आज असार पन्ध्र अर्थात राष्ट्र्यि धान दिवस । परम्परागत दहीचिउरा खाने दिन । असार पन्ध्र हाम्रा लागि दुईवटा चाँड । राष्ट्र र मुलुकका किसानहरुका लागि राष्ट्र्यि धान दिवस । परम्परा वा संस्कृतिको रुपमा चलि आएको दही चिउरा खाने दिन असार पन्ध्र । किसानहरु खेतिपातीमा तल्लिन हुने समय । बालिनाली लगाउने मुख्य समय । कृषि प्रधान मुलुक । हाम्रो पहिचान कृषि प्रधान देशको रुपमा यद्धपि रहेको छ । तर अहिले कृषिको घट्दो उत्पादन । हिमाल, पहाड, तराईका हज्जारौं रोपनी तथा बिगाहा जमिन बाँजो । गाउँ होस वा शहर युवाहरु रोजगारीका लागि बिदेशिन बाध्य । युवाहरुका लागि बिदेश बाध्य मात्र नभएर रहर पनि भएको छ । पल्लो घरको फलानो बिदेश गयो । मेरो छोरो बिदेशमा छ । यो वाक्य स्वदेशमा बस्ने कतिपय प्रौढहरुका लागि गर्वको विषय भएको छ यो देशमा । गफको मसला भएको छ । चोक र चौतारोहरुमा ।
स्वदेशमा बसेर गर्न सकिने कामका बारेमा यहाँ चर्चा गरिदैन । सम्भावनाहरुका बारेमा सोच्ने फुर्सद कसैलाई छैन । हामीमा नकारात्मक सोच तथा बिचारले प्रभाव पारेको छ । छैन, हुँदैन, भएन, सकिदैन जस्ता सोच र बिचार बाट हामी प्रभाबित छौं । हाम्रा कुराकानीका सुरुवात नै यिनै शब्दहरुबाट हुन्छ ÷गरिन्छ । तर यसको ठिक उल्टो आशाबादी भएर वा सकारात्मक सोचका साथ हामी कुराहरुको उठान गर्दैनौ चोक र चौतारोहरुमा । हतास मानसिकता र नकारात्मकता हाम्रा सोचको संस्कार नै भयो, हाम्रा सबै सम्भावनाहरुका ढोका बन्दा भएका छन् भन्ने मानसिकता बाट । “हामी नेपाली उठन नसक्ने गरी थलिएका छौं । अब हाम्रो बिकल्प नै बिदेशिनु हो” भन्ने भावना बाट । यही संस्कारले युवा पिंढिहरुमा पनि गहिरो छाप छाडेको छ । उनीहरुको रगतमै बिदेशिनु आफ्नो अपरिहार्य उद्धेश्य हो भन्ने सोचले जरा गडेको छ ।
“यो देशमा बसेर के हुन्छ ? यहाँको ब्यवस्थाले नै युवाहरुलाई बस्ने वातावरण निर्माण गरेको छैन् । यहाँ बसेर जीवन निर्वाह गर्न सकिदैन ।” जस्ता नकारात्मक सोच युवा पिढीमाहोस् वा अभिभावक सबैले यही चर्चा गर्ने गरिएको छ । जसले गर्दा हाम्रो मुलुक बैदेशिक रोजगार उत्पादन गर्ने कारखाना बन्ने तर्फ उन्मुख हुन पुगेको छ । यो देश बृद्धहरुको क्लब बन्ने सम्भावना तिर लम्कदो छ । यहाँ बस्ने बृद्धहरु गाउँको चौतारी वा वरपिपलको फेदमा बसेर रामायण, महाभारतका कथा भन्ने र सुन्ने, बिश्व युद्धमा प्राप्त गरेका तक्मा र अपाङ्ग भएका आफ्ना शरिरका ब्यथा कहने, फकल्याण्ड युद्धमा आफुले प्राप्त गरेको सफलताको कथा अरुलाई सुनाउने कामका लागि मात्र जीवन बाँकी रहेको गर्व गर्ने संस्कार हाबि भएको छ । यी कथाहरु नै बाँचेका प्रौढहरुको सफलता हो र नवयुवाहरुका लागि प्रेरणा भन्ने अभिशप्त स्थापित भएको छ ।
हामी हाम्रा लागि होईन अरुका लागि । बिदेशिका लागि । बिदेशि सेना र दरवान कुल्लिका लागि जन्म भएको हो । हाम्रो जीवनको मूल उद्धेश्य नै संसारका कैंयौ देशहरुको सीमा रक्षा गर्नु हो । न्याय तथा अन्याय जसकालागि पनि भएको बिद्रोह होस् त्यो बिद्रोहको दमनमा प्रयोगहुनु हाम्रो बिशिष्ठ कर्म हो । हामी विवेकहिन मेसिन हौं । विवेक र चेतना हाम्रा लागि फगत हातमुख जोर्ने औजारहुन । यस्तै मानसिकता हामीमा हाबी भएको छ ।
लहैलहैमा बिदेशिने युवाहरुको संख्या पनि उल्लेख्य छ । तर विवशताका कारण बिदेशिनु पर्ने अवस्था भने हाम्रो आर्थिक तथा सामाजिक कारण नै हो । देशमा पञ्चायती शासनहुँदा पञ्चायती शासकहरुलाई दोष थोपर्ने गरिन्थ्यो । “युवाका लागि रोजगारी र उचित जीबिकोपार्जनकालागि पञ्चायती ब्यवस्थाले काम गरेन । युवा बिदेशिएकोमा रमाउने शासक थिए । स्वदेशमा बस्ने कम चेतनशील र अशिक्षितमाथि राज्य गर्न सजिलो हुन्छ । दमन गर्न सजिलो हुन्छ भन्ने मान्यता राख्ने गरेको छ तत्कालिन शासकहरुले । त्यसकारण पञ्चायती शासकहरुले युवालाई बिदेशिन बाध्य बनाएको हो । गोरखा भर्ती केन्द्र होस वा घरेलु कामदार, विद्यार्थी भिसा होस् वा टुरिष्ट भिसा जसले जे चाह्यो त्यही भिसा हातमा ।” पञ्चायती ब्यवस्थाको बिरोध यसरीनै गरिन्थ्यो बिगतमा । अहिले ब्यवस्था परिबर्तन भएको छ । समय धेरै अगाडि बडेको छ । मुलुकका युवाहरु धेरै चेतलशील भएका छन् । हिजोका दुर्गम गाउँहरु अहिले शहर उन्मुख भएका छन् । हिजोको पञ्चायती ब्यवस्था अहिले एकादेशको कथा भएको छ । बिगतका युवा तथा राजनैतिक पार्टीका नेताहरुले चाहेको परिबर्तत भएको छ मुलुकमा । जनताका राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक सबै अधिकारहरु लिपिबद्ध रुपमै स्थापित भएका छन् । हिजो जेलमा सडेका र सड्का भौतारिएका नेता, कार्यकर्ता अहिले बागडोर हातमा लिएर मुलुकको सारथी बनेका छन् । तर बिदेशिने युवाको लर्को थामिने त हैन महासागर झै दिनदिनै उर्लदो छ । अवस्था कहाली लाग्दो छ । यहाँ बाट सास बिदेशिन्छ । उताबाट बाकसमा बन्द भएर लास आउँछ । युवाहरुको सपना उतैको माटोमा साटिन्छ ।
असार पन्ध्र । देशको अधिकांश जमिन बाँझो छ । तराईका फाँटहरुले सिचाई पाएनन् । नहर र कुलो बाध्ने काम भएन नदीहरुमा । तराईको मरुभूमिमा चप्पल पड्काउँदै मत माग्ने नेताहरु उच्च ओहोदामा आशिन छन् । दिनदिनै जमिन मरुभूमिकरण हुँदैछ । नदीनालाका पानी हरपल बगेर खेर गएको छ । तर, देश कृषि प्रधान हो । सरकारी श्रेस्तामा लेखिएको छ, देशका बहुसंख्यक जनता कृषि पेसामा आधारित छन् । खाद्यान्न आयतको धरहरा अग्लिदो छ । निर्यातजन्य उत्पादनको सूचि दिनहुँ घट्दो छ । निकासिका लागि हिडेका दुईचार ट्र्क अम्लिसो र अदुवा सिमा नाकामा रोकिन्छन् । जमिन जोत्ने युवा बिदेश छन् । गाउँ रित्तो छ । भएका बुढापाका किसानहरु धान रोप्ने तयारीमा छन् । रसायनिक मल छैन् । समयमै रसायनिक मल चाहिँन्छ भन्ने हेक्का यहाँका सत्ताधारीहरुमा छैन् । कृषि मन्त्रालय मल अभावका कारण कृषि उपज घट्ने प्रक्षेपण गरिरहेछ । भोलि उत्पादित अन्नको मूल्य कौडिको भाउमा बिक्रि गर्न किसान बाध्य हुनेछन् । किसानहरुको जीवन झन कष्टकर बनेको छ र बन्दै जानेछ । बर्षौ देखि यही प्रथा चलिआएको छ । उपभोक्ता चर्को मूल्य तिरेर उपभोग गर्न बाध्य भएकै छन् । बर्षौै देखिकै प्रथा हो । यहाँ न प्रजातन्त्र आएको छ न गणतन्त्र । तर, बर्षै पिच्छे असार पन्ध्र आएको छ । धान दिवस आएको छ । हुनेले दहीचिउरा पनि खाएकै छन् । सरकार सिंहदरवारमा बसेर खान्छ । किसान खेतको आलिको डिलमा । बस्ने ठाउँ मात्र फरक तर गच्छे अनुसार दहीचिउरा खाने दिन असार पन्ध्र ।
कृषिमा आधारित उद्योगहरु प्राय सबै बन्द भएका छन् । जुट मिल, सुगर मिल, कपडा उद्योग, चुरोट कारखाना, छालाजुत्ता कारखाना, कृषि औजार कारखाना सबै एकादेशका कथा भईसके । केही मात्रामा रोजगारी सिर्जना गर्ने यस्ता उद्योगहरुको सम्बन्ध हामीले प्राप्त गरेको प्रजातन्त्र र गणतन्त्रसंग मेल खाएन । मुलुकका किसानहरुका लागि प्रजातन्त्र र गणतन्त्र “ढुङ्गामाथि पानी प¥यो रुज्यो मात्र भिज्यो नाई, मूर्खसँग कुरा ग¥यो सुन्यो मात्र बुझ्यो नाई” झै भएको छ यो सरकार मुलुकका लागि ।
तामझामका साथ धान दिवस मनाईन्छ सबै बर्ष । यस बर्ष पनि के कम ! कृषि मन्त्रालयले धान दिवसलाई ठूलै चाँड बनाउने छ । सम्माननिय र माननिय हातहरुले दुई गाबो धान रोप्नेछन् सधैं झै यस बर्ष पनि । प्रचलनमा रहेको दहीचिउरा चपाउने छन् अतिथिका दाँतहरुले । किनकि परम्परा र चलनलाई जिवन्त राख्नुपर्छ । यस्तै मन्तब्य पस्कनेछन् । यो दिवसको उपलक्ष्यमा मान्यवरहरुले । यस बर्ष गन्यमान्यहरु संगै विद्यार्थीहरुले पनि सभागि बन्ने अवसर प्राप्त गर्नेछन् खेतखलियानहरुमा । उनीहरुको हातमा रोप्नका लागि कलम हुनेछैन यस बर्ष । कोरोनाको पुरष्कारका रुपमा उनीहरुले आप्mना हातमा धानका बिउको मुठो प्राप्त गर्नेछन् । हलोको अनौ उनीहरुको हातमा थामिने छ । बाउसे बन्नेहरुका लागि कोदालोको बिंड साथी बन्ने छ । किताबको झोलाको ठाउँमा घाँसको भारी हुनेछ उनीहरुको काँघमा । यो पुरष्कारको ब्राण्डको नाम “कोरोना” हुनेछ । पुरष्कार बाढ्न तम्तयार भएर बसेको छ मुलुकको शिक्षा मन्त्रालय । पुरष्कार प्राप्त गर्ने लाखौं विद्यार्थीहरु हुनेछन् यस पटकको असार पन्धमा खेतखलियानमा । दहीचिउराले ओठका भित्ताहरु पोतिने छन् । मन अमिलो हुनेछ ति विद्यार्थीहरुको । पढाईको सम्झनाले छाति घोच्नेछ दहीसंग मिसिएको चिउराले । आफ्नो हात आप्mनै पेटमाथि मुसार्दै ढ्याउ गर्नेछ गणतन्त्रको उज्यालोमा जन्मिएको प्रचण्ड बहुमतको सरकारले । सरकारले कोरोनामय एसईई परीक्षाको नतिजाको टपरी बाँडे झै सबै कक्षाका विद्यार्थीहरुले आफ्नो कक्षा अनुसारको दुना, बोहोता, लपेस, टपरी यस बर्ष प्राप्त गर्नेछन् । विद्यालय नगएरै । सम्भावना यतैतिर बरालिएको छ । यस बर्षको असार पन्ध्रको धान दिवस र दहीचिउरा मुलुकका विद्यार्थीहरुका लागि यस्तै यस्तै हुने छ ।
पारसमणि दाहाल
उप-महासचिब
नेसनल प्याव्सन, केन्द्रिय समिति
Email: [email protected]