँन बाँकी रहेको शुल्क विद्यालयहरुमा बुझाउनु भएको छैन् । सरकारको एकांकी दृष्टिकोण र सर्कुलरका कारण निजी विद्यालयमा पढाउने नियमित आम्दानी हुने वर्गले पनि शुल्क बुझाउँन आनाकानि गरिरहेको अवस्था हो अहिलेको । सबैलाई जानकारी भएकै विषय हो, निजी विद्यालयहरुको आम्दानीको प्रमुख श्रोत भनेकै अभिभावकले बुझाउने शुल्क हो । यही शुल्कका आधारमा विद्यालयको आर्थिक गतिविधी र तलब भत्ताको ब्यवस्थापनहुने गर्दछ । सरकारी अकर्मण्यताकै कारण थुप्रै निजी क्षेत्रबाट सञ्चालित स्वरोजगार ब्यवसायहरु धरासायी भएका छन् । ति संस्थाहरुमा आश्रित कर्मचारीहरुको आम्दानीको श्रोत ठप्प भएको छ । बहुसंख्यक निजी विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुको अवस्था पनि यो भन्दा भिन्न छैन ।

चर्चा गरौं निजी विद्यालयहरुको अवस्थाका बारेमा । सञ्चालनमा रहेका निजी विद्यालयहरुले उपलब्ध गराएको सेवा तथा सुविधा र भौतिक अवस्थालाई समेत मुल्याङ्कन गरी पाँचवटा वर्गमा वर्गीकरण गरिएको अवस्था छ । “क” देखि “घ” वर्ग सम्मका चारवटा वर्ग र एउटा वर्ग छ बिशिष्ट । यसरी हेर्दा मुलुकमा पाँच वटा वर्गमा विभाजन भएका निजी व्यवस्थापनमा सञ्चालित विद्यालयहरु छन् । प्राप्त तथ्याङ्क अनुसार निजी विद्यालयहरुको प्रति विद्यार्थी बार्षिक आम्दानी औषतमा निम्नानुसार रहेको देखिन्छ । यद्धपि उल्लेखित बर्गिकरण अनुरुप तोकिएको शुल्क भन्दा कम शुल्क प्राप्त गर्नेे विद्यालयहरुको संख्या अधिक रहेको यथार्थ हो भने तोकिएको शुल्क भन्दा उच्च शुल्क उठाउने केही विद्यालयहरुको संख्या पनि विद्यमान रहेको छ ।


बार्षिक आम्दानीको आँखाबाट यो तथ्याङ्कलाई आधार मान्ने हो भने क्र.सं. १ र २ मा रहेका विद्यालयहरुको अवस्था दयनिय रहेको छ । यो संख्या कुल विद्यालयहरुको संख्याको ७५५ रहेको देखिन्छ । यो संख्याले मुलुकभर रहेको बहुमत निजी विद्यालयहरुको प्रतिनिधित्व गर्दछ । यसैगरी क्र.सं. ३,४ र ५ मा रहेका विद्यालयहरुको बार्षिक आम्दानी औषत रहेको देखिन्छ । सि.नं. ६ मा रहेका केही निजी विद्यालयहरुको बार्षिक आम्दानी उच्च स्तरको रहेको छ ।

उच्च स्तरको आम्दानी प्राप्त गर्ने विद्यालयहरुले आफ्ना शिक्षक तथा कर्मचारीहरुलाई दिने तलब तथा सुबिधाहरु पनि अन्यको तुलनामा उच्च नै रहेको छ भन्ने अनुमान गर्नुपर्ने हुन्छ । अहिले विद्यार्थीहरुका लागि अनलाईन कक्षाको बाडी आएको छ । सक्षम विद्यालयहरुले यस विधिलाई ब्यवस्थित ढंगले सञ्चालन गरेका छन् भने यी विद्यालयहरुमा पढ्ने विद्यार्थीहरुले पनि केही हदसम्म आफ्नो अध्ययनलाई जारी राखेकै छन् । यो सुविधा प्रादान गर्ने विद्यालयले यो सुबिधा बापत शुल्क पनि उठाई आएकै छन् र सुबिधा प्राप्त गर्ने वर्गका अभिभावकहरुले विद्यालयलाई बुझाउनु पर्ने शुल्क पनि बुझाएकै छन् । अपबाद बाहेक यसमा शंका गर्ने ठाउँ छैन । सुबिधा सम्पन्न तथा उच्च स्तरको आम्दानी गर्ने यस्ता निजी विद्यालयहरुले अहिलेको विषम अवस्थामा कार्यरत शिक्षक तथा कर्मचारीहरुको तलब भत्ता तथा सुबिधा रोक्नुपर्ने वा नियमित रुपमा नदिनु पर्ने कारण देखिँदैन । यदी यो वर्गको विद्यालयले पनि आफ्ना शिक्षक तथा कर्मचारीहरुको सेवा सुविधा नियमित रुपमा बितरण गरेका छैनन् भने यो सरासर अन्याय हुन्छ । यसमा पुनरावलोकन गर्नैपर्ने हुन्छ ।

तालिकाको ३, ४ र ५ का विद्यालयहरुले अहिलेको अवस्थामा अनलाईन होस् वा अन्य उपयुक्त विधी अपनाएर आफ्ना विद्यार्थीहरुलाई सिकाई प्रक्रियामा जोड्ने काम पनि गरिरहेका छन् । यस कार्यमा संलग्न शिक्षक कर्मचारीहरुको मिहिनत तथा लगाब प्रशंसनिय छ । उनीहरुले यो समयमा अझ बढी लगनशीलता र मिहिनेत पस्केका छन् विद्यार्थीहरुका लागि । तर यथार्थमा यि विद्यालयहरुमा नियमित रुपमा शुल्क भने प्राप्त भएको छैन् । यि विद्यालयहरुमा पढाउने अधिकांश अभिभावकहरुको मनस्थिति पर्ख र हेर को आवस्थामा भएको बुझ्न सकिन्छ । यो वर्गका विद्यालयहरुले आफ्ना शिक्षक तथा कर्मचारीहरुलाई पूर्ववत दिदै आएको सेवा सुविधा उपलब्ध गराउन भने सकेका छैनन् । यो यथार्थ हो । यद्धपि यो वर्गमा संञ्चालित विद्यालयहरुले पनि आफ्ना शिक्षक कर्मचारीहरुलाई नियमित तथा आशिंक रुपमा तलब भत्ता बितरण गरेको पनि हुनसक्छ भन्ने अनुमान चाहिँ गर्न सकिन्छ । यदी यो वर्गमा रहेका विद्यालयहरुले नियमित रुपमा दिदै आएको सेवा सुविधा अहिलेको विषम परिस्थितिका कारण अवरुद्ध भएको छ भने पनि परिस्थिति अनुरुप आफ्ना शिक्षक कर्मचारीहरुलाई उनीहरुले पाउने सेवा सुबिधाहरु उपलब्ध गराउने प्रतिबद्धता भने गर्नुपर्ने हुन्छ । सहज परिस्थिति सिर्जना भए पछि पाउने सेवा सुबिधा प्राप्त गर्ने प्रतिबद्धता पनि सम्बद्ध पक्षहरुका बिच हुनुपर्दछ । यस्तो वातावरण तयार गरेर अघिबढेको अवस्थामा आगामि दिनहरुमा सबै पक्षमा अझ वढी काम गर्ने हौसला प्राप्त हुन्छ ।

आफ्नो गच्छे अनुसारको अनलाईन कक्षा वा अन्य उपलब्ध विधीको प्रयोग गरी घस्रदै अघि बढन प्रयत्न गर्ने विद्यालयहरु क्र.सं. १ र २ वर्गमा रहेका छन् । उनीहरुको प्रयास प्रशंसनिय छ । विद्यार्थी तथा अभिभावकहरुका माझमा पु¥याउनु पर्ने सेवा दिन यो वर्गका विद्यालयहरुको प्रयास पनि कम छैन यो महामारीको समयमा । यद्धपि यो वर्गका विद्यालयहरुको अवस्था भने जटिल रहेको छ । यो कोरोना महामारीको अवस्थाले यस वर्गका विद्यालयहरुको अवस्था त झन ज्यादै दर्दनाक हुने देखिन्छ । यि विद्यालयहरुका लगानीकर्ता, सञ्चालक, शिक्षक कर्मचारीहरुको अवस्था त कहालिलाग्दो नै हुने देखिएको छ । यो अवस्थामा यस प्रकारका विद्यालय र आश्रित शिक्षक कर्मचारीहरुको भबिष्य अनिश्चित प्राय छ । यस्तो अवस्थामा लगानीकर्ताहरुले लगानी थप्ने अवस्था पनि सहज छैन भने कार्यरत शिक्षक कर्मचारीहरुको अवस्थामा पनि प्रश्न चिन्ह लाग्ने छ । यस्ता प्रकारका विद्यालयहरुको संख्या माथि उल्लेख गरिएनुसार ६० प्रतिशत भन्दा माथि रहेका छन् । अहिलेको संकटमा “बचाऔं र बाँचौ । बाँचौ र बचाऔं”को अवस्थामा सबै पक्ष मिलेर नजाने हो भने समय कसैको पनि हितमा हुनेछैन । अतः यो महासंकटको अवस्थामा सम्बद्ध पक्ष अर्थात सरकारी पक्षबाट विद्यालयहरुलाई जिवन्त राख्ने प्रयासको थालनि गर्न अब ढिलो गर्नु हुँदैन । निजी विद्यालयका छाता संगठनहरुले उठाएका समस्या र समाधानका उपायहरु सरकारले बेलैमा गम्भिर भएर कार्यान्वयन गर्नु नै बुद्धिमत्ता हुनेछ ।

पारसमणि दाहाल
उप महासचिब
नेसनल प्याव्सन, केन्द्रिय समिति
Email: [email protected]


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा