शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

प्रमोदिता लिएर आउ नयाँ वर्ष २०७७


  • बुधबार, चैत्र २६ २०७६
28.1K
SHARES

विश्व मञ्चमा भय र मृत्युले ताण्डव देखाईरहेको बेला धर्तीको सुन्दर टुक्रा नेपालमा भने नयाँ बर्ष २०७७ प्रारम्भमा छ । सबै ठिकठाक हुँदो हो त यतिवेला नेपालीहरु नयाँ बर्षको हर्षमा ठाउँ ठाउँ घुम्दै, मिष्ठान भोज सहित झुमिरहेका हुन्थे । तर यस वर्ष यस्तो छैन । कोरोना संक्रमणले विश्वसँगै नेपाल पनि आक्रान्त छ । सरकारले लकडाउनलाई बैशाख ३ गतेसम्म लम्ब्याएको छ । हामीहरु यतिखेर गम्भिर संकटमा छौँ । भयको छायाँमा छौँ । नयाँ वर्षको पहिलो किरणलाई हामीले बन्द कोठाको सानो छिडीँबाट चिहाउँदै स्वागत गर्नुपर्ने भएको छ ।

संकट, शंका र भयको पृष्ठभूमिमा उभिएर नयाँ वर्ष २०७७ कसरी बनाउँने ? के हामी यस्तो वेला नयाँ वर्ष २०७७ स्वागत गर्न सक्छौँ ? संभवत सबैको उत्तर एउटै आउँछ होला कि यस्तो विषम परिस्थितीमा नयाँ वर्ष मनाउने त कुरै आउँदैन । हामी सक्दैनौँ । चाहादैनौँ । यो उत्तर स्वभाविक पनि छ । तर, मेरो अलि पृथक राय छ कि हामी नयाँ वर्ष २०७७ साल मनाउँ । नयाँ वर्षलाई खुशीसाथ स्वागत गरौँ ।

तर, कसरी ?

प्रार्थना र आत्मबोधको दुईँ थुंगा फूलहरु अँजुलीमा राखेर यस पटक हामी नयाँ वर्ष २०७७ लाई स्वागत गरौँ । भव्यतापूर्वक मनाउँ । विगतमा हामी धेरैको नयाँ वर्ष शुभकामना आदनप्रदान, भ्रमण र भोजनमा रमाइलो गरी वित्ने गथ्र्याे । तर, अहिले हामी अलिक फरक तरवले नयाँ वर्ष मनाउँ ।

यसपालीको नयाँ वर्षमा भोजभत्तेर र रमझम होइन प्रार्थना र आत्मबोधले भरिएर मनाउँ । नयाँ वर्षको पहिलो किरणलाई प्रार्थनाको फूल अर्पण गरौँ । यसपालि हाम्रो नयाँ वर्ष प्रार्थनामय बनोस् ।

के हो प्रार्थना ? किन गर्ने प्रार्थना ? यतिबेला सिंगो मानवजाति खतरापूर्ण अवस्थाबाट गुज्रिरहेको छ । घण्टा घण्टामा मृत्युका डरलाग्दा तथ्यांकहरु बाहिर आइरहेका छन् । आँशु र रोदनमय बनेको छ विश्व । यतिबेला हामी देशको सिमानालाई विर्सेर केवल मानवको रुपमा आफुलाई प्रस्तुत गर्नुपर्छ । वसुधैव कुटुम्बकम् अर्थात यो धर्ती एक परिवार हो भन्ने हाम्रो बैदिक मान्यतालाई आत्मसाथ गर्दै हामीले सबै धर्तीका सबै मानिसहरुको दीर्घ जीवनको लागि प्रार्थना गरौँ ।

मलाई लाग्छ ईश्वरले मानिसलाई यी हात, ओठ र आवाज त्यतिकै दिइएका होइन । यी अंगहरुको एउटा प्रमुख काम परोपकार गर्नु पनि हो । प्रार्थनामा जुट्नु पनि हो । साँझ–विहान हामी आ–आफ्नो आस्था र विश्वको जगमा उभिएर सबैको कल्याणको लागि प्रार्थना गरौँ । नयाँ वर्ष २०७७ लाई प्रार्थना गरौँ कि यो नयाँ वर्षले नेपालमा मात्र होइन सिंगोे धर्तीमा प्रमोदिता लिएर आहोस् । यतिखेर भय र मृत्युको ताण्डवले प्रमोदिताका अनमोल फुलहरुलाई कुल्ची रहेको छ । यो सबै चाँडै अब अलप होस् र पुनः मनुष्यको मुहारमा प्रमोदिता खेल्न थालोस् । त्यसको लागि हामी प्रार्थनामा जुटौँ । मानिसहरु विज्ञानको युगमा छन् । प्रार्थनाको कुनै अर्थ छैन भन्ने पनि कत्तिको मनमा होला । तर, कल्याणको लागि सित्तैमा गर्न सकिने प्रार्थना जतिको महत्वपूर्ण कर्म मनुष्यले गर्न सक्ने अरु कुनै र केही छ्रैन । यसको साथै प्रार्थनाको पछाडि बैज्ञानिक तथ्य पनि छन् ।

धर्र्तीका मनुष्यको चेतना सधैँ संगठित हुन्छ । जसरी पोखरीमा सानो ढुङ्गा फाल्दा देखिने गोलो घेराले (Ripple) विस्तारै पुरै पोखरी ढाक्छ ठिक त्यसरी नै धर्तीको एउटा कुनमा बसेर भावपूर्ण तवरले गरेको प्रार्थनाले पनि धर्तीको अर्काे कुनासम्म सकारात्मक प्रभाव पार्छ । यो प्रमाणित तथ्य हो । सन् १९१६ मा जर्मनका मनोवेत्ता कार्ल युङले संगठित अवचेतनमनको (Collective Unconscious) कुरा ल्याए जसअनुसार धर्तीका मुनष्यका चेतनाको तरंग एउटै हुन्छ । त्यसैले दुःख वा सुखलाई संसार भरको मानिसले उहि तरिकाले प्रस्तुत गर्छन् । जसरी नेपालीहरु दुःखमा आँशु झार्ने र सुखमा हाँस्ने गर्छन् त्यसरी नै अफ्रिकन, अमेरीकन लगायत विश्वभरका मानिसहरुले दुःखलाई आँशु र सुखलाई हाँसोले प्रकट गर्छन् । सारा मनुष्यको चेतनाको जरा एउटै हो । त्यसकारण हामीहरु प्रार्थनामा जुट्नुपर्छ । हामीसँगै विश्वकै मानिसहरु पनि प्रार्थनामा जुट्ने छन् । हामीलाई थाहा नहुनसक्छ तर वास्तवमा यतिवेला विश्व एक परिवार बनेर प्रार्थनामा जुटीरहेको छ । हामी पनि नयाँ वर्षको पवित्र अवसरमा भावपूर्ण प्रार्थना गरौँ ।

अर्काे तर्फ प्रार्थना सम्बन्धी हाम्रो धारण पनि अलि परिस्कृत गरौँ । सामान्यतय हामी प्रार्थना भनेको भगवानसँग केही माग्ने हो भन्ने सोच्छौँ । हामी भन्छौँ कि हे भगवान मलाई यो देउ, त्यो देउ, मेरो यस्तो होस्, त्यस्तो होस् आदि । वास्तवमा प्रार्थना भनेको माग्ने होइन, यो त मंगल कामनाका साथ अहोभाव प्रकट गर्ने एक विशेष, पवित्र र प्रभावकारी प्रक्रिया हो । भगवान, गुरु वा प्रकृतिले हामीलाई जे जे कुराहरु दिएका छन् ति सबै प्रति अहोभाव प्रकट गर्ने अवसर हो । सबैको सधैँ राम्रो होस् भन्ने मंगल कामना गर्ने हो । पूर्वीय सभ्यता र वैदिक परम्पराको पृष्ठभूमिमा उभिएका हामीहरुसँग प्रार्थनाका लागि सुन्दर स्तोत्राहरु छन् । जसले मंगल र अहोभावको भावलाई उजागर छ । जो हामी सधैँ उच्चारण पनि गर्छाैँ ।

ऊँ सर्वेशां स्वतिर्भवतु ।
सर्वेशां शान्तिर्भवतु ।
सर्वेशां पूर्णंभवतु ।
सर्वेशां मंगलभवतु ।
त्यसैले यस वर्षको नयाँ वर्षमा हामीहरु प्रार्थनामय बनाउँ । एक प्रतिज्ञा पनि गरौँ कि अबदेखि म जीवनको प्रत्येक दिन एक पवित्र प्रार्थनाबाट शुरुगर्छु । मानिसले जस्तै बोटविरुवाले पनि १ मिनेट मात्र म अक्सिजन दिन्न भनेर हड्ताल गर्ने हो भने यो धर्तीको सिंगो मनुष्य तुरुन्तै समाप्त हुन्छ । त्यसैले यो सिंगो प्रकृतिप्रति मेरो विशेष अहोभाव रहनेछ । सबैको मंगल होस् । सबैलाई धन्यवाद । जति जति यो भाव आफुभित्र गुञ्जयमान हुन्छ त्यति त्यति हामी सफलता र आनन्द तर्फ अग्रसर हुन्छौँं । त्यसकारण प्रार्थना गरौँ । नयाँ वर्ष मनाउँ ।

त्यस्तै यसपालि हामी नयाँ वर्षलाई आत्मबोधको अर्काे एउटा फूल पनि अर्पण गरौँ । अर्थात यो अवसरलाई गम्भिर आत्मबोधको क्षणको रुपमा लिउँ । यतिखेर विश्व कोरोना भाइरससँग लडिरहँदा देश र जनता दुवैले विभिन्न प्रकारका बोध गरेका छन् । अझै गर्दै जाने छन् । देशहरुले चुस्त प्रशासन, स्वास्थ सेवा, कुसल जनशक्ति, सभ्य जनता जस्ता कुराहरु अति आवश्यक रहेछ । मेरो देशमा यो रहेनछ । त्यो पुगेन छ जस्ता अनेकौँ बोधहरु गरिरहेका छन् । त्यसैगरी जनताले पनि आफ्नो स्वस्थ सुरक्षा, परिवार र आफ्नो जीवनलाई नजिकबाट बुझ्ने अवसर पनि पाएका छन् । त्यसैले यसपालीको नयाँ वर्ष २०७७ लाई हामी पनि आफ्नो उन्नयनकोलाई गहिरो आत्मबोध गरी मनाउँ ।

कहाँ र कसरी आयो कोरोना भाइरस ? भनिन्छ कि चीनमा मासु सेवन गर्नेक्रममा यो भाइरस फैलियो । यसबारे थपतथ्यहरु विस्तारै सार्वजनिक हुने छन् । तर, धेरै प्रकृतिविद् तथा आध्यात्मिक गुरुहरुले कोरोनालाई प्रकृतिको संवाहक बनेर आएको बताउँदै छन् । यो दृष्टिकोणबाट मनथन गरौँ ।

वास्तवमा अहिले विश्वभर मानिसहरुले प्रकृतिलाई चटक्कै विर्सेर जुनप्रकृतिबाट उनीहरु बाँचीरहेका छन् त्यसै माथि व्यापक दमन गरिरहेका छन् । आज संसारभर हेरौँ त प्रकृतिको दोहन कसरी बढेको छ ? वनस्पति र जीवजन्तुहरुको सर्वनास भइरहेको छ । निहत्था जीवजन्तुहरुलाई निर्ममतापूर्वक हत्या गरेर विवेकशिल प्राणीले सेवन गरिरहेका छन् । पशुपक्षिहरु प्रति थोरै पनि दया नदेखाई निर्ममता पूर्वक हत्या गरि रहेका छन् । बनजंगल, खोलानालामाथि पनि उत्तिकै अत्यचार गरिरहेका छन् । संसार प्रदुषणले ढाकेको छ । धर्तीको पर्यवरणीय अवस्था नै खलबलिएको छ । नदीनालाहरु दुषित छन् । कति त मानव वस्तिले पूर्णमा समाप्त पारेका छन् । आजका संसारभरका ठूलठूला शहरहरुमा कुनैबेला घना जंगल र ठूला नदीहरु बग्थे । आज ती मानव अतिक्रमणले अलप भए ।

अर्काे तिर मानिसको दिनचर्या पनि त्यस्तै छ । हामी प्रकृतिबाट धेरै टाढिएका छौँ । हामीलाई प्रकृतिको काखमा गएर खेल्ने समय छैन । कतिपयलाई मन पनि छैन । हाम्रा पैतालाहरुले धेरै भयो प्रकृतिको प्राण माटो नछुएको । चराचुरुङ्गी, बोटविरुवा, खोलानाला, हिमाल, पहाड र तराईसित वातचीत मार्दै हामीले नखेलेको वर्षाैँ भइसक्यो । प्रकृतिको सन्तान हामी प्रकृतिबाटै टाढा भएर ऊ माथि नै दोहन गरिरहेका छौँ । हाम्रो कृत्यसँग प्रकृति रिसाएको छ । हामीसँग क्रुद्ध छ प्रकृति । जुन माटोमा तिमी जन्मियौ, जुन माटोमा तिमी हुर्कियौ, जुन माटो खान्छौ तिमी, जुन माटोमै तिमी विलाउछौ । आज त्यही माटोलाई तिमीले विस्र्याै भनेर हामीलाई प्रकृतिले आफ्नो कृत्य सच्याउने गम्भिर चेतावनी दिने सुरकसेको जस्तो छ । उसले मानिसलाई दण्डित गर्न चाहान्छ । परिणाम स्वरुप यसपटक उसले कोरोनालाई आफ्नो दुत बनाएर पठाएको छ ।

बास्तवमा कोरोना प्रकृतिको चेतावनी पत्र बोकेर मानववस्ति पसेको हो । यो चेतावनीलाई समयमै विवेकशिल मनुष्यले बुझ्न सकेन भने एककोषबाट शुरुभएको मनुष्य जीवन एककोषे अर्काे जीवले समाप्त पार्न सक्छ । खतराको घण्टी बजिसक्यो । त्यसकारण यसपटकको संकटले मनुष्यजातीलाई गम्भिर आत्ममुल्याङ्कन गर्नुपर्ने अवस्थामा पुर्याई दिएको छ । यतिखेर पुरै विश्व ठप्प छ । तर, चराचुरुङ्गी, जीवजन्तु, बनस्पित, हावा, नदीनाला, हिमाल, पहाड, तराई सबै खुलेका छन् । मस्त देखिन्छन् । मानिसहरुलाई घरभित्र थुनेर ऊ आफ्नो स्वरुपमा आउन खोजे झैँ देखिन्छ । प्रदुषणको कुइरोमा हराउने संसारभरका ठूलाठूला शहरहरु स्वच्छ देखिएको छ । सडक सडकमा जीवजन्तुहरु उफ्रिरहेका छन् । काठमाडौँबाट कहिल्यै स्वच्छ हिमाल देखिन्थेन तर यसपटक हामीले घरको छतबाट स्वच्छ र सफा हिमालहरु देखिरहेका छौँ ।

तसर्थ हामीले यसपटक नयाँ वर्ष २०७७ लाई गम्भिर आत्मबोधको आत्मरति सहित मनाउनुपर्छ । हामीले आत्मबोध गर्नुपर्छ कि प्रकृतिभन्दा माथि मनुष्य छैन् । यो पुथ्वीको एकला ईश्वर नै उही प्रकृति हुन । नयाँवर्षको यो पवित्र क्षणमा एक गहिरो आत्मबोध गर्न जरुरी छ ।

जब मानिस भावनाको तलमा बाँचीरहेको हुन्छ त्यसबेला आत्मबोधको संभावना प्रगाढ हुन्छ । जस्तो सिद्धार्थ गौतमले मृत्यु, पिडा लगायतको बारेमा आत्मबोध गरे । उनी भावनाको तलमा धकेलिए । उनको हृदयमा भावनाको नदि बग्यो । यही नदीले उनलाई बगाएर दरबार बाहिर निकाल्यो । अन्ततः बग्दै जाँदा उनी भगवान बुद्ध भए । सिद्धार्थ झैँ हामी पनि अहिले भावविह्ल छौँ । हामीहरु पूर्णसमर्पणको भावमा छौँ । संकल्प र आत्मबोधको लागि यो महत्वपूर्ण अवसर हो । यसलाई सदुपयोग गरौँ ।

नयाँ वर्षको शुभसाइतमा आँखा बन्दगरी शान्तपूर्वक बसौँ । बोध गरौँ । प्रकृतिमाथि दृष्टि लगाउँ । आफैँलाई प्रश्न गरौँ के मैले प्रकृतिलाई बचाउन केही गरेको छु ? के मेरो आनीबानी र भोजन प्रकृतिमैत्री छ ? यी प्रश्नहरुले पक्कै पनि हामीलाई आत्माबोधको दिशा तर्फ अग्रसर गराउँछ । यदि साँच्चैँ हामीले आत्मबोध गर्न सक्यौँ भने कोरोनाको संकटले हामीलाई नयाँ जीवन दिनेछ । जसरी प्रत्येक शिशिरमा नांगो बनेको वृक्षहरु बसन्तमा हराभरा हुन्छन् त्यसैगरी हामी पनि कोरोनाले निम्त्याएको शिशिर पछि बसन्तका नयाँ मुनाहरुसँग खेल्न सक्छौँ । जीवनले नयाँ गति पाउँन सक्छ । हाम्रो सामु आफुलाई बदल्ने एक सुन्दर अवसर आइरहेको छ ।

आत्माबोधको पहिलो खुड्ला स्वरुप हामी संकल्प गरौँ कि अबदेखि मेरो भोजन प्राकृतिक हुनेछ । म शाहाकारी बन्छु । मलाई निहत्था पशुको लास खानु छैन । उसको रगत पिउँनु छैन् । प्रकृतिले हामीलाई चाहिने सबैकुराहरु सागसब्जि, फलफुल र पानी मार्फत दिएको छ । मलाई अर्काको ज्यान लिन आवश्यक छैन भन्ने वोध गरौँ ।

अब म प्रकृतिलाई जोगाउन निरन्तर लाग्छु । मेरो हात तथा पैतलाहरुले माटो र पानीलाई निरन्तर स्पर्श गर्नेछ् । मेरो सिंगो शरीरले स्वच्छ हावालाई सदैव अंकमाल गर्नेछ । मेरो सिंगो जीवन प्रकृतिमय बन्ने छ लगायत प्रकृतिसँग नजिकिने र त्यसलाई संरक्षण र सम्मान हुने खालका सबै कार्यहरु म गर्छु भन्ने तर्फ लागौँ । यसको लागि आत्माबोध गरौँ । नयाँ वर्षको सुन्दर क्षणहरु यसरी आत्मबोध अनि संकल्पका साथ मनाउँ ।

अतः यसपाली हामीले नयाँ बर्ष २०७७ लाई प्रार्थना र आत्मबोधको दुइ थुंगा फुलहरु अर्पण गर्दै मनाउँ । जीवनभरी यो नयाँ वर्ष अविष्यमरणीय बन्ने छ । आउनुहोस् हामी सबैले आत्मबोध सहित प्रार्थनाको भावले नयाँ बर्षलाई भनौँ ए नयाँ बर्ष २०७७ तिमी विश्वमा अमुल्य प्रमोदिता लिएर आउ ।

विवेक विनयी
प्रीन्सिपल, जुगल स्कुल/ कलेज,
कपन तथा विद्यालयमा नैतिक शिक्षा सिकाउन तयार पारिएको पुस्तक संस्कार (भाग १-५)का लेखक हुन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा