अहिले हामी कोरोना महामारीको त्राससंगै जीवन गुजारी रहेका छौं । महामारीका कारण मुलुकका सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द छन् । विद्यार्थीहरु विद्यालय विहिन अवस्थामा रहेका छन् । निजि लगानीमा सञ्चालित विद्यालयहरुमा कार्यरत शिक्षक तथा कर्मचारीहरुले विगत तिन महिना देखि तलब भत्ता प्राप्त गर्न सकिरहेका छैनन् । जसले गर्दा शिक्षण पेशामा लागेका हज्जारौं शिक्षक कर्मचारीको दैनिकी कष्टकर बन्दै गएको छ । सरकारी आंकडा अनुसार हाम्रो मुलुकमा निजी लगानी र सामुदायिक गरी ३५ हजार ५५ विद्यालय छन् । शिक्षा तथा मानव संसाधन विभागको २०७५ को प्mल्यास रिपोर्ट अनुसार निजी र सामुदायिक विद्यालयहरुमा अध्ययनरत बाल विकासदेखि माध्यमिक तहसम्म ८१ लाख ८८ हजार ४ सय ४३ जना विद्यार्थी अध्ययनरत रहेका छन् । उच्च शिक्षामा अध्ययनरतलाई पनि जोड्ने हो भने ९० लाख हाराहारी विद्यार्थी छन् अहिले मुलुकमा । कोरोना महाब्याधीका कारण शहर केन्द्रित विद्यार्थीहरु इन्टरनेट, मोबाईल तथा टेलिभिजनका साथी बनेका छन् भने ग्रामिण क्षेत्रका विद्यार्थीहरु खेतिपाती तथा घरायसी काममा ब्यस्त रहेका छन् । अहिले देशभर खेतीपातीको समय भएको छ । ग्रामिण क्षेत्रमा बसोबास गर्ने विद्यार्थीहरु आफ्ना कृषक अभिभावकको सहयोगी बनेका छन् । शहरी क्षेत्र र केही सुबिधा सम्पन्न ग्रामिण क्षेत्रहरुमा बैकल्पिक शिक्षण विधि मार्फत सिकाईलाई अघि बढाउने प्रयत्न सरकारी र निजी स्तरबाट सुरु भएको छ । तर अधिकांश ग्रामिण क्षेत्रमा बसोबास गर्ने विद्यार्थीहरुका लागि यो विधिमा पहुँच छैन । उनीहरु न्यूनतम सिकाईको अवसरबाट समेत बञ्चित हुनपुगेका छन् ।
यस बर्ष झण्डै चार लाख बयासी हजार विद्यार्थीहरुले एसईई परीक्षाको तयारी गरेका थिए । एकाएक यि परीक्षार्थीहरुको परीक्षा स्थगित मात्र भएन अन्ततोगत्व खारेज नै भयो । अहिले ती बिद्यार्थीहरुको मूल्याङ्कनको आधार अर्थात निर्देशिका तयार गर्ने काममा मन्त्रालय लागि रहेको छ । यसका लागि समितिको निर्माण पनि मन्त्रालयले गरिसकेको छ । लामो समयदेखि हाम्रो मुलुकमा बैशाखको पहिलो हप्ता देखि विद्यालय शिक्षाको शैक्षिक सत्र सुरु गर्ने परिपाटी रहेको छ । तर यस बर्ष भने गत बैशाख देखि नयाँ शैक्षिक सत्र सुरु हुन सकेको छैन । विद्यालय तहका विद्यार्थीहरु मात्र नभएर विश्वविद्यालय स्तरसम्म नै न त पठनपाठन हुनसकेको छ न त परीक्षा सञ्चालन ! यस बर्ष अहिले सम्ममा कोरोनाका कारण विद्यालय शिक्षाको शैक्षिक सत्र चार महिना ब्यतित भैसकेको छ । अझ केही महिना विद्यार्थीहरुको भौतिक उपस्थिति सहित विद्यालय सञ्चालन हुने अवस्था देखिंदैन । यसै गरी कक्षा एघार र कक्षा बाह्रको शैक्षिक सत्र पनि समयमै शुरु हुने अवस्था देखिदैन ।
कोरोना महाब्याधीका कारण यस बर्ष शैक्षिक सत्र सुरु गर्न ढिलो भएको हो । र यही कारणले मात्र यस बर्षका लागि एसईई परीक्षा खारेज गरिएको हो । तर सरकारले प्रत्येक बर्ष बैशाख महिना देखि सुरु गर्दै आएको शैक्षिक सत्रको समय उचित हो वा होईन ? यस बारेमा बहस गर्न आवस्यक देखिएको छ । कोरोनाका कारण यस बर्ष ढिला भएको शैक्षिक सत्रलाई अब सदाका लागि श्रावण महिनादेखि सुरु गर्ने परिपाटिको बिकास गर्न सकियो भने हाल विद्यार्थीले गुमाएको शैक्षिक महिना समेत खेर जाने छैन । अब श्रावणदेखि शैक्षिक सत्र सुरु गरी आषाढमा अन्त्य गर्न सकिन्छ । यसले यस बर्षका विद्यार्थीहरुको शैक्षिक बर्ष पुरा हुने छ भने आगामी समयदेखि श्रावण महिनालाई नै शैक्षिक सत्र सुरु हुने महिना बनाएको खण्डमा मुलुकको आर्थिक बर्ष र शैक्षिक सत्रमा पनि एक रुपता हुनेछ । यसले गर्दा शिक्षण संस्थाहरुको आर्थिक गतिविधि र सरकारको आर्थिक बर्षको हिसाब मिलान, लेखा परीक्षण गर्ने कार्यसंग समेत एक रुपता हुनेछ ।
कक्षा एघार र कक्षा बाह्रको परीक्षा चैत्र बैशाख महिनामा नभई असार महिनामा हुने र कक्षा दशको पनि अन्तिम परीक्षा असार महिनामा नै सञ्चालन गर्ने गरिएमा असार महिना विद्यालय स्तरीय परीक्षा संञ्चालनको महिना हुनेछ । अहिले कक्षा दशका विद्यार्थीहरुले चैत्र महिनामा दिएको परीक्षाको नतिजाका लागि असारसम्म कुर्नु पर्ने अवस्था रहेको छ । यो लामो प्रतिक्षाले कैयौं विद्यार्थीहरुमा नकारात्मक असर समेत परेको छ । अत्यन्तै यौवन उमेरका लाखौं विद्यार्थीहरु यस अवधिमा घर परिवार तथा अभिभावकको निगरानीमा हुँदैनन् । त्यसैगरी विद्यालय वा शिक्षकको प्रत्यक्ष सम्पर्कमा पनि हुँदैनन् । यि विद्यार्थीहरुका लगि यो समय अनुत्पादक भएर खेर गईरहेको छ । असार महिनालाई विद्यालयस्तरको अन्तिम परीक्षाको महिना बनाएर विद्यालयस्तरीय सबै कक्षाहरुको शैक्षिक सत्र श्रावण महिनादेखि सञ्चालन गर्ने ब्यवस्था गरिनु सान्दर्भिक हुन्छ । जसले गर्दा नतिजाका लागि लामो समय कुर्नु पर्ने अहिलेको बाध्यात्मक अवस्थाको समेत अन्त्य हुन्छ ।
सरकारले केही बर्ष अघि देखि लागू गरेको ग्रेडिङ्ग पद्धतिले विद्यार्थीहरु परम्परागत रुपमा फेल अर्थात असफल हुने भन्ने तनाबबाट मुक्त भएका छन् । यस कारण पनि कक्षा दशको परीक्षा सकिए लगत्तै कक्षा ११ को भर्ना प्रकृया सुरु गरी नयाँ शैक्षिक सत्र सुरु गर्न सकिन्छ । कक्षा १० को नतिजा प्रकाशन पूर्व नै कक्षा ११ मा प्रोभिजिनल एड्मिसनको ब्यवस्था समेत गर्न सकिन्छ । यसो गर्दा विद्यार्थीको समय बचत हुन्छ । कक्षा १० को परीक्षा दिएर सड्कमा भौतारिनु पर्ने अहिलेको अवस्थाको अन्त्य हुन्छ ।
कक्षा दशको नतिजा पश्चात प्रोभिजिनल एड्मिसन भएका विद्यार्थीहरुले प्राप्त नतिजा÷ग्रेड अनुसार आफूले पढ्दै आएको विषय परिबर्तन गर्न सक्ने अवसर दिनु उपयुक्त हुन्छ । अहिले पनि कक्षा एघारको रजिष्ट्र्ेशन भदौ महिनासम्म गर्ने गरिएकै छ । हाल कक्षा एघारको शैक्षिक क्रियाकलापका लागि निर्धारित शैक्षिक कार्य घण्टा अपुग भै निर्धारित पाठ्यक्रम पुरा गर्न निकै दबाब हुने गरेको छ । कक्षा ११ को भर्ना प्रकृया असार साउन महिना भर गर्ने र भदौ महिनामा भर्खरै सुरु गरिएको पठनपाठन लगत्तै आउने दशैं तिहार जस्ता चाँडका कारण लामो समय शैक्षिक संस्था बन्द भई शैक्षिक क्रियाकलाप अवरुद्ध हुने गरेको छ । यसले कक्षा ११ को पाठ्यभार पुरा गर्न शैक्षिक संस्थाहरुलाई दबाब परिरहेको छ । कक्षा एघारको शैक्षिक सत्र श्रावणदेखि सुरु गरिएको अवस्थामा यो समस्या पनि समाधान हुनेछ । विद्यालयका लागि शैक्षिक कार्यतालिका बनाउन सहयोग पुग्ने हुन्छ ।
कक्षा बाह्रसम्म विद्यालय शिक्षा भनि परिभाषित भै कार्यान्वयनमा समेत आएको अहिलेको अवस्थामा कक्षा एकदेखि कक्षा बाह्रसम्मको शैक्षिक सत्रको सुरु र अन्त्य गर्ने परिपाटिमा पनि सुधार हुन अति जरुरी छ । यसरी नयाँ शैक्षिक सत्र श्रावणदेखि सुरु गरिँदा माध्यमिक तहसम्मको शैक्षिक सत्र ब्यवस्थित हुन आँउछ । त्यसै गरी परीक्षा कार्यक्रम पनि असार महिनाका लागि तोकिदा शिक्षक, विद्यार्थी तथा अभिभावकहरुलाई समेत सकारात्मक सन्देश प्रबाह हुन्छ । समग्रमा माध्यमिक तहको शैक्षिक बर्ष चुस्त र दुरुस्त हुन जान्छ ।
स्नातक कक्षाहरुको भर्ना भाद्र आश्विन महिनामा हुने गरेको अहिलेको अभ्यास अनुसार कक्षा बाह्रको शैक्षिक सत्र श्रावण महिनामा अन्त्य हुँदा विद्यार्थीहरुका लागि स्नातक तहको भर्नालाई समेत सहज हुन्छ । यसैगरी हाम्रो देशको शैक्षिक सत्र श्रावणदेखि असारसम्म गरिएको अवस्थामा कक्षा १० मात्र नभएर कक्षा १२्र सकेर बिदेशिने बिद्यार्थीमा पनि कमि आउने देखिन्छ । जसले गर्दा स्वदेशमै उच्च शिक्षा प्राप्तिको लागि क्रमश विद्यार्थीहरुको आकर्षणमा बृद्धि हुन्छ ।
पारसमणि दाहाल
उप महासचिब
नेसनल प्याव्सन, केन्द्रिय समिति
Email: [email protected]